आज : गते

ताजा शिर्षकहरु

एनआइसी एसिया बैंकको पैसा लुटपाट गर्ने मुख्य योजनाकार पक्राउ

प्रकाशित
773
SHARES

काठमाडौ। बानेश्वरस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा गत आइतबार फिल्मी शैलीमा डकैत भयो। रकम लिएर फरार डकैत समूहका एक सदस्य गाउँ पुगेर खुसी मनाउन गाउँलेलाई पार्टीसमेत दिएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काँडाघारीका २७ वर्षीय प्रदीप खत्री बानेश्वरकै एनआइसी एसिया बैंकको शाखा कार्यालयमा कलेक्टरको भूमिकामा कार्यरत थिए ।

उनको काम तोकेका ठाउँ जानु र भनिएको रकम लिएर बैंकको खातामा जम्मा गर्नु थियो। उनीसँग सधैँ लाखौँ रुपैयाँ हुने गर्थ्यो । केही महिना उनले मन लगाएर काम गरे।

जब बैंक म्यानेजरको विश्वास जित्दै गए, तब उनमा लोभलालच बढ्दै गयो। फिल्मी शैलीमा रकम लुट्ने योजना बनाए । आफ्नो योजना उनले नजिकको साथी शक्तिराज पौडेललाई सुनाए ।

लामो समयदेखि बेरोजगार शक्तिराज उनको योजनामा मख्ख परे । अनि दुवैको सहमतिअनुसार टिममा विमल तामाङ र अनिश खड्का सामेल भए । पैसा लुट्न उनीहरूले मोटरसाइकलदेखि आवश्यक अन्य बन्दोबस्तीका सामग्री जुटाए ।

पैसा धेरै संकलन हुने सूचना सुरुमै साथीलाई: १८ पुसमा अन्य दिनको भन्दा धेरै रकम जम्मा हुने सूचना प्रदीपले कार्यालय पुग्दानपुग्दै पाइसकेका थिए । जसको सूचना उनले तत्कालै समूहका अन्य सदस्यलाई दिए।

योजनाअनुसार प्रदीप रकम संकलन गर्न कार्यालयबाट हिँडे। उनका साथीहरू भने बानेश्वरस्थित बैंकको कार्यालयमा ढुकेर बसे। जब उनी काठमाडौं महानगरपालिका–१० को वडा कार्यालयबाट १२ लाख ४५ हजार।

तेस्तै, मेटलाइफ इन्स्योरेन्सबाट तीन लाख ७५ हजार चार सय २४ रुपैयाँ लिएर बैंकको बानेश्वर शाखा पुगे, ढुकेर बसेका टिमका तीन भाइले रकम राखिएको झोला लुटेर फरार भए। प्रदीप भने रकम ‘डकैत भयो।

भन्दै बैंक प्रशासनको ध्यान तान्नतर्फ केन्द्रित भए। दिनभरजसो उनले बैंक प्रशासनलाई यत्तिकै अल्मल्याए । जब टिमका सबै सदस्य सकुशल फरार भएको संकेत पाए, अनि मात्रै घटनाबारे प्रहरीलाई जानकारी दिन उनी राजी भए ।

अनुसन्धानमा संलग्न काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले भने, रकम लुटिएको अपराह्नतिर रहेछ। हामीकहाँ खबर आइपुग्यो, साँझको ४ बजेतिर । घटनास्थलमा प्रहरी पुगेपछि मात्र खुल्यो।

लुटिएँ भन्ने प्रदीप नै घटनाका मुख्य योजनाकार रहेछन्। उनकै कारण घटनाबारे प्रहरीमा ढिलो जानकारी आएको खुलेको छ। प्रदीपको झोलामा १६ लाख ३० हजार चार सय २४ रुपैयाँ थियो।

सोही झोला लिएर टिमका सदस्य शक्तिराज, विमल र अनिश फरार भएका थिए। सुरक्षित भएको महसुसपछि लुटिएको रकम आपसमा बाटोमै बाँडे। जसमध्ये विमलले आफूले पाएको रकमबाट रासन र कोठाको भाडा तिरे।

शक्तिराज भने अर्का लुटेरा अनिशसँगै मोटरसाइकलमा रामेछाप नपा–२ देउराली पुगे। योजना सफल भएकोमा उनीहरूले टोल छिमेकका साथी जम्मा गरेर पार्टी नै दिए।

काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीका अनुसार शक्तिराजले भागमा परेको ६ लाख ३० हजार चार सय २४ रुपैयाँमध्ये दुई लाख १२ हजार चार सय २४ रुपैयाँ पार्टीमा सकेका थिए । लुटिएको रकम आपसमा बाँडेछन्।

जसमध्ये शक्तिराज र अनिश रामेछापका हुन्। मोटरसाइकलमा गाउँ पुगेका उनीहरूले लुटिएको रकमले साथीलाई पार्टी दिएछन्, उनले भने। प्रहरीका अनुसार लुटिएकोमध्ये १३ लाख ४६ हजार रुपैयाँ बरामद भएको छ।

जसमध्ये दुई लाख ८४ हजार चार सय २४ रुपैयाँ भने लुटेराले खर्च गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यो घटना देखेर प्रहरी समेत चकित भएको छ।

प्रतिक्रिया