आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इच्छाराज तामाङ जेल चलान, यस्तो थियो ठगि धन्दा

प्रकाशित
426
SHARES

काठमाडौँ। सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन्। संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो।

सिआइबीले पक्राउ गरेका १२ मध्ये नौजनालाई धरौटीमा छाड्ने तथा एकजनालाई साधारण तारेखमा छाड्ने अदालतको आदेश छ। पक्राउ परेका हरिहरप्रसाद लामिछानेसँग ५० लाख, विजयविक्रम शाहसँग १५ लाख, भगवानबहादुरसिंह डंगोलसँग १० लाख धरौटी माग भएको छ।

लामिछाने सहकारीको लेखा समिति सदस्य थिए भने शाह सिभिल होम्सका वरिष्ठ प्रबन्धक हुन्। त्यस्तै, कर्मचारीहरू एलिना तुलाधर, मयोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभकेतन ढुंगानासँग प्रतिव्यक्ति पाँच–पाँच लाख तथा शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार।

र राकेश महर्जनसँग ५० हजार धरौटी माग भएको छ। सहकारीका कार्यालय सहयोगी संगीत श्रेष्ठ साधारण तारेखमा छुटेका छन्। प्रहरीले पक्राउ गर्नुभन्दा केही महिनाअघि मात्र उनी सहकारीमा आबद्ध भएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धानका आधारमा गत महिना मुद्दा दायर गरेको थियो। सिआइबीमा एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए।

पूर्वसांसदसमेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए। ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो।

तेस्तै, सिभिल सहकारीमार्फत सर्वसाधारणको पाँँच अर्ब ६४ करोड ठगीको अभियोग खेपिरहेका व्यापारी इच्छाराज तामाङमाथि प्रहरीले थप छानबिन गर्ने भएको छ। तामाङविरुद्ध नयाँ उजुरीहरू आएपछि प्रहरीले उनका अन्य कम्पनीमार्फत भएका ठगीको पनि अनुसन्धान गर्ने भएको हो।

उनले सिभिल क्यापिटलको रकम सिभिल सहकारीमार्फत हिनामिना गरेको, हाउजिङका नाममा सर्वसाधारणलाई ठगी गरेको थप छानबिनबाट खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

सिभिल बैंकको ७० प्रतिशत लगानी रहेको सिभिल क्यापिटलको ११ करोड रुपैयाँ सिभिल सहकारीमा जम्मा गर्ने नाममा हिनामिना भएको थियो। मर्चेन्ट कारोबार गर्ने सो कम्पनीले उक्त रकमको सावाँ र ब्याज दुवै पाउन सकेको छैन।

इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङलाई सिभिल क्यापिटलको अध्यक्ष बनाएर सो रकम सहकारीमा जम्मा गर्न लगाई सिभिल होम्सलगायत आफ्नो कम्पनीमा लगेका थिए। सोही निक्षेपका कारण सिभिल क्यापिटल हाल संकटमा परेको छ।

सिभिल सहकारीको ठगीमा अन्य निक्षेपकर्ताले उजुरी गरे पनि कम्पनीले हालेको थिएन। कम्पनीले सिआइबीमा छुट्टै उजुरी दिन हाल छलफल गरिरहेको छ। यो ठगीको असर सिभिल बैंकसम्म पुग्ने भएकाले छुट्टै मुद्दामा तामाङमाथि अनुसन्धानको तयारी भइरहेको सिआइबी स्रोत बताउँछ।

यसमा बैंकिङ कसुर मुद्दा आकर्षित हुने र सिभिल क्यापिटलका अन्य सञ्चालकसमेत त्यसमा तानिने सम्भावना छ। पक्राउ पर्दासम्म तामाङ आफैँ सिभिल बैंकका अध्यक्ष थिए। सिभिल बैंक, सिभिल क्यापिटल तथा सिभिल सहकारीमा उनको हालीमुहाली हुँदा यसरी बैंकको लगानी रहेको कम्पनीको रकमसमेत उनले हिनामिना गरेका हुन्।

काठमाडौं हाउजिङमार्फत समेत ठगी गरेको भनेर सर्वसाधारण प्रहरीमा धाउन थालेका छन्। कम्पनीको सेयर दिन्छु भनेर ललितपुरमा जग्गा लिएको र हाउजिङ बनाएपछि पैसा नदिएको भन्दै सर्वसाधारण प्रहरीमा पुगेका छन्।

सिभिल होम्समै ५० भन्दा बढी सर्वसाधारणलाई घरघडेरी बिक्री गर्ने भनेर उनले पैसा लिए पनि नदिएको खुलेको छ। यी ठगी प्रकरणमा छुट्टै अनुसन्धान हुने सिआइबी स्रोत बताउँछ।

सिभिल सहकारीको रकम ठगी गरेको अभियोगमा दुई महिनादेखि प्रहरी हिरासतमा रहेका तामाङविरुद्ध सिआइबीले ठगी र संगठित अपराध मुद्दा दायर गरिसकेको छ। १२ जना पक्राउ परेको यो मुद्दाका ३० आरोपी फरार छन्।

इच्छाराजका दुई छोरीलाई भने सम्पत्ति जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ। १० दिनमा बयान सकियो:  मुद्दा दायर भएको १० दिनमा तामाङसहित पक्राउ परेका १२ अभियुक्तको बयान जिल्ला अदालतमा सकिएको छ।

बुधबारदेखि अदालतमा थुनछेक बहस सुरु हुनेछ। मुख्य प्रतिवादी तामाङले अदालतमा पनि सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभई सञ्चालक समितिको भएको बताएका छन्।

पक्राउ परेका अन्य सञ्चालकले भने त्यसमा आफूहरूको हस्ताक्षर मात्र भएको र संस्था तामाङले नै एकलौटी रूपमा चलाउने गरेको बताएका छन् । पक्राउ परेका कर्मचारीले सञ्चालक समितिको निर्णयअनुसार आफूहरूले आदेश मानेको बयान दिएका छन्।

प्रहरी अनुसन्धानमा इच्छाराज मात्र यसमा प्रमुख अभियुक्त हुनुपर्ने र अन्यको सहायक भूमिका देखिएको निष्कर्ष थियो। तर, सरकारी वकिल कार्यालयले भने तामाङसहित सञ्चालक समितिका २० जना यसको जिम्मेवार भएको आशयसहित अभियोग दर्ता गरेको छ।

यसले इच्छाराजलाई फाइदा हुन सक्ने र आफूहरूले समयमा क्षतिपूर्ति नपाउने सम्भावना भएको कतिपय पीडितको चिन्ता छ। सहकारीको सबै पैसा इच्छाराज तामाङ र केशवलाल श्रेष्ठले नै चलाएका हुन्, एक पीडित भन्छन्।

त्यस हिसाबले यसको मुख्य जिम्मेवार उनीहरूलाई नै बनाउनुपर्ने हो, अन्य सञ्चालकसँग धेरै सम्पत्ति पनि नभएकाले पछि क्षतिपूर्ति पाउन गाह्रो हुने हो भन्ने लागेको छ। इच्छाराजका विभिन्न २० वटा कम्पनीले सहकारीको पैसा बिनाधितो चलाएका थिए।

तर, समयमा कर्जा नतिर्दा सहकारी टाट पल्टिएपछि समस्या सुरु भएको हो। इच्छाराज र उनका कम्पनीको नाममा करिब ६ अर्बको सम्पत्ति छ । तर, सबै सम्पत्ति रोक्का भइसकेको छैन। रोक्कामा ढिलाइ हुँदा उनले केही सम्पत्ति बिक्री गर्न सक्ने जोखिम छ।

घर बेचेको ठूलो रकम नदेखिएकाले उनले आफन्त तथा कर्मचारीको नाममा पैसा लुकाएको आशंका गरिएको छ। त्यसतर्फ पनि छानबिन हुन सकेको छैन। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाधर पौडेल भने सम्पत्ति रोक्काको पनि माग भएको र त्यो प्रक्रियामै रहेको बताउँछन्।

प्रहरी अनुसन्धानको निष्कर्षअनुसार अभियुक्तलाई धेरै सजाय हुने गरी यो मुद्दामा अभियोजना गरिएको उनको भनाइ छ। सहकारीका पीडितले न्यायका लागि निरन्तर संघर्ष गर्दै आएका छन्। तामाङले योजनाबद्ध र संगठित रूपमा ठगी गरेर सम्पत्ति लुकाएकाले त्यसतर्फ पनि अनुसन्धान हुनुपर्ने पीडितमध्ये एक डिल्लीप्रसाद भट्टराई बताउँछन्।

श्रीमतीसँग नक्कली सम्बन्धविच्छेद गराएर सम्पत्ति लुकाइयोतामाङले तीन वर्षअघि श्रीमती सिर्जना शाक्य तामाङसँग अदालतबाट कानुनी रूपमा सम्बन्धविच्छेद गरेका थिए। तर, त्यो नक्कली सम्बन्धविच्छेद थियो।

सिभिल सहकारीको संस्थापक सेयर बिक्री गर्न उनले सम्बन्धविच्छेदको कागज देखाएर बैंकको सेयर बिक्री गरेका थिए। बैंकको सञ्चालक भएको अवस्थामा संस्थापक सेयर बिक्री गर्न नमिल्ने भएपछि उनले सम्बन्धविच्छेद गरेका थिए।

प्रतिक्रिया