आज : गते

ताजा शिर्षकहरु

एमाले पत्तासाफ हुने भएपछि राप्रपा र विवेकशील गुहार्दै ओली

प्रकाशित
559
SHARES

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला सत्तारूढ गठबन्धन तोड्न निकै प्रयासरत देखिन्छन्। तर विगत ६ महिनादेखिको उनको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीचको सत्तारूढ गठबन्धन तोड्न यतिबेला ओलीलाई फलामको चिउरा चपाउनुसरह भएको छ।

गठबन्धन मिलेरै चुनावमा गए एमालेले प्रत्यक्षमा ५ देखि ८ सीटसम्म ल्याउन सक्ने गोप्य सर्वेक्षण पनि यतिबेला ओलीको अगाडि छ। देशमा चुनावी माहोल शुरू भइसकेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा शुक्रवार सम्बोधन गर्दै सम्बन्धित निकायलाई निर्वाचनका लागि तयारी गर्न निर्देशन दिइसकेका छन्। सत्तारूढ गठबन्धनमा रहेका दलहरू मिलेरै चुनाव लड्ने स्थितिमा पुगे भने एमाले सानो दल बन्नेछ।

हक्की, कसैलाई नटेर्ने र एमालेको ‘वान मेन आर्मी’का रूपमा रहेका ओलीले यदि सत्तारूढ गठबन्धन तोड्न सकेनन भने पराजयको जिम्मेवारी एक्लै लिनुपर्नेछ । यसको संकेत एमालेमा पछिल्लो पटक देखिएको शक्तिसंघर्षले समेत देखाइसकेको छ।

प्रतिनिधि सभाको दोस्रो विघटन जेठ सात गते मध्यराति पछि अहिलेको सत्तारूढ गठबन्धनले प्रष्ट आकार लिएको हो। असार २८ गते सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ला भन्ने ओलीले सोचेका थिएनन।

केन्द्रमा गठबन्धनको सरकार बनेसँगै ४ वटै प्रदेशमा एमाले नेतृत्वको सरकार हट्यो। आसन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि ओली नेतृत्वको एमालेले बल्ड्याङ खाने निश्चित छ। एमालेसँग कुनै पनि प्रदेशमा गठबन्धनलाई जित्न सक्ने मत छैन।

सर्वोच्च अदालतबाट परमादेश आउला भन्ने कुनै संकेत नपाएका ओली त्यसयताको रणनीति बनाउन चुकेका छन्। गठबन्धन तोड्ने उनका प्रयासहरू फितलो सावित हुँदैछन्।

ओलीसँग राप्रपा र लोसपासँग गठबन्धन गरेर निर्वाचनमा जाने सुविधा छ तर त्यतिले एमालेको अहिले कायम रहेको संसदीय शक्ति कायमै रहने अवस्था छैन। प्रतिनिधि सभाको पहिलो विघटन (२०७७ पुस ५) गतेदेखि दोस्रो विघटनसम्म ओलीले कांग्रेसलाई कहीं न कहीं इन्गेज गरिरहेका थिए ।

प्रचण्ड देउवा र नेपालबीचको कसिलो गठबन्धन बन्न पाएको थिएन। तर आफूले छोड्नुपरे कुर्ची नै भाँच्ने धम्की दिएका ओलीका सामू गठबन्धन बनेरै छाड्यो । त्यसैले उनलाई हावाकावा खुवाएको छ।

गठबन्धन तोड्नकै लागि ओलीले अमेरिकी सहायता परियोजना अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा कांग्रेससँग सहकार्य गर्ने तुरूप फ्याँके। ओलीको यो प्रस्तावलाई देउवाले सहजै मान्न तयार भएनन्।

गठबन्धन तोडिन्छ कि भनेरै ओलीले संसदमा अवरोध कायमै राख्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले अवरोध कायमै राखे यही वैशाख या जेठमा संसदीय निर्वाचन गर्ने भनी राखेको प्रस्तावले एमाले हच्किएको छ।

ओलीको यो प्रयास पनि सफल भएन। एमालेनिकट स्रोतका अनुसार ओली अहिलेपनि जतिसक्दो छिटो चुनाव भइदिए हुन्थ्यो भन्ने पक्षमै छन्। तर प्रचण्डको प्रस्ताव रणनीतिक हिसाबले आएकाले त्यसको विरोध गर्नैपर्ने बाध्यतामा एमाले छ।

छिटो चुनाव भइदिए एमाले विभाजन भएर बनेको नेकपा एसले चुनावी तयारी गर्न नभ्याउने र माओवादी केन्द्रको पनि सांगठानिक काम बाँकी नै रहेकाले केही सीट भए पनि बढी आउन सक्ने ओलीको आंकलन छ।

तर प्रचण्डले रणनीतिक हिसाबले स्थानीय तह भन्दा पहिला संसदको निर्वाचन गर्न राखेको प्रस्ताव ओलीलाई मन परेको छैन। कारण हो, प्रचण्डले नेकपा एस र कांग्रेससँग चुनावी गठबन्धनका लागि तयारी थालिसकेका छन्।

एमालेको पकड भएका क्षेत्रहरूमा पाँच दलीय गठबन्धन गरेर चुनाव गर्ने र बाँकीमा नेकपा एस र जसपालाई सँगै लिएर जाने तयारी प्रचण्डले थालेका छन्। प्रचण्डको यो योजना बुझेका ओलीले पहिला स्थानीय निकायको निर्वाचन गर्नुपर्ने दलील त राखेका छन्।

तर स्थानीय निकायमा पनि गठबन्धन सँगै मिलेर लड्यो भने ओलीले लज्जास्पद पराजय भोग्नुपर्ने छ। चुनावी तालमेलबारे सत्तारूढ गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनपछि धारणा बनाउने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्।

चारैतिरबाट एक्लिँदै गएका ओलीसँग चुनावमा जानेबारे निकै कम विकल्प रहेका छन्। पछिल्लो समय कन्जरभेटिभ फोर्स जस्तै राप्रपा, विवेकशील साझा लगायतका शक्तिहरूसँग मिलेर अघि बढ्नुपर्ने धारणा पनि एमालेभित्र सुनिन थालेको छ।

प्रतिक्रिया