आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सात दिनभित्र ८६ करोड रोयल्टी तिर्न पाँच क्यासिनोलाई पर्यटन मन्त्रालयको अल्टिमेटम

प्रकाशित
299
SHARES

काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी र नवीकरणबापतको ८६ करोड रकम तिर्न आलटाल गर्ने पाँच क्यासिनोलाई कारबाहीको चेतावनी दिएको छ। सात दिनभित्र भुक्तानी नगरे इजाजत रद्द गर्ने मन्त्रालयको निर्णय छ।

मन्त्रालयले क्यासिनो सञ्चालन गरिरहेका दरबारमार्गस्थित होटेल याक एन्ड यती, लाजिम्पाटको ओरियन्टल होटेल लिमिटेड, रक इन्टरनेसनल काठमाडौं, सेन्ट्रल मिडिया प्रालि र ह्याप्पी आवर काठमाडौंलाई आर्थिक वर्ष ०७६/७७ को रोयल्टी र नवीकरण रकम सात दिनभित्र भुक्तानी गर्न भनेको हो ।

यी क्यासिनोले कुल ८५ करोड ८४ लाख ४७ हजार रुपैयाँ सरकारलाई तिर्न बाँकी छ। होटेल याक एन्ड यतीले २० करोड ६८ लाख १५ हजार, ह्याप्पी आवरले २१ करोड ५५ लाख, ओरियन्टलले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख तिर्न बाँकी छ।

क्यासिनो सञ्चालकहरूले वर्षाैँदेखि रोयल्टी रकम नतिरेको पाइएपछि पर्यटनमन्त्री प्रेम आलेले कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। जसअनुसार मंगलबार सात दिनभित्र भुक्तानी नगरे कारबाही गर्ने सचिवस्तरीय निर्णय भएको छ।

मन्त्रालयले यसअघि यी क्यासिनोलाई ७ कात्तिकमा ३५ दिने र २७ पुसमा १५ दिने म्याद कायम गरेर रोयल्टी भुक्तानी गर्न पत्राचार गरेको थियो। तर, उनीहरूले नटेरेपछि मन्त्रालयले अन्तिमपटकका लािग भनेर सातदिने म्याद दिएको हो।

क्यासिनो नियमावली, २०७० को दफा १४ मा प्रत्येक वर्ष नवीकरण नगर्ने र रोयल्टी रकम नतिर्ने क्यासिनोको इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ । रोयल्टी रकम नतिर्ने क्यासिनोप्रति मन्त्री आले आक्रामक देखिएका छन्।

यसअघि १३ करोड रुपैयाँ नतिरेरै अमेरिका उड्न लागेका एसएचएल म्यानेजमेन्टका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई मन्त्री आलेको निर्देशनमा नेपाल छोड्न रोक लगाइएको थियो।

विमानस्थलबाटै नियन्त्रणमा लिइएपछि बोल्सोभरले रोयल्टी तिरेका थिए। उनले ओसिपी एसियाको लगानीमा लाजिम्पाटस्थित सांग्रिला होटेल र भैरहवास्थित टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गरिरहेका थिए।

महालेखापरीक्षकको कार्यालयले ५८औँ प्रतिवेदनमा क्यासिनोबाट एक अर्ब आठ करोड ६३ लाख रोयल्टी उठ्न बाँकी रहेको उल्लेख गरेको छ। जब कि क्यासिनो नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालकले प्रत्येक वर्ष रोयल्टी रकम बुझाउनुपर्छ।

क्यासिनो रोयल्टीसँग सम्बन्धित व्यवसायीको विवरण तथा रकम खुल्ने अद्यावधिक विवरण पर्यटन विभागले तयार गरेको छैन । असुल हुन बाँकी रकम र उक्त रकममा लाग्ने शुल्कसमेत यकिन गरी असुल गर्नुपर्छ,’ महालेखाले भनेको छ।

तेस्तै, कोरोना संक्रमण पजिटिभ आएका व्यक्तिहरूबाट रकम लिएर नेगेटिभ पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले भक्तपुरको नागरिक कम्युनिटी अस्पताल र तिनकुनेको कान्तिपुर अस्पतालमाथि अनुसन्धान बढाएको छ।

महाशाखाले ती अस्पतालभित्र ल्याबमा कार्यरत चारजना कर्मचारीलाई पक्राउ गरेको छ। अस्पतालले फोटोको आधारमा पिसिआर रिपोर्ट तयार गरी १५ हजार रुपैयाँमा बेचेको प्रमाण भेटिएको महाशाखाले जनाएको छ।

कोरोना संक्रमण पजिटिभ आएर विदेश जान नपाएका व्यक्तिलाई नेगेटिभ पिसिआर रिपाेर्ट दिएको प्रहरीले भेट्टाएको छ। कोरोना संक्रमण पजिटिभ आएकाहरूलाई पनि नेगेटिभ रिपोर्ट बेचेको जानकारी आएपछि महाशाखाले अनुसन्धान थालेको थियो।

महाखाशाको टोली अस्पतालमा पुगेरै अनुसन्धान गरेको हो। प्रहरी पुगेको खबर पाएपछि दुवै अस्पतालका सञ्चालक फरार छन्। ल्याबमा कार्यरत कर्मचारी र नेगेटिभ रिपोर्ट दिने भन्दै ग्राहक ल्याउने बिचौलियालाई महाशाखाले पक्राउ गरेको छ।

उनीहरूलाई केहीबेरमा सार्वजनिक गरिने बताइएको छ। तेस्तै, प्रहरीले १० दिनमा ८८ जना अनलाइन जुवाडे पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश ३० वर्षभन्दा तलका युवायुवती छन्।

प्रहरीले जुवाडे पक्राउ गर्न विशेष अपरेसन नै चलाएको थियो। यस अवधिमा सबैभन्दा धेरै जुवाडे सोमबार बौद्धस्थित रेस्टुरेन्टबाट पक्राउ परेका छन्। एउटै खालबाट प्रहरीले ७४ जुवाडेलाई पक्राउ गरेको हो।

उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। बौद्धका ३० वर्षीय सुभाष घिसिङले रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। अनलाइनमार्फत जुवा खेल्ने सूचनापछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए।

‘रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेलाउने गरेको सूचना आयो । छापा मार्दा एउटै खालबाट ७४ जुवाडे पक्राउ परे। अनुसन्धान गर्दा उनीहरू अनलाइनमार्फत जुवा खेल्न रेस्टुरेन्टमा भेला भएको खुलेको छ।

उनले भने, पक्राउ पर्ने अधिकांश ३० वर्षभन्दा तलका युवायुवती छन्। घटनाको थप अनुसन्धान हुँदै छ। अनुसन्धानका लागि प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरेको छ। उनीहरूबाट प्रहरीले खेलमा प्रयोग हुने मोबाइल,

कोड लेखिएको कुपन र ६ लाख १९ हजार दुई सय ५० रुपैयाँ बरामद गरेको छ। यसअघि काठमाडौंपरिसरकै टोलीले ठमेलस्थित घनश्याम अम्गाईले सञ्चालन गरेको गेस्ट हाउसबाट बाग्लुङ थाइबाङका राकेशकुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंहलाई पक्राउ गरेको थियो।

११ माघमा पक्राउ परेका उनीहरूबाट २९ लाख २५ हजार रुपैयाँ उल्लेखित विभिन्न बैंकका चेक तथा भौचरहरू बरामद भएका थिए। घटनास्थलबाट प्रहरीले सट्टेबाजमा प्रयोग हुने क्वाइन, विभिन्न कम्पनीका मोबाइल बरामद गरेको थियो।

गत ७ माघमा पनि महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट अनलाइन जुवा खेलमा संलग्न १२ जना युवायुवती पक्राउ गरेका थियो । जुवा खालमा पक्राउ परेका सबै अभियुक्त ३० वर्षभन्दा तलका छन्।

खालमा एक लाख अमेरिकी डलरसम्मको बाजी हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। सामाजिक सञ्जालमार्फत साथी बनाई विभिन्न मुलुकका नागरिकसँग उनीहरूले जुवा खेल्ने गरेको र पेमेन्ट पनि अनलाइनबाटै हुने गरेको महाशाखाका भनाइ छ।

काठमाडौं परिसरका प्रवक्ता एसपी मैनाली युवायुवती अनलाइन जुवामा संलग्न हुनु राम्रो संकेत नभएको बताए। उनले भने, ‘१० दिनको अवधिमा ८० भन्दा धेरै जुवाडे पक्राउ परेका छन्।

सबै ३० वर्ष उमेरभन्दा कमका छन्। अध्ययन गर्ने र करिअर बनाउने यो उमेर समूहका युवायुवती जुवामा संलग्न हुनु राम्रो संकेत होइन। यसमा अभिभावक सचेत हुनैपर्ने देखिन्छ।

प्रतिक्रिया