काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले दोहोरो तनावमा छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर प्रचण्ड दोहोरो तनावमा परेका हुन् ।
सोमवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको छलफलपछि तनावका विच एउटा प्रस्ताव राखेका थिए । प्रचण्डले भनेका थिए, ‘गठबन्धन रहन्छ र एमसीसी प्रक्रियाबाट टुंगो लाग्छ ।’
व्यापक चासो, चर्चा र दबाब मिसिएको एमसीसी सम्झौता संसद्मा पेश भएपछि कांग्रेस नेता पौडेलले गठबन्धनमा एमसीसी यथास्थितिमा पास गर्न नहुने पक्षमा रहेका दलका शीर्ष नेताहरू प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई भेटेर एमसीसी अनुमोदन गर्न र गठबन्धन पनि जोगाउन भनेका थिए ।
जवाफमा प्रचण्डले पौडेललाई एमसीसी संसदीय प्रक्रियाबाट टुंगो लाग्ने र गठबन्धन पनि जोगिने बताएका थिए । तर, प्रचण्डले भने जसरी गठबन्धन र एमसीसीको सहज अवतरण असम्भव देखिएको छ ।
गठबन्धन पनि जोगिने र एमसीसी पनि अनुमोदन हुने अवस्थाका लागि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अनुमोदनका लागि तयार हुनुपर्छ वा गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस एमसीसी अनुमोदन नगराउन सहमत हुनुपर्छ । अहिलेका लागि यी दुवै सम्भावना छैन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् ।
माओवादी केन्द्रको संसदीय दलमा र एकीकृत समाजवादीले सचिवालय तहमा एमसीसीको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । यस्तो अवस्थामा निर्णायक भने नेकपा एमाले देखिन्छ । एमसीसी सम्झौता संसदको सामान्य बहुमतले अनुमोदन हुने प्रावधान सम्झौतामै उल्लेख छ । त्यसका लागि ध्वनि मतको प्रयोग हुन पनि सक्छ ।
संसद् बैठक सञ्चालन हुनका लागि कुल सांसदको एक चौथाइ अर्थात ६८ जना सांसद उपस्थित भए पुग्छ । त्यसबाहेक, मन्त्रिपरिषदको एक जना सदस्य अनिवार्य उपस्थित भएको हुनुपर्छ ।
अहिले प्रतिनिधि सभामा १७१ सदस्य छन् । बैठकमा सबै सांसद उपस्थित भए भने एमसीसी अनुमोदन गर्नका लागि १३७ जना सांसदको मत चाहिन्छ । तर, एमालेले संसद अवरोध गरिरहेको छ ।
एमसीसीमा मत विभाजन हुने बेलामा एमाले तटस्थ बस्दा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत मात्रै पनि एमसीसी फेल गराउन पर्याप्त नहुन सक्छ । यी दुई पार्टीले एमसीसी अनुमोदनको विपक्षमा तर्क गरिरहेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी सत्तारूढ दल हुन् । सरकारले नै संसद्मा पेश गरेको प्रस्तावको विपक्षमा मतदान गरेपछि सरकारमा रहिरहन दुई पार्टीलाई नैतिक अवरोध सिर्जना हुन्छ ।
संसदले एमसीसी अनुमोदन गरे पनि नगरे पनि एउटा टुंगोमा त पुग्छ तर, त्यसले गठबन्धनमा भने भूकम्प ल्याउने निश्चित छ । प्रचण्डले अहिले ‘सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने’ उपायका रूपमा यो सुझावका सम्बन्धमा विचार गरिरहेको माओवादी केन्द्रका नेताहरूको संकेत छ ।
‘हामीले एमसीसीमा संशोधन चाहेको हो । मूल सम्झौतामै संशोधन हुन सक्ने अवस्था रहेन । त्यसो हुँदा संकल्प प्रस्ताव पनि संशोधनको एउटा विकल्प हो’, माओवादीका एक नेताले भने । माओवादी केन्द्र र एकीकृत समाजवादीले चाहेजस्तो एमसीसी पनि अनुमोदन नहुने, गठबन्धन पनि रहने अवस्था असम्भव प्रायः देखिन्छ ।
तर, राजनीति सम्भावनाको खेल पनि हो । राजनीतिमा रात रहे अग्राख पलाउन पनि सक्छ । माओवादी केन्द्रका अध्यक्ष गठबन्धन जोगाउने राजनीतिक चमत्कारको खोजीमा छन् । पार्टीको ‘इमेज’मा कम धक्का लाग्ने उपायको आधारमा गठबन्धन जोगाउने रणनीतिमा प्रचण्ड छन् ।
त्यसका लागि प्रचण्ड केही विकल्पमा परामर्शमा रहेको माओवादी केन्द्रका एक नेता बताउँछन् । ‘प्रधानमन्त्रीले एमसीसी संसदमा लैजाऊँ, पास वा फेल जे हुन्छ, संसदले गर्छ भन्नुभएको हो । हामीले उहाँलाई सजिलो बनाइदिएका छौं । अब सजिलो बनाइदिने पालो प्रधानमन्त्रीको हो’, प्रचण्ड निकट मानिने ती नेताले भने ।
अहिले एमसीसी अनुमोदन गराउने वा नगराउने मूख्य भूमिकामा प्रमुख प्रतिपक्ष दल एमाले छ । तर, एमालेको आफ्नै राजनीतिक दाउ छ । एमसीसीलाई प्रयोग गरेर गठबन्धन भत्काउने रणनीति एमालेले अख्तियार गरेको छ ।
प्रचण्ड र माधव नेपाल भने एमालेलाई सफल हुन नदिने योजनामा छन् । त्यसो हुँदा अन्तिम समयसम्म प्रचण्ड र नेपालले बीचको बाटो अपनाउन सक्ने माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
त्यो भनेको गठबन्धन बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ल्याएको उपाय अवलम्बन हो । थापाले एमसीसी अनुमोदन गर्दा संकल्प प्रस्ताव पनि सँगै पास गर्न सुझाव दिएका छन् ।
‘संविधान, कानूनको व्यवस्थालाई जोगाउने र पञ्चशीलको आधारमा बनेको विदेश नीतिको मान्यतालाई पनि आत्मसाथ गर्नेगरी संकल्प प्रस्ताव जारी गरेर जाने विकल्पमा पनि छलफल भइरहेको छ’, ती नेताले भने ।
थापाले गठबन्धनको बैठकमा एमसीसी कार्यान्वयन हुँदा नेपालको राष्ट्रियता, सार्वभौमिकता, सुरक्षा आदिको विषयमा प्रश्न उठेमा जुनसुकै बेला एमसीसी रद्द गर्न सकिने संकल्प प्रस्ताव पनि संसदबाट पारित गर्न सकिने उपाय सुझाएका थिए ।
प्रतिक्रिया