आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लव नेकपाले अपहरण गरेको नाटक गर्ने बैतडीका शिक्षक हत्या गरी फरार भएको खुलासा

प्रकाशित
2K
SHARES

बैतडी। आफूलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेर राप्ती किनारको सौचालयमा थुनेको नाटक गरेर उद्धारका लागि प्रहरीसँग याचना गर्ने बैतडीका एक जना शिक्षक आफै एक जना स्थानीयको हत्या गरी भागेको खुलासा भएको छ ।

सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थीलाई ढुंगाले किचेर हत्या गरि नजिकैको ओढारमा गाडेर भाग्नका लागि २३ वर्षका शिक्षक हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट शिक्षक हरिशले नै डम्मरको हत्या गरेर ओडारमा गाडेको भनेपछि प्रहरीले खनेर शव सडेको अवस्थामा निकालेको छ । डम्मर गत मंसिर १४ गते घरबाटै सम्पर्कविहीन भएका थिए । उनका परिवारले खोजतलास सबै तिर गरे पनि फेला नपारेपछि पुस १ गते प्रहरीसमक्ष खोजीका लागि जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीले त्यसपछि उनको थप खोजी सुरू गरेको थियो । बेपत्ता रहेका डम्मरको अन्तिम सम्पर्क हरिशसँग भएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न खोजेको थियो तर उनि पनि हराएर अपहरणको नाटक गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बोधराज ओझाले प्रारम्भिक अनुसन्धानबाट हरिशले हत्या गरेको खुलेको बताए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए । तर हत्या के कारणले गरिएको भन्नेबारे अझै पनि केही नखुलेको बताए ।

पक्राउ परेका शिक्षक हरिशले आफूलाई मंसिर २३ गते विप्लवका कार्यकर्ताले अपहरण गरी राप्ती नदीमा मार्नका लागि धकेलेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । उनले शौचालयमा आफुलाई नग्न बनाई यातना दिएको भन्दै प्रहरीलाई उद्धारका लागि याचना गरेका थिए ।

स्टाटस आए लगत्तै प्रहरीले उनको उद्धार गरेको थियो । त्यतिबेला हत्या आरोपी हरिशले फेसबुकमा लेखेको स्टाटस र प्रहरीले गरेको कार्यको सवत्र प्रशंसा भएको थियो । त्यस लगत्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बैतडीले प्रेस विज्ञप्तिमार्फत् उनको अपहरण नगरेको र झुठो कुरा सामाजिक सञ्जालमा लेखेको भन्दै कारबाहीका लागि प्रहरीसँग माग गरेको थियो ।

अपहरणको नाटक प्रहरीको गुहार मागेका अवस्थीलाई पुस २३ गते शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रहरीले भेरी अस्पताल पुर्याएर उपचारपछि हिरासतमा राखेको थियो ।

त्यतिबेला हरिश अवस्थीले बैतडीबाट आफूलाई केही युवाहरूले पुस २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको प्रहरीसंग बताएका थिए । आफु अपहरमा परेको र प्रहरीलाई उद्धारका लागि याचना गरेका हरिश आफुले नै एक युवाको हत्या गरेको भनेपछि प्रहरी नै चकित परेको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ