आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसद्वारा युक्रेनमाथि आक्रमण सुरु, रुसका ५ विमान र एउटा हेलिकप्टर ध्वस्त

प्रकाशित
754
SHARES

काठमाडौँ । युक्रेनको सेनाले रुसका ५ वटा लडाकू जहाज र एउटा सैनिक हेलिकप्टर खसालिदिएको दावी गरेको छ। बिहीबार बिहानदेखि रुसले युक्रेनमा आक्रमण गर्न थालेको थियो।

यसको प्रतिकारका क्रममा पूर्वी युक्रेनको लुहान्स्कमा ५ रुसी लडाकू जहाज र एउटा हेलिकप्टर खसालिदिएको युक्रेनको सेनाले दावी गरेको हो।युक्रेनको बोर्डर गार्ड सर्भिसले बताएअनुसार युक्रेनका सेनामाथि रुसतर्फबाट मात्र नभए बेलारुसतर्फबाट पनि आक्रमण भएको छ।

सर्भिसका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ५ बजेतिर बेलारुसतर्फबाट पनि युक्रेनी सेनामाथि आक्रमण भएको छ। युक्रेनले बेलारुसले रुसलाई सहयोग गरिरहेको बताएको छ।

एजेन्सीका अनुसार रुसले २०१४ मा कब्जा गरेर युक्रेनबाट खोसेको क्रिमिया क्षेत्रबाट पनि युक्रेनमाथि आक्रमण भइरहेको छ ।रुसी सेनाले युक्रेनका सैन्य अड्डा र हवाइ अड्डाहरुलाई निशाना बनाएर ध्वस्त पारिदिएको बताएको छ।

युक्रेनले पनि कडा प्रतिक्रिया दिँदै हार नमान्ने बताएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीका नाममा सम्बोधन गर्दै नआत्तिन भनेका छन्। उनले देशवासीलाई सम्बोधन गर्दै भने ‘हामीले जित्नेछौं।

देशबासीलाई सम्बोधन गर्दै उनले आफूले एक मिनेट अगाडि मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग कुरा गरेको र बाइडेनले अन्तर्राष्ट्रिय समर्थन जुटाउन थालिसकेको बताए। जेलेन्स्कीले रुसी भाषामा सम्बोधन गरेका थिए।

यो भावुक भाषणमा उनले युक्रेनी जनता र सरकारले शान्ति चाहेको बताउका छन्। उनले भने ‘तर यदि हामीमाथि आक्रमण हुन्छ, हाम्रो देश हामीसँग खोस्ने कोसिस हुन्छ, स्वतन्त्रता खोस्ने कोसिस हुन्छ, हाम्रो, हाम्रा सन्तानको जीवन खोस्ने कोसिस हुन्छ भने हामी आफ्नो रक्षा गर्नेछौं।

जब तपाइँ हामीमाथि आक्रमण गर्नुहुन्छ हाम्रो छाती देख्नुहुन्छ पिठ्युँ होइन ।’युक्रेनमा सैन्य कारवाहीका बारेमा रुसी सेनाले पनि बयान जारी गरेको छ । बयानमा रुसी सेनाले युक्रेनको एयरबेस र सैन्य बेसलाई निशाना बनाएको बताएको छ ।

रुसी सेनाले बस्ती षेत्रलाई निशाना नबनाइएको बताएको छ। यसअघि युक्रेनमा कैयौं ठाउँहरुमा विष्फोट भएको खबर आएको थियो । युक्रेनको राजधानी किभमा क्रुज र ब्यालेस्टिक मिसाइलबाट आक्रमण भएको समाचार आउको थियो।

राजधानी किभसँगै ओडेसा, खारकिभ, दोनेत्स्कमा कैयौं विष्फोटका आवाज सुनिएका थिए। रुसको सैन्य कारवाहीका बीच युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले पुटिनले पूर्ण क्षमताको साथ आक्रमण सुरु गरेको बताएका थिए।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्।

पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्। सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन्। पुटिनको यो घोषणासँग रूस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ।

पुटिनले रूसी र युक्रेनी सेनाबीचको लडाइँ अवश्याम्भावी भइसकेको र यो कहिले हुन्छ भन्ने बाँकी रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसहरूको प्रार्थना युक्रेनीका लागि भएको उल्लेख गर्दै पुटिनले यो अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्।

यो आक्रमणबाट हुने मृत्यु र क्षतिको एक्लो जिम्मेवार रूस हुनेछ। संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रहरूले एकतावद्ध र निर्णायक तरिकाले यसको जवाफ दिनेछन्।संसारले रूसलाई जवाफदेही बनाउनेछ,’ बाइडेनले भनेका छन्।

रूसको पछिल्लो कदमबारे बाइडेनले अमेरिकी नागरिकलाई आज सम्बोधन पनि गर्दैछन्।नेपालीहरुको अवस्था केछ ? जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का यसो भन्छन, उनकै शब्दमा जस्ताको त्यस्तै:

गैरआवासीय नेपाली संघ र लामो समयदेखि युक्रेनमा रहेका नेपालीसँग मैले त्यहाँको अवस्थाबारे बुझेको छु। एनआरएनएका अध्यक्ष हरिबहादुर मल्ल र जयन्तकुमार नेपालसँगको सम्पर्कबाट केही नेपालीहरूको लिस्ट प्राप्त भएको छ।

एनआरएनए अध्यक्षबाट जम्मा ३८ जनाको लिस्ट पायौं। फेरि थप ४४ जना सम्पर्कमा आउनु भएको छ । उहाँहरू सबैको सूची हामीले परराष्ट्र मन्त्रालयमा पाठसकेका छौं । यो सूची दुई दिनको हो।

अरु थप सम्पर्कमा आउने क्रम जारी छ । यहाँ कति नेपाली हुनुहुन्छ भन्ने आधिकारीक सूचना केही छैन । सबैले अनुमान गर्ने हो । मेरो अनुमानमा १५० जना हुनुहुन्छ होला ।

हामीले सम्पर्कमा आएका जति व्यक्तिहरूलाई सामाजिक सञ्जाल र हामीलाई उपलब्ध ह्वाट्सएम नम्बरमा ट्राभल एड्भाइजरी जारी भएको सूचना पनि पठाइसकेका छौं । त्यही सूचना त्यहाँको गैरआवासीय नेपाली संघमा पनि पठाएका छौं ।

हालसम्म हेर्दा अप्ठ्यारो परिस्थिति आइसकेको छैन। नाकाबन्दी लाग्ने स्थिति छ तर सैन्य कारबाही हुने स्थिति छैन । पछि के हुन्छ थाहा छैन । अहिलेको अवस्थामा दुई राज्य डोनेट्स्क र लुहान्सकबाहेक अरु ठाउँमा समस्या देखिएको छैन ।

जहाँ समस्या देखिएको छ ती क्षेत्रमा नेपाली नै छैनन्। त्रास र चिन्ता बढेको मात्रै हो। सामान्यतया उपभोग्य वस्तुको मूल्य बढेको पाइएको छ। हवाई सेवा भने युक्रेनबाहेक अन्य अन्तर्राष्ट्रिय कम्पनीले बन्द गरेको सूचना आएको छ।

युक्रेनमा डाक्टर, विद्यार्थी र श्रमिकहरू हुनुहुन्छ। जति पनि नेपालीहरू हुनुहुन्छ उहाँहरूले पहिलेको जस्तै सामान्यरुपमा काम गर्ने गरिराख्नु भएको छ । कतिपय डाक्टरहरूको पढाइ सकिएको छ। प्रयोगात्मक अभ्यास भने बाँकी छ।

यस्तो अवस्थामा नेपालमै अभ्यास गर्ने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने आशय उहाँहरूको छ। उहाँहरू नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकै डाक्टरसापहरू हो। मैले विद्यार्थी र काम गर्नेहरू गरी ४५ जना भएको ठाउँमा पनि कुरा गरेको थिएँ।

मलाई जानकारी गराएसम्म उहाँहरूमध्ये कोही ६ महिना, कोही २/३ महिनाअघि त्यहाँ पुग्नु भएको रहेछ। उहाँहरूले यतिका पैसा खर्च गरेर आएका छौं, अहिले नै फर्किनुपर्ने त होइन होला भन्ने कुरा गर्नु भएको छ। बरु हामीहरूलाई तपाईंहरूको के हो भन्ने खालको कुरा गर्नु भएको छ।

मैले पनि तपाईंहरू जहाँ बस्नुभएको छ त्यहाँ त्यस्तो क्रिटिकल अवस्था त छैन होला भनेर सोधेको थिएँ। मेरो जानकारीमा पनि त्यहाँ त्यस्तो अवस्था छैन। अब भविष्यमा पर्न सक्ने अप्ठेरोका लागि तपाईंहरूको विष्तृत जानकारी राख्न लागेका हौं भनेको छु।

यदि कोही नेपाल फर्किन चाहेमा टिकटको कुरा हुन्छ। राज्यले त यतिका व्यक्तिलाई टिकट दिन गाह्रो हुन्छ। तर अझै उहाँहरूको भनाइ के छ भने काठमाडौं त जाने त्यहाँबाट घर त जानु पर्‍यो भन्ने छ। बरु त्यो व्यवस्थाका लागि हामी भनौंला भनेको छु।

कतिपय त वैदेशिक रोजगारीको लागि स्वीकृति लिएर आउनुभएको होला भनेर सोधेको थिएँ। यस्तो कुरा गर्दा उहाँहरूमध्ये आधा स्वीकृति लिएर आएको, आधा स्वीकृति नलिएर आएको भन्ने कुरा आयो।

मैले सम्पर्क आएका व्यक्तिहरूलाई सम्झाएको छु चिन्ता गर्नुपर्ने अवस्था छैन भनेर। सान्त्वना पनि दिएको छु। यदि तपाईंहरू नेपाल फर्किन चाहनुहुन्छ भने तपाईंहरूले त्यही अनुसारको तयारी गर्नुहोला भनेको छु।

प्रतिक्रिया

आजको ट्रेन्डिङ