आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विमानको पाङ्ग्रामा लुकेर यात्रा गर्ने व्यक्ति जीवितै फेला, प्रहरी समेत चकित

प्रकाशित
1.2K
SHARES

एजेन्सी। दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ।

सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको ठानिएको छ।

लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ। आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ।

प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागिनसकेको बताएको छ। ती व्यक्ति उक्त विमानको नोज ह्वील भएको भागमा जीवित फेला परे र उनलाई स्थिर अवस्थामै अस्पताल लगियो।

प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचारसंस्था एएफपीलाई बताइन्। ती व्यक्ति अझै जीवित हुनु अद्भुत कुरा हो, उनले भनिन्। विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ।

डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए।

कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्।

आइतवार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटामा देखिन्छ।तर ती व्यक्ति दक्षिण अफ्रिकाबाटै कि केन्याबाट उक्त विमानमा त्यसरी लुकेका हुन् भन्ने थाहा हुन सकेको छैन।

तेस्तै, अमेरिकाको डेन्भर सहरमा आकाशमा उडिरहेको एउटा बोइङ जेटबाट बिग्रिएको इन्जिनका भग्नावशेषहरू आवासीय क्षेत्रमा खसेका छन्। उड्नेबित्तिकै उक्त विमानको एउटा इन्जिन बिग्रिएको थियो।

तर दुई सय ३१ जना यात्रु र चालकदलका १० सदस्यसहित उडेको बोइङ ७७७ विमान सुरक्षित रूपमा डेन्भर विमानस्थलमा अवतरण गर्न सफल भएको थियो। कोही घाइते भएका खबर छैन।

ब्रूमफील्ड सहरको प्रहरीले सार्वजनिक गरेका तस्बिरमा एउटा घरको बगैँचामा इन्जिनको टुक्रा खसेको देखिन्छ। विमानमा रहेका यात्रुहरूले उडेको केही बेरमा एउटा ‘ठूलो विस्फोटन’ आफूहरूले सुनेको बताएका छन्।

यूनाइटेड एअरलाइन्सको उक्त विमान होनोलुलुतर्फ जाने क्रममा दायाँतर्फको इन्जिनमा समस्या देखिएको अमेरिकाको सङ्घीय उड्डयन निकाय एफएएले जनाएको छ।

विमानमा रहेका एक यात्रुले एपी समाचारसंस्थालाई बताएअनुसार विस्फोटनका बेला विमानचालकले एउटा सूचना दिइरहेका थिए।डेभिड डेलुसियाले भने, विमान डरलाग्दो गरी हल्लिन थाल्यो र हामीले उचाइ गुमाउन थाल्यौँ अनि हामी तल झर्न थाल्यौँ।

तल खसेर दुर्घटना भइहाल्यो भने आफ्नो पहिचान हुन सकोस् भनेर आफू र आफ्नी पत्नीले गोजीमा पर्स राखेको उनले सुनाए। अनलाइनमा सार्वजनिक गरिएका तस्बिरमा इन्जिनबाट धुँवा आएको देखिन्छ।

विमानभित्रबाट खिचिएको अर्को एउटा भिडिओमा इन्जिनमा आगो लागेको र त्यसलाई ढाक्ने खोल उडेको देखिन्छ। उक्त घटना स्थानीय समयानुसार शनिवार दिउँसो १ बजेभन्दा केही बेरपछि भएको हो।

ब्रूमफील्ड प्रहरीले स्थानीय बासिन्दाहरूलाई भग्नावशेषहरू नछुन भनेको छ।  एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाबारे एउटा अनुसन्धान गर्दैछन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ