आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिरासतले नभई संघर्षले बनेका नेता

प्रकाशित
527
SHARES

काठमाडौँ। ०४६ मा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध देशभर आन्दोलनको शंखघोष थियो। कांग्रेस र वामपन्थी दलहरू पञ्चायतलाई घुँडा टेकाउन संयुक्त आन्दोलनमा थिए । दलहरूको आह्वानमा सडक तात्दै थियो।

१३ वर्षीय किशोर हातमा चारतारे झन्डा बोकेर सडक–सडक दौडन्थ्यो । ती किशोर थिए, गगन थापा। ०३३ मा काठमाडौंमा जन्मिएका थापा सिद्धार्थ वनस्थली स्कुलमा ९ कक्षामा पढ्दै गर्दा ०४६ को जनआन्दोलनमा सहभागी भएका थिए।

सानैमा देखापरेको यो राजनीतिक चेत उमेरसँगै हुर्कँदै गयो। विश्वविद्यालय शिक्षा अध्ययन गर्न उनी त्रिचन्द्र क्याम्पस भर्ना भए । ०५१ मा स्ववियु सदस्य भएका थापा ०५३ मा सचिव भए। वाकपटुतामा प्रखर उनी ०५५ मा स्ववियु सभापति बने।

यसपछि थापाको राजनीतिक यात्राले थप गति लियो। ०५७ मा विश्वप्रकाश शर्मा नेविसंघ सभापति हुँदा उनी उपसभापति बने। ०५९ देखि ०६१ सम्म महामन्त्री भए। १८ असोज ०५९ मा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी प्रतिनिधिसभा भंग गरेपछि लोकतान्त्रिक आन्दोलनको अंग्रभागमा उभिए।

गिरिजाप्रसाद कोइरालाले नेविसंघका तत्कालीन सभापति गुरु घिमिरे र महामन्त्री थापालाई पार्टीको एजेन्डाविपरीत गणतन्त्रको वकालत गरेकोे भन्दै बर्खास्तसमेत गरेका थिए । थापा ०५९ देखि ०६१ सम्म पटक–पटक पक्राउ परे।

उनलाई ०६० र ०६१ मा राज्यद्रोहको मुद्दासमेत लाग्यो। १९ जेठ ०६१ मा ज्ञानेन्द्रले सैनिक ‘कु’मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि प्रत्येकजसो आन्दोलनका उनी अग्रमोर्चामा उभिए।

सात राजनीतिक दल र सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीबीच भएको १२ बुँदे सहमतिपछि १९ दिनसम्म चलेको जनआन्दोलनले एकातिर, राजनीतिक व्यवस्थामा फेरबदल ल्यायो, अर्कोतिर, थापाको राजनीतिक जीवनमा फड्कोे।

०६४ चैतमा सम्पन्न संविधानसभाको निर्वाचनपछि उनको संसदीय राजनीतिको यात्रा सुरु भयो। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ०६४ मा थापालाई समानुपातिक सांसद बनाए।

गणतन्त्रको नारा लगाएबापत दण्डित गरेका तिनै कोइराला केही वर्षको अवधिमै थापालाई संविधानसभामा भियाउन बाध्य भए । संविधानसभाले संविधान बनाउन मुख्य कार्यभार भने पूरा गर्न सकेन।

त्यसैले ४ मंसिर ०७० मा संविधानसभाको दोस्रो निर्वाचन भयो। निर्वाचनमा उनी काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षबाट निर्वाचित भए । व्यवस्थापिका संसद्कोसमेत जिम्मेवारीमा रहेको संविधानसभामा उनले कृषि तथा जलस्रोत समितिको सभापतिको भूमिका निभाए।

त्यो संविधानसभाले ३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्यो। संविधानसभा व्यवस्थापिका संसद्मा रूपान्तरण भयो। पार्टी राजनीति पनि उनको प्रभाव बढ्दै थियो ।

०६७ असोजमा भएको १२औँ महाधिवेशनमा दोस्रो लोकप्रिय मत ल्याउँदै उनी पार्टीको केन्द्रीय सदस्य निर्वाचित भए । ०७२ फागुनमा भएको पार्टीको १३औँ महाधिवेशनमा उनले तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिए।

तर, पराजित भए। ०७३ मा केपी ओली नेतृत्वको सरकार ढलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । त्यो सरकारमा थापाले पहिलोपटक देशको राजकीय जिम्मेवारी सम्हाल्ने मौका पाए ।

स्वास्थ्यमन्त्री बनेका थापाले नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याए । यसले उनलाई निकै लोकप्रिय बनायो। यस्तै, प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पतालको अवधारणा ल्याए । तर, प्रचण्ड नेतृत्वको सरकार फेरबदल भएकाले उनले सो कार्यक्रम कार्यान्वयन गराउन पाएनन् ।

संविधान जारी भएपछि ०७४ पहिलोपटक भएको आमनिर्वाचनमा उनी पुनः काठमाडौं ४ बाट निर्वाचित भए। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएर लडेको सो निर्वाचनमा कांग्रेसले देशैभर ठूलो धक्का खायो ।

तर, थापा विजयी हुँदै तेस्रोपटक संसद् पुगे । प्रभावशाली भाषणकला भएका थापाले केपी शर्मा ओली नेतृत्वको सरकारका अधिकांश गलत कदमहरूमाथि खबरदारी गर्दै प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गरिरहे ।

अहिले उनकै पार्टीको नेतृत्वमा सरकार छ । तर, सरकारका गलत कामको विरोध गर्न उनी प्रतिपक्षी दलभन्दा खरो उत्रने गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थापा शिक्षित नेताहरूमा पर्छन् । उनले हार्वर्ड विश्वविद्यालयको हार्वर्ड केनेडी स्कुलबाट

ग्लोबल लिडरसिप एन्ड पब्लिक पोलिसी’को अध्ययन गरेका छन्, भने सिंगापुरको विश्वविद्यालयबाट सहरी विकाससम्बन्धी अध्ययन पनि गरेका छन्। यसरी नेपालको राजनीतिक आलोकमा उदाएका गगन थापा पार्टीको १४औँ महाधिवेशनमा अत्यधिक मतसहित कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन्। नयाँ पत्रिकाबाट साभार

प्रतिक्रिया