आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद भवन बाहिर ब्यापक प्रदर्शन भइरहेका बेला भित्र अचानक किन भयो संसद बैठक स्थगित ? कारणसहित

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रधानमन्त्रीको आग्रहबारे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिएको जनता समाजवादी पार्टीका सांसद बाबुराम भट्टराईले जानकारी दिए।

आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो । शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने प्रयास जारी छ ।

बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच एमसीसीका सन्दर्भमा सहमति जुटाउने विषयमा भेटवार्ता छलफल भएको थियो।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भइरहेको छ।

विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले नै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शन गरिरहेका छन् ।

संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको छ । त्यहाँ प्रहरीले सडक बन्द ब्यारिकेड राखेको छ । तर प्रदर्शनकारीको संख्या उल्लेख्य छ र उनीहरु संसद भवनतर्फ अघि बढ्न खोज्दैछन् ।

यसैबीच नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरु संशोधन र परिमार्जनविना एमसीसी पारित हुन हुन्न भन्ने पक्षमा स्पष्ट रहेको बताएका छन् ।

उनले नेकपा माओवादी केन्द्र र आफूहरु एउटै अडानमा रहेको पनि बताएका छन् । ‘दुईवटा पार्टी जहिले सुकै एउटै स्ट्याडमा छौं । परिमार्जन विना संशोधनविना यो पास हुँदैन’ उनले भने ।

संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसीबारे निर्णय गर्नुपर्ने अवस्थामा पार्टीले सबै सांसदलाई ह्वीप लगाउने पनि बताए ।

प्रतिक्रिया