आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तिम संस्कार भइसकेका रत्नबहादुर २२ वर्षपछि जब घर फर्किए…

प्रकाशित
556
SHARES

काठमाडौं। मंसिर २० गते साँझ करिब ७ बजे। धादिङको गल्छी गाउँपालिका वडा नं ५ कोइलीखर्कका ललित तामाङ र श्रीमती ठूलीमाया खाना खाएर सुत्ने तरखरमा थिए।

त्यहीबेला छिमेकी मुस्कान तामाङ कराएको सुनियो, ललितको छोरा हुँ भन्दै एउटा मान्छे बास माग्न आछ, रत्ने फर्कियो कि के हो, छिटो आउनु त ललित तत्कालै ज्याकेट भिरेर खै–खै भन्दै बाहिर निस्किए।

हतारमा चप्पल पनि नलगाई अँध्यारोमा करिब १० मिनेट हिंडेर मुस्कानको घर पुग्दा उनले २२ वर्षदेखि बेपत्ता माइलो छोरा रत्नबहादुरलाई पूरै परिवर्तित अवस्थामा देखे।

पुरानो घर महाभूकम्पमा चर्केपछि ललित दम्पती १०० मिटर तल नयाँ घर बनाएर सरेको पाँच वर्ष भइसकेको छ। त्यसकारण रत्न दिउँसै गाउँ आइपुगेको भए पनि बाबुआमाको घर चिन्ने अवस्था थिएन।

२२ वर्षअघि गाउँमा न बिजुली थियो न त सडक। साँझमा म त भुसुक्कै अल्मलिएँ उनले अनलाइनखबरसँग भने, त्यसैले त्यतै बास मागेर भोलिपल्ट जाने सोच बनाएको थिएँ, आपा त त्यहीं आइपुग्नुभयो।

बाबुछोराको मिलनसँगै टोलमा ठूलै खैलाबैला मच्चियो। अर्को १० मिनेटमा घर पुगेका रत्नलाई आमाले छातीमा टाँसेर खुशीको आँशु वहाइन्। तामाङ परिवारमा एकाएक उत्सवको वातावरण भित्रियो।

काजकिरिया भएको दुई वर्षमा घर: आफू गाउँमा रहेको बेला काठमाडौंबाट छोरा हराएको खबर पाएका ललित तामाङले भेटेजति सबै जानेसुन्नेलाई हारगुहार गरे। द्वन्द्वको बेला हिंडडुल गर्न कठिन भए पनि आफन्त भएका सबै ठाउँमा भौंतारिए तर केही पत्तो लागेन।

रत्नका दाजु ज्ञानबहादुरले बेपत्ता व्यक्तिको छानबिन गर्ने आयोगबारे थाहा पाएपछि त्यहाँ पनि पुगेर निवेदन दिए। उनले बेपत्ताको सूचीको १०९५औं नम्बर पाए, तर केही पत्ता लागेन।

त्यसबीचमा ललित र ठूलीमाया कहिले छोराको चिठी पो आयो कि भन्ने आशाले त्यसै हुलाक पुग्थे त कहिले जोखाना हेर्नेहरूको शरणमा जान्थे। समय बित्दै जाँदा जोखाना हेर्ने धामी–जैसीले रत्न अब जीवित नरहेको संकेत गर्न थाले।

त्यस्तो बेला उनीहरू खिन्न भएर फर्किन्थे। कसैले फर्किएर आउन सक्छ भनिदिंदा ठूलो राहत मिल्थ्यो। उनीहरूको दुई दशक त्यसरी नै बितेको थियो। अनि, ललितले आफन्तहरूको समेत सल्लाहमा कठोर निर्णय लिए– काजकिरिया गर्ने।

त्यसरी २०७६ मंसिरमा रत्नको काजकिरिया गरियो। तामाङ संस्कार उनान्चास गर्ने, जुठो फुकाउने लगायत सबै विधि पूरा भयो। त्यसरी माया मारेर घेवा गरेको ठीक दुई वर्षपछि उनीहरूको छोरा आफैं घर फर्किए।

अन्तिम संस्कार गरिसकेको मान्छे जीवितै फर्किएको अवस्थामा पुनर्जन्म दिनुपर्ने मान्यता रहे पनि ज्युँदै फर्किएको कुरालाई नै उत्सव मानेर भाइलाई गृहप्रवेश गराइसकेको उनका दाजु ज्ञानबहादुर बताउँछन।

रुढिवादी परम्परा दोहोर्‍याइरहन आवश्यक छैन भन्ने सोचेर केही झमेला गरिएन उनले भने, त्यसमा कुनै खाले असहजता पनि भएन। भविष्यको चिन्ताले फसे रत्नबहादुर ४ दिदीबहिनी र ३ दाजुभाइका धनी रत्नलाई सानैदेखि दायाँ खुट्टामा समस्या थियो।

गाउँमा कठोर काम गर्न नसक्ने भएकाले काठमाडौंका होटलहरूमा हेल्पर काम गर्थे उनी। कान्छो भाइ र दुई बहिनीलाई पनि काठमाडौं ल्याएर राम्रो काममा लगाउने उनको सोच थियो।

भाइबहिनी र घरको लागि केही गर्न नसकेकोमा उनलाई नमिठो लागिरहन्थ्यो। तिर्नुपर्ने ऋण त थिएन, तर नयाँ घर बनाउने र ६० पुग्न लागेका बाबुआमालाई सुख दिनुपर्छ भनेर उनी विवाह पनि नगरी बसेका थिए।

२०५५ मंसिर दोस्रो साता उनले काम गर्ने नयाँ बजारको होटलमा नुवाकोट घर बताउने एक जना ठेकेदारसँग भेट भयो। कुराकानी गर्दैगर्दा ठेकेदारले भारतमा राम्रो काममा लगाइदिने आश्वासन दिए।

रत्नले आफ्नो खुट्टामा समस्या रहेको कुरा पनि बताएका थिए। जे भए पनि दैनिक ३०० भारु काम मिलाइदिने भनेर ठेकेदारले रत्नलाई भारत लगे। काठमाडौंमा रत्न दैनिक ८० रुपैयाँ कमाइरहेका थिए।

उसको कुरामा म यति लोभिएँ कि कसैलाई खबरै नगरी भारततिर लागें उनी भन्छन्, उसले चार दिनमा उत्तराखण्डको सिमला पुर्‍यायो। अर्को दुई दिनमा रामपुर भन्ने ठाउँमा बनिरहेको सडकको काममा लग्यो।

काम थालेको दुईदिनमा ती ठेकेदार जान्छु पनि नभनी भागेको रत्न बताउँछन्। अब त्यहाँ चिनेका कोही थिएनन्। उनी काममा खटिइरहे। दैनिक ३०० भनेर गएका उनले भारु ६० मात्रै पाए।

त्यो ठेकेदारले मलाई तीन लाख भारुमा बेचेर हिंडेको रहेछ रत्न भन्छन्, भारतमा चेली बेचिन्छन् भन्ने त सुनेको थिएँ, म आफैं पनि बेचिएको रहेछु। त्यतिबेला नेपालमा माओवादीको सशस्त्र द्वन्द्व चलिरहेको थियो।

उनको घर कोइलीखर्कमा त्यसको ठूलो प्रभाव नपरेको भए पनि एक्कासी बेपत्ता भएका उनी लामो समय नफर्किंदा सबैजना द्वन्द्वकै क्रममा बेपत्ता पारिएको हुन सक्छ भन्ने निष्कर्षमा पुगेका थिए।

रत्नको तीन वर्ष सिमलाको त्यो विकट पहाडी क्षेत्रमा निर्माणाधीन सडकमै बित्यो। जेनतेन पेट पाल्नेबाहेक पूरा पारिश्रमिक पाएनन्। खर्च नहुँदा केवल घर सम्झन सके फर्किने बाटो पहिल्याउन सकेनन्।

त्यहीबीच एकदिन सोही साइटमा काम गर्ने साथीले बरु लद्दाख जाउँ भनेपछि उनी त्यता भागे। उनीहरू चीनको सीमामा पर्ने लद्दाखको त्यो कुनामा पुगे, जहाँ वर्षमा ६ महिना मात्र मान्छेको आउजाउ हुन्थ्यो।

६ महिना त भारतीय सेनाले घाँस, गहुँ काट्ने जस्ता काम दिन्थ्यो, ६ महिना त्यसै बस्नुपर्ने। त्यहाँ गाउँ पनि एउटै थियो । त्यही बेसुर अवस्थामा मैले १८ वर्ष कटाएँ रत्न भन्छन्, नपढेको भए पनि अलिअलि फेसबुक चलाउँथें, तर मैले चिनेकालाई फेसबुकमा पनि भेटिनँ।

भगवान जस्ता पपिता र रवि: बेकाम भएर बसेको बेला एक दिन लेह सहर डुल्न जाँदा रत्नले सोलुखुम्बुकी पपिता र सिन्धुपाल्चोकका रवि बराइली भेटे। त्यहाँ उनीहरूको होटल रहेछ।

लामो समय खानपानको अव्यवस्थाले रत्नको खुट्टाको समस्या बढ्दै थियो। छाती र पेटमा पनि अनेक समस्या देखिन थालेका थिए । पपिता र रविले उनको उपचार गराए। उपचार सफल पनि भयो।

अनि रविले नै दिल्ली ल्याएर काठमाडौं जाने गाडी चढाएर पठाइदिए’ रत्न भन्छन्, ती भाइ र बहिनी नभेटिएको भए मेरो हालत कस्तो हुन्थ्यो भन्न सक्दिनँ। मेरो लागि पपिता र रवि भगवान भए।

उनी कृष्णनगर नाकाहुँदै मंसिर दोस्रो साता काठमाडौं पुगेर धादिङतिर लागे। २२ वर्षअघि नै ६० पुगिसकेका बुबा र ५० नाघेकी आमाको स्वास्थ्य अवस्थाबारे उनको मन भने निकै डराइरहेको थियो।

कहिले घर पुगौं भन्ने पनि भइरहेको थियो उनी भन्छन्, उहाँहरू हुनुहुन्न भने कता जाने होला भन्ने पनि भइरहेको थियो। सजिलो छैन अबका दिनबैरेनी–कोइलीखर्क सडक छेउमा निलो जस्ताले छाएको एकतले घर र सँगै जोडिएको एउटा टहरो छ।

घरमा सानो किराना पसल छ। पिंढीमाथि मकैको झुत्ता झुण्ड्याइएको छ। यही घरभित्र मायाको न्यानो पाएका छन्, रत्नले। दाजुभाइ–दिदीबहिनी सबै बिहेवारी भएर अलग भइसकेका छन्।

शारीरिक रूपमा अशक्त रत्नको सहारा बनेका बाबु ललित ८१ र आमा ठूलीमाया ७४ वर्षका भए। पाँच रोपनी पाखोबारीमा काम गर्न सक्ने शक्ति तीनै जनासँग छैन।

यही महिना नागरिकता र अपांग परिचयपत्र पाएका रत्नले किराना पसलको बागडोर सम्हालेका छन्। आपा-आमा धेरै बुढाबुढी भइसक्नुभयो, आफ्नो हालत यो छ उनी भन्छन्, मेरो लागि अबको दिनहरू पनि सजिलो छैन।

प्रतिक्रिया