आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनाङमा तीन फिट बाक्लो हिमपात, तापक्रम माइनस १२ डिग्री

प्रकाशित
436
SHARES

काठमाडौँ। मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ। बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ। मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ।

लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ। चिसो बढेसँगै धारामा पानी जमेको छ। खोलासमेत जमेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए।

हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हे.क्वा मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए। हिमपातले किसान भने खुसी भएका छन्।

मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन्। चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए।

तेस्तै,जुम्लामा पुनः हिमपात भएको छ। बिहिबार साँझदेखि सुरु भएकाे हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ।

चिसोका कारण जनजीवन प्रभावित बनेको छ। याे वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको हाे । हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ। लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ। हिमपातका कारण जुम्लामा बत्ती र इन्टनेट सेवा पनि अवरुद्ध भएको छ।

चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए। जुम्लामा स्याउ लगाउने र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएकाे छ।

तेस्तै, गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ।

बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए।

हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताए। अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

तेस्तै, बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ।

राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन्।

उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ। यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ ।

उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

तेस्तै, गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ। राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो।

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए। गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो।

पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए। पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ।

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ। गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो।

हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ। अर्को हप्ता बाट मौसममा सुधार आउने मौसमविद हरुले जनाएका छन्।

प्रतिक्रिया