आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आरक्ष पीडितको समस्या लिएर एनपी साउद बालुवाटारमा, प्रधानमन्त्री देउवाले मागे ७ दिनको समय

प्रकाशित
2.9K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय (पुरानो वन्यजन्तु आरक्ष) निकुञ्जबाट विस्थापितहरुको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारी निवास बालुवाटारमा कांग्रेस नेता एनपी साउदसहित सोमबार साँझ आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

२०५८ सालमा तत्कालीन आरक्ष विस्तारका क्रममा देउवा प्रधानमन्त्री भएकै बेला विभिन्न बस्तीका नागरिकलाई विस्थापित गरिएको थियो । २० वर्षसम्म पनि पुनर्स्थापना नभएपछि पीडितहरु काठमाडौं आएका छन् ।

यस अवधिमा पटक-पटक समस्या समाधान आयोग बने पनि ठोस प्रगति हुन सकेको छैन । पछिल्लो ३०औं आयोगले पीडितलाई १० कट्टा जमिन र क्षतिपूर्ति दिन सुझाव दिएको थियो । तर सो प्रतिवेदन वन मन्त्रालयमै अडिएको छ ।

आरक्ष पीडित टोलीले वनमन्त्री रामसहाय यादवलाई पनि भेटेर ध्यानाकर्षण गराइसकेको छ । समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाएर अघि बढ्ने वनमन्त्री यादवको आश्वासनपछि पीडितको टोलीले प्रधानमन्त्री देउवा भेटेको हो ।

उक्त भेटमा नेता साउदले तत्कालिन अवस्थामा देउवा प्रधानमन्त्री भएकै बेला आरक्ष विस्तारका क्रममा विस्तापित भएका स्थानीयले आफुलाई समेत पटक पटक समस्या समाधानका लागि आग्रह गर्दै आएको र हाल कांग्रेस नेतृत्वमा सरकार भएको अवस्थामा पनि समस्या समाधान हुन् नसके आफुलाई आफ्नो निर्वाचन क्षेत्रका जनताले लखेट्ने स्थिति आउनसक्ने समेत गुनासो गर्दै यस्ता गम्भीर समस्याको तत्काल समाधान गर्न देउवासमक्ष अनुरिध गरेका थिए ।

पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विगतमा राजनीतिक अस्थिरताका कारण समस्या समाधान गर्न नसकिएको स्वीकार गर्दै अब कुनै हालतमा समाधान गर्ने दृढता व्यक्त गरेको आरक्ष पीडित संघर्ष समिति प्रेमदत्त भट्टले जनाए । प्रधानमन्त्री देउवाको दृढ आश्वासनपछि आरक्ष पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम एक सातालाई स्थगित गरेको छ ।

जिल्लामा सडक चक्काजामदेखि सीडिओ कार्यालय घेराउसम्म गरेको समितिले राजधानीमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेता भेट्ने र माग सम्बोधन नभए माइतीघरमा धर्नामा बस्ने कार्यक्रम बनाएर काठमाडौं आएको थियो ।

समिति सचिव भट्टले प्रधानमन्त्रीबाट सकारात्मक आश्वासन पाएकाले आफूहरु आशावादी रहेको बताए । उनकाअनुसार समितिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेर समस्याबारे ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया