आज : गते

ताजा शिर्षकहरु

राष्ट्रिय सभामा सत्तागठबन्धनको वर्चश्व, १ सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट बच्यो

प्रकाशित
538
SHARES

काठमाडौँ। १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट बच्यो। राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा पाँचदलीय सत्तागठबन्धनका १८ उम्मेदवार विजयी भएका छन्।

आगामी २० फागुनमा समयावधि सकिन लागेका सिटका लागि भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेका एकजना विजयी भएका हुन्। प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट बचेको छ। निर्वाचन आयोगका अनुसार सातै प्रदेशका गरी १९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित भएका छन् । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन भएको हो ।

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता छन् । स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेश सभाका पाँच सय ३२ मतदाता थिए । तर, १८ जना मतदाता अनुपस्थित रहे । प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ ।

पाँचदलीय सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सिट बाँडेर संयुक्त उम्मेदवारी दिएका थिए । निर्वाचनमा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पनि थिए । मधेस प्रदेशमा एमाले र लोसपाबीच तालमेल भएको थियो ।

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने आठ सिटमा भागबन्डा गरेका थिए । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदै छ । गठबन्धनले एमालेलाई आफ्ना आठ सिट जोगाउन कठिन बनाइदिएको थियो ।

रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने गठबन्धनबीच सहमतिअनुसार उम्मेदवारी परेको थियो । एमालेसँग भएका आठ सिटमा भने कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिएका थिए।

त्यसमध्ये जसपाले पाएको प्रदेश १ को एउटा सिटमा गठबन्धनले जित निकाल्न सकेन । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सातै प्रदेश मुकामको निर्वाचन केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताए।

प्रदेश १ मा गठबन्धनका दुई र एमालेका एक विजयी: प्रदेश १ मा गठबन्धनका दुई र एमालेका एकजना उम्मेदवार विजयी भएका छन् । कुल तीन पदका लागि विभिन्न दल र गठबन्धनका तर्फबाट आठजनाले उम्मेदवारी दिएका थिए । मतपरिणामअनुसार महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई र खुलातर्फ कांग्रेसका गोपाल बस्नेत विजयी भएका हुन् । त्यस्तै, अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए ।

खुलातर्फ एमालेका गुरु बराल र कांग्रेसका गोपाल बस्नेतले बराबरी चार हजार चार सय ८८ मतभार प्राप्त गरे । मत बराबरी भएपछि गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी भए । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐन, २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी भोजपुरकी जयन्तीले प्रदेश सभाको ५२ र स्थानीय तहको एक सय २२ जना जनप्रतिनिधिको मतबाट चार हजार ६ सय ९२ मतभार प्राप्त गरिन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका एक सय ४१ जनप्रतिनिधिको चार हजार तीन सय ६२ मत प्राप्त गरिन् । राप्रपाकी उम्मेदवार रञ्जु प्याकुरेलले प्रदेशमा एक र स्थानीय तहमा चार जनप्रतिनिधिको मत मात्र प्राप्त गरिन् ।

अल्पसंख्यकतर्फ सोलुखुम्बुका एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पाले पालिकातर्फ एक सय ५२ र प्रदेश सांसदतर्फ ४२ मतबाट चार हजार सात सय ५२ मतभार प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादीका भोजपुरका उम्मेदवार हेमराज राईले चार हजार तीन सय ६८ मतभार प्राप्त गरे ।

प्रदेश १ मा कुल ९२ जना प्रदेश सांसद र दुई सय ७२ जना पालिका प्रमुख र उपप्रमुख मतदातामध्ये एक सांसद र दुई जनप्रतिनिधिले मतदान गरेनन् । मतदान नगर्नेमा पालिकातर्फ विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की र झापा गौरीगन्ज नगरपालिका प्रमुख बाबुराजा श्रेष्ठ रहे । उपप्रमुख कार्की गम्भीर बिरामी भएर उपचारका लागि काठमाडौंमा रहेकाले र प्रमुख श्रेष्ठ पनि बिरामी रहेको कारण देखाउँदै मतदान गर्न आएनन् ।

प्रदेश १ सांसद एमालेकी गुलेफन मियाँ सरकारी कागजात किर्ते कसुरमा जिल्ला र उच्च अदालतले जरिवनासहित एक वर्ष कैद सजाय तोकेको हुँदा प्रहरीले पक्राउ गर्ने भयले मतदानमा सहभागी भइनन् । यता एक मात्र प्रदेश सांसद भए पनि राप्रपाका खुलातर्फका उम्मेदवार अम्बरबहादुर विष्टले प्रदेश सांसदतर्फ दुई मत प्राप्त गरे । जसको कारण एमालेका गुरु बरालले हार व्ष्होर्नुपर्‍यो ।

प्रदेश १ मा खुला, महिला र अल्पसंख्यक/अपांगतातर्फ एक–एक गरी जम्मा तीन सदस्यका लागि निर्वाचन सम्पन्न भएको हो । एमालेबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्य नैनकला ओझा, अगमप्रसाद बान्तवा राई र परशुराम मेघी गुरुङको पदावधि आगामी २० फागुनदेखि समाप्त हुँदै छ ।

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी: राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेशमा दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण प्रतिष्ठानमा भएको मतदानमा अन्य तर्फबाट जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् ।

सिद्दिकीले स्थानीयत तहतर्फ एक सय ७१ मत अर्थात् तीन हजार ७८ मतभार प्राप्त गरेका छन् । अर्यालले स्थानीय तहतर्फ एक सय ५८ मत अर्थात् दुई हजार आठ सय ४४ मतभारत प्राप्त गरेकी थिइन् । प्रदेश सभातर्फ ६९ मत अर्थात् तीन हजार तीन सय १२ मतभार र सिद्दिकीले ७५ मत अर्थात् अर्थात् तीन हजार ६ सय मत प्राप्त गरेका छन् । यसरी स्थानीय तह र प्रदेश गरी सिद्दिकीले ६ हजार ६ सय ७८ मतभार र अर्यालले ६ हजार एक सय ५६ मत पाएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार अर्यालका प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्थानीय तह ८१ मत अर्थात् एक हजार चार सय ५८ र प्रदेशतर्फ २७ मत अर्थात् एक हजार दुई सय ९६ मत गरी कुल मतभार दुई हजार सात सय ५४ पाएकी थिइन् । त्यसैगरी, एमालेकी उम्मेदवार विनादेवी यादवले स्थानीय तहतर्फ नौ अर्थात् एक सय ६२ मतभार र प्रदेशतर्फ तीन अर्थात् एक सय ४४ गरी तीन सय सय ६ मतभार पाएकी हुन् ।

त्यसैगरी, सिद्दिकीका प्रतिद्वन्द्वी तथा एमाले र लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीले स्थानीय तहतर्फ ८७ मत अर्थात् एक हजार पाँच सय ६६ र प्रदेशतर्फ २५ अर्थात् एक हजार दुई सय गरी कुल दुई हजार सात सय ६६ मतभार प्राप्त गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार अन्य कोटामा प्रदेशतर्फ दुई र स्थानीय तहतर्फ ६ गरी आठ मत बदर भएको थियो भने महिला कोटामा प्रदेशतर्फ तीन र स्थानीय तहतर्फ १६ गरी १९ मत बदर भएको थियो ।

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि तीन सय ७२ मतदाता रहेकोमा तीन सय ६६ जनाले मात्रै मतदान गरेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदानमा प्रदेश सभाका दुई सांसद र स्थानीय तहका चार गरी ६ जना प्रतिनिधि अनुपस्थित रहेका थिए । एकीकृत समाजवादीका प्रदेश सांसद गोविन्द न्यौपाने र जसपाकी सांसद रागिनीदेवी वरनवाल मतदानमा अनुपस्थित रहेका थिए । सप्तरीनिवासी न्यौपाने अमेरिका भ्रमणमा गएको र पर्सा निवासी वरनवाल पनि देशबाहिर रहेकाले मतदानमा सहभागी नभएको बताइएको छ ।

त्यसैगरी, स्थानीय तहतर्फ धनुषा जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेष, बारा विश्रामपुर गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा देवी, रौतहट राजपुर नगरपालिकी उपमेयर जसिना खातुन र रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाहा मतदानमा अनुपस्थित रहेका थिए । जनकनन्दनी गाउँपालिकाका अध्यक्ष शेष क्यान्सरको उपचारको क्रममा भारत दिल्लीमा रहेका छन् ।

बागमतीमा पौडेल र तिमल्सिना विजयी: राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार हेटौँडा– ८ औद्योगिक क्षेत्रमा भएको मतदान प्रक्रियाबाट अन्यतर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका हुन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ एक सय १६ मत अर्थात् दुई हजार ८८ मतभार र प्रदेशतर्फ ५७ मत अर्थात् दुई हजार सात सय ३६ मतभार गरी कुल चार हजार आठ सय २४ मतभार प्राप्त गरिन् । त्यस्तै, पौडेलले स्थानीय तहतर्फ एक सय १७ मत अर्थात् दुई हजार एक सय ६ मतभार र प्रदेशतर्फ ५६ मत अर्थात् दुई हजार ६ सय ८८ मतभार गरी कुल चार हजार सात सय ९४ मतभार प्राप्त गरे ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ एक सय १७ मत अर्थात् दुई हजार एक सय ६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात दुई हजार दुई सय ५६ मतभार प्राप्त गरिन् । उनले कुल चार हजार तीन सय ६२ मतभार प्राप्त गरेकी थिइन् । एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ एक सय १६ मत अर्थात् दुई हजार ८८ मतभार प्राप्त गरे । उनले प्रदेशतर्फ ४७ मत अर्थात् दुई हजार दुई सय ५६ मतभार गरी कुल चार हजार तीन सय ४४ मतभार प्राप्त गरे ।

नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ दुई मत अर्थात् ३६ मतभार र प्रदेशतर्फ दुई मत अर्थात् ४८ मतभार प्राप्त गरिन् । काफ्लेले कुल ८४ मतभार प्राप्त गरिन् । नेमकिपाका अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ दुई मत अर्थात ३६ मतभार र प्रदेशतर्फ दुई मत अर्थात् ४८ मतभार प्राप्त गरेका थिए । उनले पनि कुल ८४ मतभार प्राप्त गरे ।

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा तीन सय ४६ मतदाता रहेका थिए । प्रदेश सभा सदस्यको एक सय नौमध्ये एक सय ६ मत खसेको थियो । स्थानीय तहतर्फ शतप्रतिशत अर्थात् दुर्ई सय ३७ मत नै खसेको थियो । दुई मत बदर भएको थियो ।

निर्वाचनमा स्थानीयतर्फ एक मतको मतभार १८ र प्रदेशतर्फ एक मतको मतभार ४८ रहने व्यवस्था छ । मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले भने सहभागिता जनाएन । विवेकशीलको प्रदेशतर्फ तीन मत रहेको थियो ।

राप्रपाका दुईजना बागमती प्रदेश सांसदले राष्ट्रिय सभाको निर्वाचनमा मतदान गरेका छन् । प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्नो उम्मेदवार नभएकाले आफ्नो पार्टीले मतदान नगर्न राप्रपाले निर्णय गरे पनि राप्रपाका बागमती प्रदेश सभा सांसद रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन् । मतदानमा सहभागी रिता माझीले पार्टीले अन्तिम समयमा मतदान गर्न निर्देशन दिएकाले राष्ट्रिय सभामा मतदान गरेको बताइन् । राप्रपाको स्थानीय तहमा पनि दुईजना जनप्रतिनिधि छन् । उनीहरू पनि मतदान प्रक्रियामा सहभागी भएका छन् ।

गण्डकीमा गठबन्धनका तीनैजना निर्वाचित
राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा गण्डकीमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनका केही मत एमाले उम्मेदवारले पाएका छन् । तीनजना सदस्यका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ गठबन्धनकी उम्मेदवार कांग्रेसकी कमला पन्त, अन्यमा माओवादीका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका छन् । पन्त तीन हजार ४८ मतभार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी लीला पोखरेल थनेतले दुई हजार सात सय २७ मतभार ल्याइन् ।

अन्य समूहमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादीका आलेमगर तीन हजार ९६ मतभार ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले दुई हजार ६ सय ९४ मतभार पाए । दलिततर्फ माओवादी केन्द्रका भुवन सुनार तीन हजार ४८ मतभार ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले दुई हजार सात सय २४ मतभार ल्याए ।

गठबन्धनका दुई सांसद र पाँच प्रमुख–उपप्रमुखको मत क्रस: गण्डकीमा पाँच हजार सात सय ६८ मतभार रहेकामा एमालेको दुई हजार पाँच सय ३८ र गठबन्धनको तीन हजार तीन सय ३६ मतभार थियो । गठबन्धनका दुईजना सांसदले एमाले उम्मेदवारलाई मत दिएका छन् । एमालेसँग २७ सांसद रहेकोमा एमालेका दुई उम्मेदवारले २९–२९ सांसदको मत पाएका छन् । एक उम्मेदवारले भने २८ सांसदको मत पाएका छन् । गठबन्धनका एक सांसदले कुनै पनि उम्मेदवारलाई मत नदिएको पाइएको छ ।

संसद्मा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जसपाका दुई, जनमोर्चाका दुई र एक स्वतन्त्र सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ मन्त्रिपरिषद्कै सदस्य छन् । ६० सदस्यीय प्रदेश सभामा जनमोर्चाका एक सांसद निलम्बनमा परेसँगै अहिले ५९ सदस्यीय छ ।

८५ स्थानीय तहको एक सय ७० सिटमध्ये अध्यक्ष र उपाध्यक्ष, मेयर र उपमेयर गरी ७० जना एमाले जनप्रतिनिधि छन् । दुइजना उपप्रमुख राप्रपाले जितेको हो भने बाँकी गठबन्धनका प्रमुख–उपप्रमुख हुन् । त्यसमध्ये पनि एमालेका लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट अमेरिका छन् । उनको संख्या घटाउँदा एमालेसँग ६९ पदाधिकारी रहन्छन् । तर, राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेदवारलाई ७४ जनाले मत दिएका छन् ।

दुईजना उम्मेदवारलाई दुईजना स्थानीय तहका उम्मेदवारले मत दिएका छैनन् भने एमाले उम्मेदवार पौडेललाई ७५ जना स्थानीय तहका प्रमुख–उपप्रमुखले मत दिएका छन् । गठबन्धन दलका दुई सांसद र पाँचजना प्रमुख–उपप्रमुखले आफूहरूलाई मत दिएको एमाले सांसद धनञ्जय दवाडीले बताए । उनले राजनीतिक रूपमा आफूहरूको विजयी भएको बताए ।

गठबन्धनका दुई सांसदले एमाले उम्मेदवारलाई मत मत दिएको कांग्रेस सांसद प्रकाशचन्द्र दवाडीले स्विकारे । एक सांसद तटस्थ बसेको र यी विषयमा समीक्षा हुने उनले बताए । गठबन्धनका पाँचदेखि आठजना स्थानीय तहका प्रमुख–उपप्रमुखले पनि एमाले उम्मेदवारलाई मतदान गरेको उनले बताए ।

लुम्बिनीमा गठबन्धनका तीन उम्मेदवार विजयी:लुम्बिनीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणामअनुसार गठबन्धनअन्तर्गत कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राजमोका तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन् ।

महिलातर्फका उम्मेदवार गैरेले प्रदेशतर्फ २,१६० र स्थानीय तहतर्फ १,५८४ गरी ४,३७४ मत प्राप्त गरेकी थिइन् । अन्य समुदायका शर्माले प्रदेशतर्फ २,११२ र स्थानीय तहतर्फ २,२३२ गरी जम्मा ४,३४४ प्राप्त गरे । यस्तै, दलित समुदायका विश्वकर्माले प्रदेशतर्फ २,१६० र स्थानीयतर्फ २,१९६ गरी जम्मा ४,३५३ मत प्राप्त गरेर विजयी भएका हुन् ।

त्यस्तै, एमालेको तर्फबाट अन्य समुदायका दाङका रामदयाल गुप्ताले प्रदेशतर्फ १,७७६ र स्थानीयतर्फ १,६०२ गरी ३,३७८ मत प्राप्त गरे । महिलातर्फका बाँकेकी भारती खनाल उपाध्यायले प्रदेशतर्फ १,७२८ र स्थानीयतर्फ १,५८४ गरी ३,३१२ प्राप्त गरिन् । गुल्मीका कृष्ण सुनारले प्रदेशतर्फ १,७२८ र स्थानीय तहतर्फ १,६२० गरी जम्मा ३,३४८ मत प्राप्त गरेका थिए । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चारवर्षे कार्यकाल आगामी २० फागुनमा सकिँदै छ ।

कर्णालीमा गठबन्धनका तीन उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशमा पनि गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेसकी दुर्गा गुरुङ, एकीकृत समाजवादीका उदयबहादुर बोहरा र माओवादीका नरबहादुर विष्ट निर्वाचित भएका हुन् । कांग्रेसकी गुरुङले दुई हजार नौ सय ७०, एकीकृत समाजवादीका बोहराले तीन हजार ६ र नेकपा माओवादीका विष्टले तीन हजार ६ मतभार ल्याए ।

त्यस्तै, एमालेका तीनैजना उम्मेदवारले समान १,४१६ मतभार प्राप्त गरे । एमालेबाट चूडामणि शर्मा (सुर्खेत) अपांग, पदबहादुर माझी अन्य र गंगा थापा महत महिलाबाट राष्ट्रिय सभा पदका लागि उम्मेदवार रहेका थिए ।

तीन सिटका लागि कर्णालीमा भएको मतदानमा एक सय ९१ मतदातामध्ये एक ८९ जनाले मतदान गरे । प्रदेश सभा सदस्य एकजना र पालिकाका उपप्रमुख एकजना मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् । राप्रपाबाट निर्वाचित प्रदेश सभा सदस्य सोसिला शाही र कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली मतदानमा अनुपस्थित भए ।

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी: राष्ट्रिय सभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा एकीकृत समाजवादीका गरिमा शाह, दलितमा माओवादीका जगतबहादुर पार्की र अन्य समूहतर्फ सदस्यमा कांग्रेसका नारायणदत्त मिश्र निर्वाचित भएका हुन् ।

महिला सदस्यमा निर्वाचित शाहले प्रदेश सभा सदस्यको ३९ र स्थानीय तहका जनप्रतिनिधिको एक सय नौ मत गरी कुल तीन हजार आठ सय ३४ मतभार प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमारी शर्माले प्रदेश सभातर्फ १२ र स्थानीय तहतर्फ ६४ मतसहित एक हजार सात सय २८ मतभार प्राप्त गरिन् । प्रदेश सभाको एक र स्थानीय तहको दुई मत बदर भए ।

दलित सदस्यका उम्मेदवार पार्की प्रदेश सभातर्फ ३९ र स्थानीय तहतर्फ एक सय पाँच मतसहित कुल तीन हजार सात सय ६२ मतभारसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका नरेशकुमार विश्वकर्माले प्रदेश सभाको १२ र स्थानीय तहको ६७ मत गरी एक हजार सात सय ८२ मतभार प्राप्त गरे । दलित सदस्यमा प्रदेश सभाको एक र स्थानीय तहको तीन मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, अन्य समूहतर्फ सदस्यमा विजयी मिश्रले प्रदेश सभाको ३९ र स्थानीय तहको एक सय चार मतसहित तीन हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भट्टले प्रदेश सभाको १३ र स्थानीय तहको ६९ मतसहित एक हजार आठ सय ६६ मतभार प्राप्त गरे । स्थानीय तहका दुई मत बदर भए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिममा प्रदेश सभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख–उपप्रमुखसहित एक सय ७५ जना गरी कुल दुई सय २७ जना मतदाता रहेका थिए । शतप्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादीका १३, कांग्रेसका १२ र जसपाका एकजना सदस्य गरी सत्तागठबन्धनका ४० मत छन् । तर, गठबन्धनका तीनै उम्मेदवारले प्रदेश सभातर्फको ३९ मत मात्र पाए । महिला र दलित सदस्यतर्फ प्रदेश सभा सदस्यको एक–एक मत खाली भएपछि बदर भएको हो । प्रदेश सभामा एमालेका ११ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सदस्य छन् । प्रदेश सभातर्फ एमालेका दुईजना उम्मेदवारले १२ मत पाउँदा एकजनाले भने १३ मत पाए ।

८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक सय ७५ मतदाता रहेकोमा एमालेका ७१ मतदाता थिए । तर, केही जनप्रतिनिधि कानुनी रूपमा एमाले रहे पनि एकीकृत समाजवादीमा लागेका छन् । अहिले एमालेमा रहेका प्रमुख र उपप्रमुखको संख्या ६६ रहेको उक्त पार्टीले जनाएको छ । स्थानीय तहमा एमाले मतदाता संख्याअनुसार एमाले उम्मेदवार थापाले दुई मत कम पाउँदा भट्टले तीन मत बढी पाए ।

राष्ट्रिय सभा : ३१ बाट १७ सिटमा खुम्चियो एमाले, १५ सदस्यसहित माओवादी दोस्रो र १० सदस्यसहित कांग्रेस तेस्रो शक्ति: भदौयता एमालेले राष्ट्रिय सभामा १४ सिट गुमाएको छ । लगातार सदस्य गुमाए पनि एमाले राष्ट्रिय सभामा १७ सदस्यसहित अझै पहिलो शक्तिमा कायमै रहनेछ । गत ८ भदौसम्म राष्ट्रिय सभामा एमालेका ३१ सांसद थिए । तर, ९ भदौमा एमाले विभाजन हुँदा सात सांसद माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए ।

अहिले राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका २४ जना सांसद छन् । तर, आगामी २० फागुनबाट एमालेका सात सांसद घट्नेछन् । बुधबार १९ सिटका लागि भएको निर्वाचनमा एमालेले सात सिट गुमाएको छ । निर्वाचनमा एमालेले एक सिट मात्र जितेको छ, जब कि उसका आठ सांसद चारवर्षे कार्यकाल सकिएर २० फागुनबाट बिदा हुँदै छन् । ०७४ मा भएको निर्वाचनपछि राष्ट्रिय सभामा एमालेका सांसद २७ थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा त्यसवेला एमाले सबैभन्दा ठूलो शक्ति बनेको थियो ।

३ जेठ ०७५ मा १२ सिट भएको माओवादी र २७ सिट भएको एमालेबीच एकता भएपछि राष्ट्रिय सभामा नेकपाका ३९ सांसद बनेका थिए । ०७६ मा दुईवर्षे कार्यकाल सकिएर १९ जना सांसद बिदा भए ।

दुईवर्षे कार्यकाल सकिनेमध्ये एकजना मनोनीत थिए, बाँकी १८ सिटका लागि ०७६ माघमा निर्वाचन हुँदा नेकपालाई फाइदा र कांग्रेसलाई धक्का भयो । निर्वाचनमा नेकपाले १६ सिट जित्यो । अर्कातिर, एमालेका आठ सांसद दुईवर्षे कार्यकाल पूरा गरी बिदा भए । त्यसपछि पनि राष्ट्रिय सभामा नेकपाका ४७ सांसद थिए ।

२३ फागुन ०७७ मा सर्वोच्च अदालतको आदेशले एमाले र माओवादीबीचको एकता भंग भयो । एमाले र माओवादी पार्टी एकतापूर्वकै अवस्थामा फर्किए । त्यसवेला राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका ३१ र उपाध्यक्षसहित माओवादीका १६ सांसद थिए ।

२० फागुनपछि राष्ट्रिय सभामा १५ सांसदसहित माओवादी दोस्रो शक्ति हुनेछ । यसबाहेक १० सांसदसहित कांग्रेस तेस्रो र आठ सांसदसहित एकीकृत समाजवादी राष्ट्रिय सभाको चौथो शक्ति रहनेछ । यसबाहेक राष्ट्रिय सभामा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनीत तीनजना रहनेछन् ।

मनोनीतमध्ये एक रामनारायण बिडारीको कार्यकाल २० फागुनबाट सकिँदै छ । उनी माओवादीनिकट छन् । उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे गठबन्धनले केही बताएको छैन ।

प्रतिक्रिया