काठमाडौ। गाउँमा स्वास्थ्यकर्मी छैनन्। भएको एक स्वास्थ्य इकाई पनि बन्द छ। हिमपातपछि स्वास्थ्यकर्मीहरू पनि तलतिर झरिसकेका छन्। यतिसम्म कि स्वास्थ्य संस्थामा सिटामोल समेत पाइँदैन।
कसैलाई लडेर चोटपटक लाग्यो भने पनि गाउँमा उपचार सम्भव छैन। जिल्लाको अति दुर्गम बेदिङका स्थानीयहरू स्वास्थ्य उपचारको अभाव त झेल्दै छन्, त्यसैमाथि सरकारको प्रतिबन्धका कारण समयमै उपचार नपाएर ज्यान गुमाउन पनि बाध्य छन्।
बिरामी परिहाले पनि दुई दिनको पैदल हिँडेर सडक भएको स्थानसम्म आउनुपर्ने बाध्यता छ। साथै सरकारले यस क्षेत्रमा हेलिकप्टर उडानका लागि पनि अनुमति नदिँदा यहाँका बासिन्दाले समयमै उपचार पाउन सकेका छैनन् ।
बेदिङका दावाछिरिङ शेर्पा तीन दिन हिँडेर उडान प्रतिबन्ध हटाइदिनु पर्यो भन्दै जिल्ला प्रशासन कार्यालय धाइरहेका छन्। बिरामीका लागि र ढुवानीका लागि हेलिकप्टर उडान खुलाउन भन्दै उनी सम्बन्धित निकाय धाएको धेरै भइसक्यो।
तर उक्त क्षेत्रमा हेलिकप्टर उडानको प्रतिबन्ध हटेको छैन। बिरामी लैजान अनुमति माग्दा घण्टौसम्म अनुमति नपाइने शेर्पाको गुनासो छ। उपचारका लागि हेलिकप्टर पर्खँदा पर्खँदै ज्यान जाने गरेको शेर्पा बताउँछन्।
विगतका ४ वर्षमा हेलिकप्टरको अनुमति माग्दा माग्दै समयमा उपचार नपाएरै यस गाउँका ६ जनाभन्दा बढीले ज्यान गुमाएको दावाले बताए ।गौरीशंकर गाउँपालिका—९ बेदिङ हिम आरोहीहरूको गाउँको रुपमा पनि चिनिन्छ।
यहाँबाट हालसम्म ६५ जनाले सगरमाथा आरोहण गरिसकेका छन्। तीमध्ये ६ जना महिला पनि छन्। तर राज्यले उक्त गाउँलाई बेवास्ता गर्दैआएको गाउँलेहरूको गुनासो छ। मान्छेको सबैभन्दा ठूला ज्यान हो, बिरामी परिहाले उपचार गर्ने ठाउँ छैन।
दावाले भने, ‘आफ्नै खर्चमा हेलिकप्टर ल्याएर उपचार गर्छु भन्दा सरकारले प्रतिबन्ध लगाएको छ। गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने रोल्वालिङ उपत्यकाको पर्यटकीय गन्तव्यमा पर्छ बेदिङ।
यहाँ च्छो-रोल्पा हिमताल जाने अधिकांश विदेशी र स्वदेशी पर्यटक बास बस्ने गर्छन्। ८३ घर रहेको बेदिङमा ३ सय २० को हाराहारी जनसंख्या छ। अधिकांश घरहरूमा होटल संचालन हुँदैआएको छ।
समुद्र सतहदेखि ३ हजार ७ सय ७१ मिटर उचाइमा रहेको बेदिङ हुँदै यर्पटकहरू च्छो-रोल्पा हिमताल जाने गर्छन्। यस क्षेत्र वर्षको तीन महिना हिउँले ढाक्ने गरेको छ।
धेरै पटक बिरामीलाई उपचार गर्न हेलिकप्टरमा लैजान अनुमति माग्यौं, समयमा सरकारले अनुमति नदिँदा उपचार नपाएर धेरैले ज्यान गुमाएका छन् दावाले भने, बिरामीका लागि मात्रै भए पनि प्रतिबन्ध हटाइदिनुपर्यो।
सरकारले बिरामी र खाद्यान्न ढुवानीका लागि बेदिङ र ना गाउँमा हेलिकप्टरको उडान अनुमतिको प्रतिबन्ध हटाए गम्भीर बिरामी भएकाहरूले समयमै उपचार पाउने उनले बताए।
सरकारले बेदिङवासीलाई उपचार गर्नबाट बञ्चित बनाइएको छ, उनले भने, हामी यही राज्यका मानिस हौं, तर हामीमाथि विभेद् भयो। यस्तै उडान प्रतिबन्धकै कारण खाद्यान्न पनि तीन दिन लगाएर,
बोक्नुपर्ने बाध्यता रहेको उनले सुनाए। पछिल्लो केही दिनयता बेदिङ लगातारको हिमपातले पुरिएको छ। केही मानिस हिमपात छल्न तलतिर झरे पनि धेरैजसो माथि नै बसेका छन्।
तर कस्तो अवस्थामा छन् भनेर सरकारी निकायबाट सोधखोजसमेत नभएको दावाले गुनासो गरे। सरकारले जोखिममा परेका गर्भवती महिलाको हेलिकप्टर मार्फत् उद्धार गर्छ भनेर सुनेको छु, दावा भन्छन्।
तर बेदिङका महिलाले यो सेवा लिन पनि विभिन्न निकाय धाएर लामो समयपछि मात्रै अनुमति लिनु पर्छ। प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले भने रोल्वालिङ क्षेत्रमा हेलिकप्टर उडानका लागि गृह मन्त्रालयबाट अनुमति आउन केही समय लाग्ने बताउँछन्।
तर गम्भीर प्रकृतिका बिरामीको तत्काल उद्वार गर्ने उनको भनाइ थियो। कहिलेकाहीँ गृह मन्त्रालयबाट अनुमति आउन समय लाग्दा केही समस्या हुने गरेको उनले बताए।
त्यसो त केही महिनाअघि मात्रै गाउँमा पुगेको स्वास्थ्य इकाई पनि हिमपातका कारण बन्द छ। फागुन अन्तिमबाट स्वास्थ्य इकाई खुल्ने गौरीशंकर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रेग्मीले बताए।
हिमापतका कारण भएका एक जना स्वास्थ्यकर्मी तल झरेका छन्,उनले भने, हिमपातका कारण स्थानीय पनि तल झर्ने गरेका कारण बन्द गरिएको हो। अति दुर्गम भएकाले स्वास्थ्यसेवा नियमित गर्न कठिनाइ भएको उनले बताए।
प्रतिक्रिया