काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गर्नु भएको हो।
विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्दसत्र स्थगित गरिएको हो। सहमतिका लागि साँझ ५ बजेसम्म बन्दसत्र स्थगित भएको कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसीले जानकारी दिए।
क्लष्टरअनुसारको केन्द्रीय समितिको ट्ङ्गो लगाउन महाधिवेशनस्थल प्रज्ञा भवनमा स्थायी समिति बैठक बसिरहेको छ। महाधिवेशनबाट आजै केन्द्रीय समितिको टुङ्गो लगाउने माओवादीको तयारी छ।
विधानअनुसार अब पार्टीको केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ।
यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत पु¥याइएको छ। महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ।
पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछन्। पचास प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’ बनाइएको छ।
केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ। नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि,
उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन्। शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिए।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ। विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ।
माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ। माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ।
हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेटन लागिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ।
महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन्। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ। विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ।
प्रतिक्रिया