काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकष्मिकरुपमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।
एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।
सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो ।
उक्त निर्णय गरेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर जानकारी गराएपछि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका थिए । तर, माओवादीको निर्णय र प्रचण्डको आग्रहमा बुधबार सो प्रस्ताव सदनको बैठकमा पेस नगर्न प्रधानमन्त्री राजी भएका छन् ।
यसअघि सोमबार कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने र यसका लागि सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेको थियो । अब भने गठबन्धनमा सहमति जुटाएर मात्र संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेस गरिने भएको छ ।
यस्तै प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ ।
एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो ।
तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ ।
प्रतिक्रिया