आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कति शक्तिशाली छ चिनियाँ सेना ? यस्तो रहस्य खुलेपछि भारत र अमेरिका थर्कमान

प्रकाशित
2.7K
SHARES

एजेन्सी। ताइवान नजिक घुसपैठ गरिरहेको र हाइपरसोनिक हतियारहरू परीक्षण गरिरहेको रिपोर्ट सार्वजनिक भइरहेका बेला चिनियाँ सेनाको आधुनिकीकरण र अत्याधुनिक हतियारहरू निर्माण गर्ने उनको प्रयासबारे विश्वको ध्यान आकर्षित छ ।

कुनै समय कम्युनिष्ट पार्टीले आफ्ना दुस्मनहरूलाई लडाकु र राइफलकै भरमा परास्त गरेको बताउँथ्यो, तर अहिले जनमुक्ति सेना विश्वकै ठुलो लडाकु दस्ता बनिसकेको छ । यस सेनामा २० लाख सक्रिय सदस्यहरू छन् ।

सी जिनपिङको नेतृत्वमा चीन कूटनीतिक रूपमा थप आक्रामक देखिएको छ । उसले विवादित भूमि कब्जा गर्ने आफ्नो चाहना दर्साउन र आफ्नो दाबीलाई मलजल पुर्‍याउन आफ्नो सैन्य शक्ति प्रदर्शन पनि गरिरहेको छ ।

छिमेकी देशहरु तथा अमेरिकाले यी गतिविधिहरूलाई नजिकबाट नियालेका छन् । ‘दक्षिण चीन सागरमा सम्भावित चीन–अमेरिका द्वन्द्वबारे आवाज त्यसै चर्को हुँदै गएको होइन, यस पछाडिको कारण अमेरिकाले अब चीनलाई बराबर रूपमा हेर्छ भन्ने हो ।

चीनको बढ्दो सैन्य शक्तिका कारण यस्तो भएको छ,’ बेइजिङका विश्लेषक यिन दोङग्युले भने,‘ र, पहिलेदेखि नै बढ्दो अवस्थामा रहेको चिनियाँ सैन्य ताकतका लागि यो राम्रो सङ्केत हो ।’

पछिल्ला महिना अमेरिका र उसका सहयोगी राष्ट्रका जल सेनाहरूले साउथ चाइना सी र ताइवानको घाँटीसहित एशिया प्यासेफिक जल क्षेत्रमा निरन्तर जहाज खियाएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय जलमा पारवहन अधिकार दाबी गर्नका लागि यस्तो गरेका हुन् ।

गत अक्टोबरमा अमेरिका, बेलायत र अस्ट्रेलियाले एयुकेयुएस नामक नयाँ सुरक्षा गठबन्धनको घोषणा गरे । यस गठबन्धनको सदस्य अस्ट्रेलियाले अमेरिकाबाट आणविक शक्तियुक्त जहाजहरू ल्याउन पाउनेछ । अमेरिकाले ताइवानमा पनि आफ्नो हतियार बिक्रीलाई बढाएको छ।

उसले आफ्नो सैन्य क्षमतालाई आधुनिकीकरण गरिरहेको छ। बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमण रोक्नका लागि तथाकथित ‘असीमित युद्ध क्षमता’ विकास गरिरहेको दाबी गरेको छ, जबकि ताइवानलाई बेइजिङले आफ्नै भूभाग ठान्छ।

राष्ट्रपति त्साई इंग वेनले ताइवानलाई अमेरिकाले एक वर्षभन्दा लामो समयदेखि विशेष सैन्य तालिम दिइरहेको पुष्टि यसै साता गरेका थिए । ‘चीन र अमेरिकाबीच ताइवान वा दक्षिण चीन सागरलाई लिएर युद्ध होला भन्ने विषय अन्योलमा छ । तर, चीनको बढ्दो सेनालाई हेर्ने हो भने कोही पनि यस्तो युद्ध चाहँदैन,’ यिनले भने ।

जलसेनाको बिस्तार: क्षेत्रीय प्रभुत्व कायम गर्ने मामिलामा जनमुक्ति सेनाको जमिनी दस्ता परम्परादेखि नै चीनको आधार बनेको छ। भर्खरै हिमालय सीमा क्षेत्रमा भारतविरुद्ध आमने सामने हुँदा जनमुक्ति सेना नै अघि देखियो।

पेन्टागन चाइना मिलिटरी पावर रिपोर्टका अनुसार जनमुक्ति सेनामा ९ लाख १५ हजार सक्रिय सैनिक छन्। जबकि, अमेरिकासँग ४ लाख ८६ हजार सक्रिय सैनिकमात्रै छन्। त्यसैगरी, चिनियाँ सेनाले अत्याधुनिक हतियार पनि भण्डारण गरिरहेको छ।

सन् २०१८ मा चीनको राष्ट्रिय दिवसमा सैन्य परेडका दौरान डीएफ–४१ अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल सार्वजनिक गरिएको थियो । यस हतियारले विश्वको कुनै पनि कुनामा मार हान्नसक्ने विज्ञहरूको दाबी छ । तर, डीएफ–१७ हाइपरसोनिक मिसाइलले धेरै जनताको ध्यान आकृष्ट गरेको छ।

यस वर्ष चीनले दुईपटक हाइपरसोनिक हतियार परीक्षण गरेको कुरा बाहिरिएको थियो । जुलाईमा एक पटक र अगस्टमा एक पटक चीनले हतियार परीक्षण गरेको कुरा सार्वजनिक भएको थियो । अमेरिकी सेनाका एक शीर्ष जनरलले यस ब्रेक थ्रुलाई ‘स्पुतनिक मुभमेन्ट’ भनेर वर्णन गरे।

उनले १९५७ मा सोभियत युनियनले स्याटेलाईट लन्च गरेको घटनातर्फ सङ्केत गरेका हुन्, यसपछि अन्तरिक्ष दौड सुरु भएको थियो। दक्षिण चीन सागरको मुद्दा केन्द्रमा रहेका बेला चीनले यसतर्फ विशेष ध्यान राखेको छ । ताइवान, फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाईले दक्षिण चीन सागरमा आफ्नो पनि अधिकार रहेको दाबी गर्दै आएका छन् । जबकि, यो सागरमा आफ्नो मात्रै अधिकार रहने चीनको दाबी छ।

चीनको सुरक्षा श्वेतपत्रअनुसार अहिलेको अवस्थामा पिपुल्स लिबरेसन आर्मी नेभी (पिएलएएन) विश्वकै सबैभन्दा ठुलो जलसेना हो । यस जलसेनाका सव–मारिन्सहरुसँग आणविक मिसाईल्सहरु लन्च गर्नसक्ने सामथ्र्य छ । जलसेनालाई सहयोग गर्ने गरी चीन सरकारको लगानीमा तथाकथित ‘मेरीटाइम मिलिसिया’ नामक दस्ता पनि तयार गरिएको छ ।

लिट्टिल ब्लु म्यान’ समेत भनेर चिनिने यस दस्ताका सदस्यहरू दक्षिण चीन सागरमा सक्रिय छन् । जल क्षेत्रको रक्षा र गस्तीका लागि बसेका यस वर्ष यी लडाकुहरूलाई विदेशी जहाजमाथि फायर खोल्न सक्ने अधिकार यसै वर्ष बेइजिङले दिएको छ । ‘नयाँ अत्याधुनिक हतियारहरू जम्मा गरेसँगै चीनको सैन्य तागत महत्त्वपूर्ण रूपमा बढेको छ । विशेष गरी जलसेना निकै सुदृढ छ,’ यीनले भने ।

चीनको हवाई दस्ता पनि कम छैन । यहाँको हवाई दस्ता एशिया–प्यासिफिक क्षेत्रको सबैभन्दा ठुलो र विश्वको तेस्रो ठुलो हो । गत वर्ष अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख भएअनुसार चिनियाँ सेनासँग २५ सय विमान र झन्डै २ हजार युद्ध विमान छन् ।

विशेष गरी एयरफोर्सले अहिले चीनको अत्याधुनिक युद्धविमान जे–२० सहितका अत्याधुनिक फाइटर जेटहरूको लस्कर प्रदर्शन गरेको थियो । जे–२० अमेरिकामा बनेको एफ–२२ सँग प्रतिस्पर्धा गर्ने गरी बनाइएको हो ।

वैश्विक रूपमा, चीनले अन्य देशमा हतियार निर्यात गर्ने कामलाई पनि तीव्रता दिइरहेको छ । क्षेत्रीय प्रतिस्पर्धाबीच विभिन्न देशहरुसँग मित्रतापूर्ण सम्बन्ध राख्ने लक्ष्य उसको छ । स्टकहोल्म अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार चीनले गएको दशक अधिकतर रूपमा पाकिस्तान, बंगलादेश र अल्जेरियामा हतियार निर्यात गरेको थियो ।

यही समय चीन विश्वमा ड्रोन निर्यात गर्ने अग्रणदी देश पनि बनेको छ । युएई र साउदी अरेबियासहितका देशले चीनबाट ड्रोनहरु खरिद गर्ने गरेको एसआईपिआरआई नामक संस्थाले जनाएको छ । ‘खाडी राष्ट्रमा ठुलो संख्यामा ड्रोनहरु चीनले निर्यात गरिरहेको तपाईले देख्न सक्नुहुन्छ।

किनकि अमेरिकी संसद्ले मानवअधिकारको कारण देखाएर धेरै देशमा ड्रोन निर्यात गर्न प्रतिबन्ध लगाएको छ। चीनले त्यो रिक्तता पुर्दैछ,’ यीनले भने ।तर हतियार निर्यात र लगातार बढ्दो सैन्य ताकतसँगै चीनको अस्पष्ट कमाण्ड प्रणाली, भ्रष्टाचार र भर्तीको गुणस्तरमा पनि प्रश्न उठेको छ ।

नातावाद र कृपावादको परम्पराबाट भ्रष्टाचार ठुलो रूपमा फैलिएको छ । र, फराकिलो दृष्टिको अभाव हुँदा सैन्य भर्तीमा समस्या देखिएको छ । किनकि, चिनियाँ सेनाले चाहने युवा र राम्रो शैक्षिक योग्यता भएकाहरू उदीयमान निजी क्षेत्रको जागिरतर्फ धेरै आकर्षित भएका छन् ।

हरेक प्रान्तलाई वार्षिक रूपमा भर्ती कोटा तोकिन्छ र भर्ती भएका हरेकले दुई वर्षको सैन्य सेवा पूरा गर्नुपर्छ । कोरोना भाइरसका कारण भएको ढिलाइपछि सेनाले भर्ती र अभ्यासलाई यस वर्ष एकपटकबाट बढाएर दुईपटक गरेको छ । जसकारण, दोस्रो रोजाईमा रहेकाहरुले पनि भर्ती हुने मौका पाएका छ ।

र, पछिल्ला वर्ष धेरै अत्याधुनिक हतियारहरू जम्मा गरेपनि पिएलएसँग ठुलो संख्यामा पुराना र आउटडेटेड उपकरणहरू पनि छन् ।विश्वलेषकहरुका अनुसार केही हतियार २० वर्षअघि नै विघटन भइसकेको पूर्व सोभियत युनियनको प्रविधिमा आधारित छन् । उदाहरणका लागि चिनियाँ जलसेनासँग अमेरिकाभन्दा धेरै जहाजहरू जहाजहरू छन्।

यहाँ कुल ३६० वटा जहाज छन् । तर अमेरिकाको दाँजोमा चीनसँग भएका जहाजहरू सानो छन् । त्यसैगरी चीनसँग ठूला दुई एयरक्राफ्ट क्यारियरमात्रै छ । तेस्रो एयरक्राफ्ट क्यारियर टाइप ००३ निर्माणाधिन अवस्थामै छ । जबकि, अमेरिकासँग विश्वमै सबैभन्दा धेरै ११ वटा एयरक्रफ्ट क्यारियर छन्।

२०१८ मा प्रकाशित रान्ड कर्पोरेशनको रिपोर्टअनुसार चिनियाँ सेनासँग नयाँ विकसित हतियार चलाउने अभ्यासको पनि कमी छ। यसकारण एकैपटक विभिन्न दस्ताले सैन्य लक्ष्य हासिल गर्ने गरी जुन संयोजित काम गर्नुपर्ने हो, त्यो प्रभावित हुनसक्छ।

‘भ्रष्टाचार र आउटडेटेड कमान्ड संरचनाले सेनामा निकै खराब प्रभाव छाडेको छ,’ बेइजिङस्थित सैन्य विश्लेषक सी याङले भने ,‘ठुलो सङ्ख्याका आउटडेटेड हतियारले चिनियाँ सेनाको लडाकु क्षमतालाई पनि सीमित गरिदिएको छ।

अमेरिकाबाट सिक्नुपर्ने पाठ: केही विश्लेषकहरुका अनुसार जनमुक्ति सेनासँग विद्यमान लडाँइको अनुभव कम छ। ‘पछिल्लोपटक ठुलो युद्धमा चीन संलग्न भएको १९७९ मा हो र त्यो भियतनाममा थियो,’ सीले भने,‘वास्तविक युद्ध नलडेसम्म जनमुक्तिमाथि जो अपेक्षा गरिएको छ, त्यो पूरा नहुन सक्छ भन्ने केहीको तर्क छ।

सेनाका युनिटहरूले वास्तविक युद्धको झल्को दिनेगरी विभिन्न अभ्यासहरू गर्ने गरेका छन् । यसै महिनाको सुरुवातमा चीनले ताइवान नजिक आफ्नो सैन्य अवस्था बढाएको थियो। त्यसैगरी ताइवानको एयर डिफेन्स क्षेत्रमा उसका लडाकु विमानहरूले घुसपैठ गरेका थिए।

यही समय सेनाले दक्षिण पूर्वी फुजियान प्रान्तमा जमिनी अभ्यास पनि गरेको थियो। यद्यपी, केही विज्ञहरूको तर्क चिनियाँ सेनाको शक्तिमा वास्तविक युद्धको अनुभवले फरक नपार्ने छ। ‘आधुनिक युद्धमा चिनियाँ सेनाको सैन्य शक्ति मुख्यतया प्रविधिमा आधारित छ र यो सही दिशातर्फ छ,’ सीले भने।

राष्ट्रपति सी जिनपिङले सेनामा सुधार ल्याउनका लागि धेरै कदमहरु चालेका छन् । उनले अमेरिकाको जस्तै नयाँ सैन्य संरचना लागु गरेका छन्। यसअन्तर्गत केन्द्रीय सैन्य आयोगले धेरैजसो कुराको प्रत्यक्ष नेतृत्व लिन्छ । यस आयोगको अध्यक्ष राष्ट्रपति सी आफैं छ।

यस सुधारअन्तर्गत २०१६ मा देशभर पाँचवटा भौगोलिक क्षेत्रमा थियटर कमाण्ड स्थापना गरिएको थियो । जमिनी सेना, जलसेना र एयरफोर्स डिभिजनले हरेक इलाकामा यस्ता थियटर कमाण्डलाई सिधैं रिपोर्ट दिने गरेका छ । जनमुक्ति सेनाको अपरेशन थप प्रभावकारी रूपमा संयोजित छ भन्ने सुनिश्चित गर्न यस्तो गरिएको हो ।

सीको राष्ट्रपति कालमा भ्रस्टाचारविरुद्धको लडाइँ सधैँ कोशेढुंगा साबित हुँदै आएको छ। सेनामा घुस लिएको र अन्य भ्रष्टाचार गरेको अभियोग लागेका सयौं अधिकारीहरू बर्खास्तीमा परेका छन्। सीको कार्यकालमा चिनको रक्षा बजेट पनि बढ्दैछ। २०२१ मा यो बजेट झन्डै २ सय ९ दशमलव १६ बिलियन अमेरिकी डलर पुग्यो, जो २०२० को दाँजोमा ६ दशमलव ८ प्रतिशतले बढी हो।

अमेरिकाको दाँजोमा भने यो कमै हो। अमेरिकाले २०२१ मा ७ सय ५ दशमलव ३९ बिलियन डलर रक्षा प्रयोजनका लागि छुट्टयाएको छ। यस क्षेत्रमा धेरै देशहरूले चीनलाई चुनौतीका रूपमा हेरेका छन्। र, अमेरिका पनि ती देशहरूको समूहमा छ।

चिनियाँ सेनाको बढ्दो तागत देखेका अन्य देशहरूले प्रतिस्पर्धाका लागि अमेरिकी सेनाको खुला वा गोप्य सहयोग लिइरहेका छन्, यीन डोन्ग्युले भने,‘आफ्नो दाबी रहेका सीमाहरूमा चीनले निकै आक्रामक रवैया देखाइरहेको छ। यो सैन्य दौड चाडै सकिन्छ जस्तो मलाई लाग्दैन।

प्रतिक्रिया