आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोक मेटाउन ५ सय डलरमा सानी छोरी बिक्री, बेचिएकी ९ वर्षीया बालिकाको अवस्था अज्ञात

प्रकाशित
848
SHARES

काठमाडौँ। गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको छ। तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो।

विश्वका प्रमुख दाताराष्ट्रले तालिबानी सत्तासँग कस्तो सम्बन्ध राख्ने भन्ने स्पष्ट नपारेकाले पनि अफगानिस्तानमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव भएको छ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम डब्लूएफपीले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ। २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ।

त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ। वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ।

तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुन सक्ने डब्लूएफपीको चेतावनी छ।अफगानिस्तानको यतिसम्म संकट उत्पन्न भएको छ कि अभावले ग्रस्त परिवारले आफ्ना छोराछोरी बिक्री गरिरहेका छन्।

बीबीसीको एउटा रिपोर्टका अनुसार भर्खरै एक महिलाले परिवारका अन्य सदस्यलाई बचाउन नवजात शिशु बिक्री गरेकी छिन्। उनले सानी छोरीलाई ५ सय अमेरिकी डलर करिब ६० हजार नेपाली रुपैयाँमा बिक्री गरेकी हुन्।

सुरक्षाका हिसाबले पहिचान गोप्य राखिएकी ती महिला भन्छिन्, मेरा अरु छोराछोरी भोकले मर्दैछन्, त्यसैले हामी छोरी बेच्न बाध्य भयौं। म किन दु:खी हुन्थिनँ र। उ मेरै बच्ची हो। उनका श्रीमान् कबाडी संकलनको काम गर्थे,

तर त्यसबाट केही आम्दानी नै हुँदैन। उनी भन्छन्, ‘हामी भोकले मरिरहेका छौं। हामीसँग अहिले न त पिठो छ न त तेल। हामीसँग केही पनि छैन। उनी अगाडि भन्छन्, मेरी छोरीलाई,

उसको भविष्य कस्तो हुन्छ भन्ने थाहा छैन। उसले केही थाहा पाउने अवस्था पनि छैन। तर मैले भने यस्तो कदम चाल्न बाध्य भएँ।अहिले ती बालिका हेरातस्थित एउटा अस्पतालमै रहेकी छिन्।

उनी हिँड्न सक्ने भएपछि खरिद गर्ने व्यक्तिले आफ्नो घर लैजाने भनेका छन्। ती व्यक्तिले पछि आफ्ना छोरासँग ती बालिकाको बिहे गरिदिने वचन पनि दिएका छन्। तर त्यसमा ढुक्क हुने अवस्था भने रहेको छैन।

समय घर्किँदै गर्दा अफगानिस्तान गहिरो संकटतर्फ उन्मुख छ । अफगानिस्तानको अवस्था झन् बिग्रँदै गएको छ। विशेषगरी चिसो मौसम सुरु भएसँगै यहाँका अधिकांश मानिसले खाद्य संकट सामना गर्नुपरेको छ। विभिन्न अधिकार समूह तथा संस्थाले यस्तो अवस्थाप्रति चिन्ता प्रकट गर्दै आएका छन् ।

यस्तो अवस्थाले विकराल रुप ल्याउने भन्दै चेतावनीसमेत दिइएको छ। जाडो सुरु हुने बित्तिकै लगभग २ करोड ३० लाख मानिसहरूमध्ये आधाभन्दा बढी जनसंख्या चरम स्तरको भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघका अनुसार ५ वर्षमुनिका कम्तीमा १० लाख बालबालिका भोकमरीका कारण मृत्युको जोखिममा रहेको बताइएको छ। जुन संख्या २० वर्षको युद्धमा मृत्यु हुने बालबालिकाको संख्याभन्दा धेरै हो।

सिएनएनले यसबारे एक रिपोर्ट प्रकाशन गरेको छ। पछिल्लो संकट सामना गरिरहेका बालबालिकाको एक प्रतिनिधि पात्र हुन्, कमिला। झण्डै ३ वर्षकी उनको तौल जम्मा ११ पाउन्ड अर्थात् ५ केजी छ। अस्पतालमा उनको शरीर हाड छालामै सिमित देखिन्छ। कमिला पछिल्लो ८ महिनादेखि कुपोषित छिन्।

दक्षिणी कानदहरस्थित एक अस्पतालमा उनकी हजुरआमा बिल्किसले उनको हेरचाह हेरिरहेकी छन्। बिल्किस आफ्नो परिवार गरिब भएको बताउँछिन्। र उपचारका लागि आर्थिक अभावको सामना गरिरहेको उनको दुखेसो छ। कमिलाकी आमा पनि बिरामी भएको उनकी हजुरआमा बताउँछिन् ।

यतिसम्म कि कमिलालाई स्तनपान गर्नसमेत उनले सक्दिनन्। कमिलाको परिवार आम अफगान परिवारको प्रतिनिधि परिवार हो। जसले आर्थिक संकट र चिसो मौसमसँगै उत्पन्न भएको खाद्य संकट विरुद्ध संघर्ष गरिरहेको छ।

कमिला जस्ता ठूलो संख्यामा बालबालिकाहरू हाल अफगानिस्तानमा खाद्य संकटबाट गुज्रिनु परेको छ। सिएनएनको रपोर्टअनुसार ठूलो संख्यामा अधिकांश बालबालिकाले पछिल्लो समय कुपोषणको सामना गरिरहेका छन्। यस्तै उत्तिकै मात्रामा महिलाहरू जोखिमपूर्ण जीवनयापन गरिरहेका छन्।

अनिकालको जोखिम कुनै समय ग्रामीण क्षेत्रहरूमा मात्र सीमित थियो। तर अहिले अफगानिस्तानका विकसित र सघन जनसंख्या भएका सहरसम्मै फैलिएपछि त्यसले धेरैलाई चिन्तित बनाएको छ। देशका अधिकांश सहरले खाद्य असुरक्षाको सामना गर्नु परेको बताइन्छ।

तालिबान नेताहरू भने सबै सहरमा खाद्यान्न प्रसस्त भएको दाबी गर्छन्। तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार कोही पनि भोकै बस्नुपर्दैन । सहरहरू सबैमा खाद्यान्न प्रसस्त छ। त्यसो त तालिबान शक्तिमा आउनुअघि पनि खडेरी,

द्वन्द्व, महामारी र आर्थिक मन्दीका कारण गरिबी, खाद्य असुरक्षा र बेरोजगारी जस्ता समस्या व्याप्त थियो। तर तालिबानले सत्ता कब्जा गरेको तीन महिनापछि यो संकट तीव्र रुपमा गहिरिएको छ। विदेशी विकास तथा दातृ संस्थाको अर्बौँ डलर रकम पनि रोकिएको छ।

जाडो मौसमसँगै आधा जनसंख्या चरम भोकमरीको सामना गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ। कम्तीमा ५ वर्षमुनिका १० लाख बालबालिकाहरू भोकमरीबाट मृत्युको जोखिममा छन्।

सहरका अस्पतालसमेत यस्तो संकट भोग्दै छन् कि बिरामीलाई न्यानो बनाउन इन्धनका लागि पैसा अभाव भएपछि रुख काटेर दाउरा बाल्दै अस्पतालका कोठा न्यानो पार्दैछन्।

हरेक चिज बिक्रीमा: अफगानिस्तानमा मौसम प्रतिकुल बन्दै जाँदा खाद्यान्न अभाव पनि बढ्दो छ। विश्व खाद्य कार्यक्रम डब्लूएफपीका अनुसार अफगानिस्तानको ठूलो जनसंख्या आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छ।

तर यस वर्षको खडेरीको ४० प्रतिशत फसल गुमेसँगै देशमा खाद्यान्न अभावको अवस्था आउने चेतावनी दिइएको छ। खाद्यान्न आपूर्ति घट्दै जाँदा गहुँ र रोटी जस्ता खाद्यान्नको मूल्य आकाशिएको छ। ग्रामीण क्षेत्रका कतिपय मानिसहरू खाद्यान्न अभावले गर्दा दैनिक रुपमा खाना समेत नपाएको गुनासो गर्छन्।

सिएनएनमा प्रकाशित एक रिपोर्टअनुसार यहाँ कतिपय मानिसहरूले कहिलेकाहीँ खाने र कहिले भोकै बस्नुपरेको गुनासो गरेका छन्। हामीसँग रोटी र पानी मात्रै छ। कहिलेकाहीँ हामीसँग खाने कुरा नै हुँदैन,’ मुस्तफा नाम गरेका एक श्रमिकले सिएनएनलाई बताएकाछन्।

यसै महिनाको सुरुमा उनले आफ्नी छोरीलाई घोर प्रान्तको राजधानी चागछरनस्थित एक अस्पतालमा लगे। उनकी ३ वर्षीया छोरी कुपोषित भएको ८ महिना भइसक्यो। अस्पतालमा खिचेका उनका तस्बिर हेर्दा हाड र करङका आकार शरीरको छालाबाहिरै प्रस्ट देखिन्छन्।

उनलाई तेस्रो पटक अस्पताल लगिएको हो। ‘केही काम छैन। आम्दानी छैन। खाना पनि छैन,’ मुस्तफाले भने, ‘हरेकपटक उनलाई हेर्दा म दिक्क हुन्छु। अफगानिस्तानमा खाद्य तथा कृषि संस्थाका प्रतिनिधि रिचर्ड ट्रेन्चर्डकाअनुसार हाल भोकमरीको अवस्था विनाशकारी भएको छ।

उनका अनुसार अधिकांश किसानहरूले यस वर्ष बाली भित्र्याउन पाएनन्। दैनिकी गुजारा चलाउन धेरै किसान गाई वस्तु बेच्न बाध्य भए। साथै कैयौं किसानहरू ऋणको बोझ आर्थिक अभावको सामना गरिरहेका छन्।

त्यसो त तालिबानले सत्ता लिनुअघि पनि अफगानिस्तानका धेरै ग्रामीण क्षेत्रमा गरिबी सामान्य जस्तै थियो । तर हाल गरिबीका कारण मध्य वर्गीय र सहरवासीहरू समेत निराश बन्न थालेका छन्।

सरकारी कर्मचारीहरू र स्कुलका शिक्षकहरूले समेत महिनौँदेखि तलब पाउन सकिरहेका छैनन्। पछिल्लो समय देशैभर अधिकांश मानिसहरूले खानाका लागि आफ्ना कपडा, गाईवस्तु, फर्निचर जस्ता वस्तु बिक्री गर्न थालेका छन्।

रिपोर्ट अनुसार घना बस्ती भएका अफगानिस्तानका सहरी क्षेत्रमा पनि हाल हरेक ११ नागरिकमध्ये १० जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ। ग्रामीण भेगका कतिपय,

मानिसहरूसँग त बिक्री गर्नका लागि केही चिज समेत नभएको बतायन्छ। अघिल्लो महिना मात्रै खानाका लागि आफ्नै छोरी एक वृद्धलाई बेचेर पैसा लिएको रिपोर्ट सिएनएनमा सार्वजनिक भएको थियो।

प्रतिक्रिया