आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नारायणहिटीमा रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

प्रकाशित
569
SHARES

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरिएको छ।

आज गठन गरिएको उक्त समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा समितिको सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहनुभएको छ।

दरबार सङ्ग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको मन्त्री आलेले जानकारी दिनुभयो।

मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई यही पुस २० गते निर्देशन दिनुभएको थियो।

मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिइसकेको छ। समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा,

रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो। पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार आएपछि चौतर्फी आलोचना भएको थियो।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा।आरजु राणा देउवाले बतास समूहमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेकी छन्। बिहीबार प्रेस नोट सार्वजनिक गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेकी हुन्।

सञ्चारमाध्यमहरूमा विभिन्न संघसंस्थामा मेरो संलग्नता भएको भनेर समाचारहरू आएकोमा मेरो ध्यानाकर्ष भएको छ, आरजुले भनेकी छन्।उनले ग्रामीण महिला विकास तथा एकेता केन्द्र ९रुडुक० नेपालमा संस्थापक अध्यक्ष तथा सल्लाहकार,

साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष तथा सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक एवं वर्तमान अध्यक्ष, नामीको अध्यक्ष, युलियन्स स्कुलको अध्यक्ष तथा ब्लड डोनर्स एसोसिएसन अफ नेपाल ब्लोदानको संरक्षक रहेको।

र यी संस्थाबाहेक अरु कुनै पनि संस्थाहरूमा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको दाबी गरेकी छन्। केही दिनदेखि आरजु बतास समूहको सल्लाहकार रहेको भन्दै समाचार आइरहेका थिए।

बतास समूहले नारायणहिटी दरबार संग्रहालयको जग्गामा रेस्टुरेन्ट बनाइरहेको पाइएपछि प्रधानमन्त्री पत्नी आरजु पनि त्यसमा मुछिएकी हुन्। अब छानबिन समितिले सत्य तथ्य पत्ता लगाएर पर्दाफास गर्ने छ।

प्रतिक्रिया