आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

परमाणु हतियारको होडमा यस्तो देश, जसले आफ्नो परमाणु हतियार आफैं नष्ट गरिदियो

प्रकाशित
1K
SHARES
North Korea Founder's Birthday

एजेन्सी। मार्च २४, १९९३ का दिन दक्षिण अफ्रिकाका राष्ट्रपति फ्रेडरिक विलियम डी क्लार्कले एक यस्तो कुराको पुष्टि गरे जसलाई कैयौं वर्ष पछिसम्म पनि हल्ला मात्र मानिएको थियो। उनले विश्वलाई बताएका थिए कि उनको देशले एक गुप्त प्रोजेक्टमा काम गरिरहेको थियो र उसले परमाणु हतियार हासिल गरेको थियो।

संसदमा दिएको भाषणमा राष्ट्रपतिले देश र विश्वलाई बताएका थिए कि दक्षिण अफ्रिकाले ६ परमाणु बम बनाइसकेको छ। उनले यो विश्वास पनि दिलाएका थिए कि यी बम नष्ट गरिएका छन् र सैन्य आवश्यकताको लागि देशको परमाणु कार्यक्रम पूर्ण रुपमा बन्द गरिएको छ। दक्षिण अफ्रिका जुलाइ १९९१ मा संयुक्त राष्ट्रसंघको एनपीटी (न्यूक्लियर नन पोलिफरेसन ट्रिटी) को पक्ष राष्ट्र बनेको थियो।

डी क्लार्कले संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सी इन्टरनेशनल एटमिक इनर्जी अर्गनाइजेशन (आइएइए)लाई परमाणु स्थलसम्म खुला पहुँच पनि दिए ताकि उनका दावीको जाँच गर्न सकियोस्। उनले भनेका थिए कि एजेन्सीले दक्षिण अफ्रिकाका सबै परमाणु स्थलको जाँच गरेर उनको दावीको पुष्टि गर्न सक्छ।

यो घोषणासँगै डी क्लार्कले दक्षिण अफ्रिकालाई परमाणु हतियार विकसित गर्ने देशहरुको सानो समूहमा सहभागी गराए। साथमा दक्षिण अफ्रिका यस्तो एकमात्र देश बन्यो जसले एनपीडीको सदस्य बन्नुभन्दा पहिले परमाणु हतियार पूर्ण रुपमा त्यागिदियो। १९९० को दशकमा युक्रेन पनि आफ्ना परमाणु हतियार नष्ट गर्न सहमत भएको थियो तर यी हतियार उसले विकसित गरेको नभइ पूर्व सोभियत संघबाट विरासतको रुपमा पाएको थियो।

सबैभन्दा ठूलो प्रश्न यो हो कि दक्षिण अफ्रिकाले परमाणु बम कसरी बनायो र यिनीहरुलाई नष्ट गर्ने निर्णय किन गर्यो ? दक्षिण अफ्रिकाले १९४८ मा कानुन बनाएर एटमिक इनर्जी बोर्डको स्थापना गरेको थियो। यसको उद्देश्य परमाणु ऊर्जामा सम्भावना खोज्नु थियो। १९६० को दशकको सुरुवाती वर्षमा दक्षिण अफ्रिकाले शोध र विकास गतिविधिहरु सुरु गर्यो र राजधानी प्रिटोरियाबाट करिब ४० किलोमिटर टाढा पेलिंडाबामा परमाणु प्लान्ट स्थापना गर्यो।

परमाणु कार्यक्रमको यो सुरुवाती चरणमा उद्देश्य शान्तिपूर्ण थियो। दक्षिण अफ्रिकासँग युरेनियम खानीको भण्डार पनि छ। यो अहम पदार्थको संवर्धनका तरिका खोज्ने काम पनि सुरु गरियो। युरेनियम संवर्धन प्रविधि नै परमाणु हतियार विकसित गर्नमा अहम भूमिका निभाउँछ । १९६० को दशकमा पाएको सुरुवाती सफलताबाट उत्साहित सरकारले औद्योगिक स्तरमा काम गर्नको लागि एक पाइलट प्लान्ट स्थापना गर्यो।

१९७० मा तत्कालीन प्रधानमन्त्री बीजे बोर्स्टरले संसदलाई यी योजनाहरुबारे जानकारी दिए र देशको परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यको लागि भएको बताए। दक्षिण अफ्रिकासँग युरेनियमका समृद्ध भण्डार थिए र उनले बुझिरहेको थियो कि भविष्यमा संवर्धित युरेनियमबाट आर्थिक फाइदा उठाउन सकिन्छ। यसका साथसाथै देशले नागरिक उद्देश्यको लागि परमाणु विष्फोटकहरुको विकासको सम्भावना खोज्न पनि सुरु गरेको थियो।

१९७४ मा जब एक रिपोर्टमा भनियो कि हतियार बनाउने काममा सफलता पाउन सकिन्छ त्यसपछि सरकारले यो गुप्त परियोजनालाई मन्जुरी दियो। यद्यपि यो पहल छिटै सैन्य उद्देश्यको लागि परमाणु हतियारको विकासमा बदलियो। तर किन ? जस्तो कि डी क्लार्कले १९९३ मा आफ्नो भाषणमा भनेका थिए कि दक्षिण अफ्रिकाको सीमित युद्ध क्षमता भएका परमाणु हतियार निर्माण गर्ने फैसलाको सुरुवात १९७४ मा भएको थियो। यसको कारण दक्षिण अफ्रिकामा सोभियत सेनाको विस्तारबाट उत्पन्न भएको खतरा थियो।

कम्युनिस्ट विचारधारा भएका देशहरुको संगठन वार्सा प्याक्टबाट उत्पन्न भएको अनिश्चितता पनि दक्षिण अफ्रिकाले परमाणु हतियार विकसित गर्नुको एक कारण बन्यो। अफ्रिकाको बदलिरहेको सुरक्षा अवस्थाले पनि दक्षिण अफ्रिकाको निर्णयलाई प्रभावित पार्यो। पोर्चुगल अफ्रिकामा आफ्ना उपनिवेशहरु छोडेर गएको थियो। मोजाम्बिक र अंगोला स्वतन्त्र भएका थिए। यहाँ सुरु भएका गृहयुद्धले अन्तर्राष्ट्रिय रुप लिएका थिए। बामपन्थी र पूँजीवादी शक्तिहरुबीच शीतयुद्धको खतरा थियो। क्षेत्री सुरक्षा अवस्था अस्थिर भएका थिए।

अंगोलामा क्युबाको सेनाको संख्या बढिरहेको थियो। दक्षिण अफ्रिकालाई लागिरहेको थियो कि उसले सुरक्षात्मक हतियार बनाउनु जरुरी छ। अन्तर्राष्ट्रिय स्तरमा पनि देश अलग थलग परेको थियो। राष्ट्रपतिले संसदमा भनेका थिए कि हमला भएको स्थितिमा उनको देश विदेशी सहयोगमा निर्भर रहन सक्दैनथ्यो। आफ्नो रंगभेदको नीतिका कारण पनि दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय स्तरमा अलग थलग थियो र उसमाथि हतियार खरिद गर्न प्रतिबन्ध लगाइँदै थियो। यी कारणले पनि दक्षिण अफ्रिकाको लागि स्थिति नाजुक थियो र यही समय परमाणु ऊर्जाको क्षेत्रमा पनि दक्षिण अफ्रिका अलग थलग हुँदै गइरहेको थियो।

अमेरिकाले परमाणु हतियारसँग सम्बन्धित जानकारीहरु दक्षिण अफ्रिकासँग आदान प्रदानमा रोक लगाइदिएको थियो। १०७८ मा अमेरिकाले एक कानुन पारित गरेको थियो जसअनुसार ती देशहरुलाई परमाणु प्रविधि दिन मिल्दैनथ्यो जो एनपीटी (परमाणु अप्रसार सन्धि)का हिस्सा थिएनन्। शीतयुद्धको समयमा विश्व दुई भागमा बाँडिएको थियो र दक्षिण अफ्रिकालाई त्यस समयका दुई महाशक्तिहरु अमेरिका र रुसमध्ये कसैको पनि समर्थन थिएन।

१९७७ मा जतिबेला दक्षिण अफ्रिका भूमिगत परमाणु परीक्षणको तयारी गरिरहेको थियो त्यतिबेला अमेरिका र सोभियत संघले मिलेर उसलाई रोके। यो अवस्थामा दक्षिण अफ्रिका सरकार यो निर्णयमा पुग्यो कि उसले आफ्नो सुरक्षाको लागि परमाणु बम बनाउनुपर्छ र अप्रिल १९७८ मा दक्षिण अफ्रिका सरकारले तीन चरणको परमाणु निरोध रणनीतिलाई मन्जुरी दियो। यीमध्ये पहिलो थियो देशको परमाणु क्षमताबारे अनिश्चितता कायम राखियोस् अर्थात न यसलाई स्वीकार गरियोस् न अस्वीकार गरियोस्। दोस्रो चरण दक्षिण अफ्रिकाको खतरा उत्पन्न भएका लागू गरिनुपर्ने थियो।

यी परिस्थितिमा यो तय गरिएको थियो कि अमेरिका जस्तो महाशक्तिलाई निजी रुपमा यो बताइनेछ कि दक्षिण अफ्रिकासँग परमाणु हतियार छन्। यसबाट खतरा समाप्त पार्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन सक्थ्यो। यदि यसबाट पनि खतरा समाप्त नभएको अवस्थामा दक्षिण अफ्रिकाले सार्वजनिक रुपमा आफूसँग परमाणु हतियार छन् भन्ने कुरा स्वीकार गर्नेछ। साथमा यो पनि तय गरिएको थियो कि बमको भूमिगत परीक्षण गरिनेछ। दक्षिण अफ्रिकाले बमको आक्रामक प्रयोग नगर्ने किनकि यसबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय प्रतिक्रिया हुन सक्छ भन्ने पनि तय गरिएको थियो।

यो रणनीति लागू गर्नको लागि दक्षिण अफ्रिकाले कम्तीमा ७ परमाणु बम बनाउनुपर्ने थियो। पहिलो १९८२ मा बनाइउको थियो। तर, सातौं कहिल्यै पनि बनाइएन। वास्तविकतामा दक्षिण अफ्रिकाको यो रणनीति पहिलो चरणबाट अगाडि बढ्नै सकेन। एक अनुमानअनुसार यी बमको क्षमता त्यति मात्र थियो जति अमेरिकाले विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा खसाएका बमको थियो र यी बम विमानबाट प्रहार गर्नुपर्ने थिए।

दक्षिण अफ्रिकाको एटमिक इनर्जी कर्पोरेशनका पूर्व निर्देशक वाल्डो स्टंफले १९९५ मा पेश गरेको आफ्नो एक रिपोर्टमा लेखेका थिए कि दक्षिण अफ्रिकाले कहिल्यै पनि यिनीहरुको परीक्षण गरेको थिएन तर यो मान्ने कुनै कारण छैन कि यिनीहरु काम गदैनथे। तर, दक्षिण अफ्रिकाले आफ्ना परमाणु बम नष्ट गर्ने फैसला किन गर्यो ? राष्ट्रपति डी क्लार्कका अनुसार यसका कारण १९८० का अन्तर्राष्ट्रिय राजनीतिक अवस्थामा लुकेका थिए।

संसदमा आफ्नो भाषणमा उनले अंगोलामा संघर्ष विराम, क्युबाका ५० हजार सैनिक अंगोलाबाट फिर्ता र नामिबियाको स्वतन्त्रताको लागि तीन पक्षको सम्झौताबारे उल्लेख गरेका थिए। यसका अलावा उनले बर्लिनको पर्खाल भत्काइनु, शितयुद्ध समाप्त हुनु र सोभियत संघ विघटन हुनुलाई पनि उल्लेख गरेका थिए। राष्ट्रपतिले भनेका थिए कि यी परिस्थितिमा परमाणु निरोध आवश्यक मात्रै भएको थिएन यो दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बनधको लागि अवरोधक बनेको थियो।

२०१७ मा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिले द एटलान्टिक पत्रिकालाई दिएको अन्तरवार्तामा परमाणु बमको विरोध गर्ने आफ्ना कारण बताएका थिए। उनले भनेका थिए मैले यो महसुस गरेको थिएँ कि जो युद्ध ग्रामीण षेत्रमा लडिनुपर्ने थियो त्यसमा यस किसिमका बमको प्रयोग गर्नुपर्ने कुनै कारण थिएन। सो सोच्नु नै दर्दनाक थियो कि हामी पूरै सहरलाई केही घण्टामा नष्ट गर्न सक्छौं। सुरुवातदेखि नै मेरो व्यक्तिगत राय यो थियो कि म बमलाई आफ्नो घाँटीमा झुण्डिएको पासोजस्तै गरी हेरिरहेको थिएँ।

१९८९ मा डी क्लार्क सत्तामा आएपछि उनले परमाणु कार्यक्रममा विराम लगाउन सुरु गरे। उनका योजनामध्ये बनाइएका बमहरु नष्ट गर्ने पनि थियो। परमाणु प्लान्टहरु बन्द गरिनु थियो, यी प्लान्टमा उच्च गुणस्तरको युरेनियम संवर्धन गर्नु थियो र यसलाई यो स्तरमा ल्याउनु थियो कि त्यहाँ बम बनाउन नसकियोस्। यसका साथसाथै सरकारले एनपीटीको सदस्य बन्ने प्रक्रिया सुरु गर्यो। देशमा आन्तरिक राजनैतिक सुधार पनि सुरु भए र रंगभेद समाप्त पारियो। राजनीतिक परिवर्तनमा सत्ता नेल्सन मण्डेलाको हातमा गयो।

संसदमा आफ्नो भाषणमा डी क्लार्कले भनेका थिए कि दक्षिण अफ्रिकाको निर्णयले अन्य देश पनि परमाणु हतियार छोड्न तयार हुनेछन्। द एटलान्टिकलाई दिएको अन्तरवार्तामा उनले उत्तर कोरियाबारे उल्लेख गरेका थिए। उनले भनेका थिए कि उत्तर कोरियालाई बम बनाउनबाट रोक्ने प्रयासमा अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धमा जोड दिए र यसको बदलामा प्रोत्साहन राशीमा जोड दिएनन्।

१९९५ को आफ्नो रिपोर्टमा दक्षिण अफ्रिकाका परमाणु ऊर्जा कर्पोरेशनका पूर्व निर्देशक वाल्डो स्टंफले दक्षिण अफ्रिकाको अनुभवबाट सिक्न सकिने व्यवहारिक पाठ उल्लेख गरेका छन्। परमाणु विशेषज्ञ वाल्डो स्टंफले विश्वलाई चेतावनी दिएका थिए कि न प्रविधि न मूल्य चुकाउनुपर्ने डरले कुनै देशलाई परमाणु कार्यक्रममा अगाडि बढ्नबाट रोक्न सक्छ। उनले भनेका थिए कि भलै युरेनियम संवर्धन प्रविधि र अति उन्नत बम बनाउने प्रविधि धेरै उच्चस्तरीय हुन्छ तर एक उन्नत औद्योगिक देशले यसलाई हासिल गर्न सक्छ।

उनका अनुसार दक्षिण अफ्रिकाले आफ्नो परमाणु कार्यक्रममा १० वर्षमा २० करोड डलर खर्च गर्दै थियो। उनले यो पनि भनेका थिए कि राजनीतिभन्दा अलग गर्ने तरिका केही विशेष परिस्थितिमा प्रभावकारी हुन्छ तर केही विशेष मामिलामा यो धेरै नोक्सानदायक हुन्छ। स्टंफका अनुसार १९७८ मा अमेरिकाले दक्षिण अफ्रिकाको न्यूक्लियर रिएक्टर चलाउन जरुरी इन्धनमा रोक लगाइदियो र देशमाथि आर्थिक प्रतिबन्ध लगायो। तर, यसबाट अमेरिकाको दक्षिण अफ्रिकामाथि जो असर थियो त्यो पनि समाप्त भयो।

स्टंफले भनेका थिए ‘यसको अर्थ यो थियो कि क्षेत्रभन्दा बाहिरको कुनै महाशक्तिको दबाब परमाणु हतियार विकसित गरिरहेको कुनै देशमाथि एक हदसम्म मात्र काम गर्छ। अन्त्यमा पूर्ण परमाणु अप्रसारको लागि क्षेत्रीय तनावलाई नै कम गर्नुपर्छ। दक्षिण अफ्रिकाको मामिलामा यही भएको थियो र मध्य पूर्व वा दक्षिण एसिया वा कोरियाली प्रायद्विपमा पनि यही हुनुपर्छ।

अन्त्यमा स्टंफले लेखेका थिए कि एनपीटी अन्तर्गत जुन परमाणु अप्रसारको लक्ष्य निर्धारण गरिएको छ त्यो रणनीतिक वा प्राविधिक निर्णयबाट हासिल गर्न सकिँदैन यसका लागि देशका नेताहरुमा राजनीतिक इच्छाशक्ति हुनु जरुरी हुन्छ। यद्यपि यसबाट केही पाठ त सिक्न सकिन्छ जसलाई उत्तर कोरियाजस्तो परमाणु शक्ति वा इरानमाथि लागू गर्न सकिन्छ। तर, सत्य यो हो कि दक्षिण अफ्रिकाको कुरा फरक छ र परमाणु हतियारको इतिहासमा पनि उसको अलग स्थान छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ