आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुस-युक्रेन तनाव अमेरिकाले युरोपमा थप ३ हजार सैनिक तैनाथ गर्यो

प्रकाशित
295
SHARES

एजेन्सी। रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिकाले युरोपका विभिन्न मुलुकमा थप ३ हजार सैनिक तैनाथ गर्ने भएको छ। अमेरिकी रक्षा मन्त्रालयका प्रेस सचिव जोन किर्बीले बुधबार जर्मनी, पोल्यान्ड र रोमानियामा थप ३ हजार सैनिक तैनाथ गरिने जानकारी दिएका हुन्।

यसअघि अमेरिकाले नेटो गठबन्धनको सेनालाई युरोपमा सहयोग गर्नका लागि ८ हजार ५ सय सैनिकलाई अलर्टमा राखिएको बताएको थियो। प्रेस सचिव किर्बीले तीन मुलुकमा पठाइन लागेका सैनिक भने अलगै भएको जानकारी दिए।

अमेरिका र युरोपका विभिन्न ठाउँमा रहेका युनिटबाट ती सैनिक आउने उनले बताए। यो स्थायी होइन, उनीहरूलाई वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पठाउन थालिएको हो, पत्रकार सम्मेलनमा किर्बीले भने।

यो फौज युक्रेनमा लडाइँ गर्न जाने भने होइन। तिनीहरू नेटोमा आबद्ध मुलुकको सुरक्षालाई सुनिश्चित गर्न मात्र जान लागेका हुन्। किर्बीका अनुसार जर्मनीको फोर्ट ब्रागबाट १ हजार अमेरिकी सैनिक रोमानिया जानेछन्।

रोमानियामा पहिले नै ९ सय अमेरिकी सैनिक तैनाथ छन्। त्यस्तै फोर्ट ब्राग र नर्थ क्यारोलाइनाबाट गरी २ हजार सैनिक पोल्यान्डमा तैनाथ गरिने भएको छ। त्यस्तै एउटा हेडक्वार्टर समूहका रूपमा जर्मनीमा पनि फौज पठाइने उनले बताए।

त्यस्तै आवश्यकताअनुसार थप फौज पठाउन सकिने उनको भनाइ छ। रुसलाई युद्धमा तान्न अमेरिका प्रयासरत: पुटिन रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको हो।

त्यसबारे पहिलो पटक सार्वजनिक धारणा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अमेरिकाका कारण तनाव थप गहिरिएको बताएका छन्। यद्यपि उनले वार्ताको सम्भावना कायमै रहेको बताएका छन्।

रुसले युक्रेनको दक्षिणी क्राइमिया द्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब ८ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको अमेरिकालगायतको आरोप छ। यद्यपि, रुसले त्यसलाई अस्वीकार गरिरहेको छ।

युक्रेन सरकार पूर्वी क्षेत्रमा शान्ति पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागू गर्न असफल भएको रुसको आरोप छ। त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र अधिकांश क्षेत्र रुस समर्थित विद्रोहीको नियन्त्रणमा छन्।

विश्वका सबैभन्दा ठूला आणविक हतियारसम्पन्न रुस र अमेरिकाबीचको पछिल्लो तनाव शीतयुद्धपछिकै ठूलो भएको जनाइएको छ। युक्रेन त्यतिबेला भने कम्युनिस्ट सोभियत संघको एक महत्त्वपूर्ण हिस्सा थियो।

प्रतिक्रिया