आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

प्रकाशित
430
SHARES

काठमाडौँ। रुस र युक्रेनबीचको युद्ध चर्किएका वेला अर्को चरणको शान्तिवार्ता सोमबार हुने भएको छ। यसअघि पनि युक्रेन र बेलारुसबीचको सीमामा दुई देशबीच वार्ता भएको थियो। यसपटकको वार्ता भने कहाँ बस्ने भन्नेबारे केही खुलाइएको छैन।

रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरूले जनाएका छन्। तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका छन्।

उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को तेस्रो चरणको वार्ता सोमबार हुनेबारे जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनका अधिकारीहरूले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन्।

दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी दुवै पक्षले आ–आफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी तेस्रो चरणको वार्ता गर्ने बताएका थिए।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोहीबमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने भएका शुक्रबार बताइएको थियो।

उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको बताइएको छ। युक्रेनी राजधानी किभमा खतराको जनाउ दिने साइरनहरू अहिले पनि बजेका उल्लेख गरिएको छ।

त्यस्तै युक्रेनको उत्तरी सहर चर्निभमा पनि गोलाबारी भइरहेको छ। पछिल्लो एक हप्ताभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ।

ती स्थानहरूमा युक्रेनी फौजको प्रतिवाद जारी छ। जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ। यसैले पनि रुस वार्ताका लागि तयार भएको बताइएको छ।

रुससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारुस पुगेकाे जनाइएको छ। रुसको सरकारी समाचार एजेन्सी स्पुतनिकले सोमबार युक्रेनका पाँचसदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुस पुगेका बताएको छ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार बिहान छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए। टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए।

रुसले आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन्। संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय युएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन्।

स्थिति थप खराब बनेको खण्डमा युएनएचसीआरले ४० लाखसम्म युक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ। पोल्यान्ड, रोमानिया, हंगेरी र माल्दोभामा युक्रेनी नागरिकले शरण लिएकाे प्रारम्भिक सूचना छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ