आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी सेनाले आक्रमण गर्दा घटनास्थलमै मारीए नवीन, अरु विद्यार्थीको अवस्था के छ ?

प्रकाशित
1.2K
SHARES

काठमाडौं। युक्रेनको खारकिभमा रुसी सेनाको आक्रमणमा एक जना भारतीय विद्यार्थीको हिजो मृत्यु भयो। भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसको पुष्टि गरेका थिए।

बीबीसी हिन्दीले मारिएका छात्र नवीनका साथीसँग कुरा गरेको छ। खारकिभमा नवीनसँगै रहेका ती साथीका अनुसार नवीन बंकरबाट निस्किएर खाना लिन सुपरमार्केट गएका थिए तर उनी फर्किएनन्।

यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता बागचीले ट्वीट गर्दै भनेका थिए ‘गहिरो दुखका साथ हामी यसको पुष्टि गरिरहेका छौं कि खारकिभमा गोलीबारीमा एक भारतीय छात्रको मृत्यु भएको छ।

मन्त्रालय उनका परिवारको सम्पर्कमा छ। उनले मृतकका परिवारप्रति सहानुभूति प्रकट गरेका थिए । बीबीसीले खारकिभमा नवीनसँगै बस्ने भारतीइ छात्र श्रीकांत चेन्नागौडासँग कुरा गरेको हो।

नवीनले आफ्ना नजिकका साथी श्रीकांतलाई पैसा ट्रान्सफर गर्न भनेका थिए ताकि उनी खाना किन्न सकुन् । खारकिभबाट बीबीसीसँग कुरा गर्दै मेडिकल विद्यार्थी श्रीकांतले भने ‘उनले मलाई बिहान ८ बजे फोन गरे र पैसा ट्रान्सफर गर्न भने किनकि उनीसँग खानाको लागि पुग्ने पैसा थिएन।

उनी हामी सबैको लागि खानेकुरा किन्न गएका थिए ।’ कर्नाटकको हावेरी जिल्लाको रानेबेन्नूरका नवीन विगत ४ वर्षदेखि खारकिभको नेशनल मेडिकल युनिभर्सिटीमा श्रीकांतसँग मेडिकल अध्ययन गरिरहेका थिए।

जानकारी अनुसार नवीन बिहान कर्फ्यु सकिएपछि करिब साढे ६ बजे आफ्नो बंकरबाट निस्किएका थिए । सहरमा दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ । नवीन र श्रीकांत आफ्ना साथीहरुसँग बस्थे।

बंकर उनीहरुको अपार्टमेन्टको मुनि छ । त्यहाँबाट सुपरमार्केट करिब ५० मिटर दूरीमा छ ।श्रीकांतले बीबीसीसँग भने ‘मैले पैसा ट्रान्सफर गरिदिएँ र ५–१० मिनेटमा उनलाई फोन गरें तर उनले फोन उठाएनन्।

त्यसपछि मैले उनको स्थानीय नम्बरमा फोन गरें । फेरि पनि उनले फोन उठाएनन् । त्यसपछि अरु कसैले फोन उठायो र युक्रेनी भाषामा बोल्न थाल्यो जुन भाषा मलाई आउँदैन।

श्रीकांतले फोन शेल्टरमा भएका एक व्यक्तिलाई दिए । कुरा गरेपछि ती व्यक्तिले श्रीकांतलाई ‘तिम्रा साथी अब रहेनन्’ भने ।श्रीकांतले भने ‘मलाई विश्वास भइरहेको थिएन। त्यसपछि म सुपरमार्केट गएँ ।

त्यहाँ कुनै विष्फोट भएको जस्तो कुनै निशान थिएन ।’ श्रीकांतलाई लागिरहेको छ कि नवीनलाई कहीँबाट गोली हानिएको हुनुपर्छ ।उनले भने खारकिभमा धेरै बमबारी भइरहेको छ । बंकरमा हामी ९ जना थियौं।

५ जना गए तर हामी जोखिम लिन चाहँदैनथ्यौं त्यसैले यहीँ बस्यौं। हामी बुधबार बिहान त्यहाँबाट निस्किने योजना बनाइरहेका थियौं ।श्रीकांतका अनुसार नवीनको शव कहाँ छ भन्ने उनलाई अझै थाहा छैन।

तेस्तै, युक्रेनका विभिन्न क्षेत्रमा युद्धका कारण फसेका नागरिकलाई जोगाउन र स्थान्तरण गर्न रुसले आक्रमण रोक्ने जनाएको छ। युद्धग्रस्त क्षेत्रमा फसेका सर्वसाधारणले युद्ध विराम भएको समयमा विभिन्न क्षेत्रहरु छाड्नुपर्ने रुसी सर्त रहेको छ।

रुसको रक्षा मन्त्रालयका अनुसार सोमबार १० बजेदेखि किभ, खारकिभ, मारियुपोल र सुमी क्षेत्रमा रुसी आक्रमण रोकिएको छ। रुसले युद्ध विराम गरेर सर्वसाधारणलाई स्थान्तरण गर्न सहयोग गरेको बताएको छ। यद्यपी युक्रेनले यस विषयमा केही जानकारी दिएको छैन।

यसअघि रुस र युक्रेनबीच युद्ध विरामको समझदारी भएको थियो। तर मानिसहरु सुरक्षित स्थानमा सर्दासर्दै पुनः आक्रमण सुरु भएपछि सर्वसाधारण युद्धग्रस्त क्षेत्रमै फसेका थिए। रुसले युक्रेनका सेनाले गोली चलाएकाले युद्ध विराम भंग भएको बताएको थियो।

युक्रेनले पनि रुसले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको थियो। रुसले युक्रेनमा आक्रमण थालेको आज १२ दिन पुगेको छ। यसबीचमा चीनले रुसलाई आफ्नो राम्रो साझेदार भनेको छ। सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले रुससँगको आफ्नो सम्बन्ध चट्टानजस्तै बलियो भएको बताएका हुन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले चीनले पनि युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्नुपर्ने बताएको केही घण्टापछि नै चीनले रुससँगको आफ्नो सम्बन्ध मजबुत भएको बताएको हो। यीले चीनमा रहेको रेडक्रसको तर्फबाट आफ्नो देशले युक्रेनमा मानवीय सहायता सामग्री पठाउने पनि जानकारी दिए।

युक्रेनमाथि रुसले आक्रमण गर्दा चीनले कसैको पक्ष लिएको छैन। आज पनि विदेशमन्त्री यीले रुस र युक्रेनबीचको विवाद छलफल र कूटनीतिमार्फत् समाधान हुनुपर्नेमा जोड दिएका थिए। यसअघि राष्ट्रसंघमा अमेरिकाले रुसको निन्दा गर्ने प्रस्ताव ल्याएको थियो। त्यसमा चीन तटस्थ बसेको थियो। कसैको पक्षमा भोट खसाएको थिएन।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसले आक्रमण जारी राखेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन्। सोमबार मोदीले राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै दुई जनाबीच कुराकानी गरेको उल्लेख गरेका हुन्। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई रूस-युक्रेनबीच जारी द्वन्द्वबारे विस्तृत जानकारी दिएको बाग्चीले जानकारी दिएका छन्।

यस्तै युक्रेन र रूसबीच भइरहेको वार्ताबारे पनि कुराकानी गरेका थिए। मोदीले युद्ध र त्यसबाट उत्पन्न भएका मानवीय संकटबारे पनि चासो राखेका थिए। उनले भारत सधैँ दुईपक्षीय वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्नुपर्ने पक्षमा रहेको स्पष्ट समेत पारेको विज्ञप्तिमा उल्लेख छ।

२० हजार भारतीय नागरिकहरूलाई युक्रेनबाट निस्किन सहजीकरण गरिदिएको भन्दै प्रधानमन्त्री मोदीले युक्रेनी अधिकारीहरूलाई धन्यवाद दिएका थिए। युक्रेनमा रहेका विद्यार्थीहरूको सुरक्षा र उनीहरूको उद्धार गर्नेबारे पनि चासो व्यक्त गरेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ