आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ गति रोक्न अमेरिका र अन्य मुलुक एकजुट, तर पनि मुस्किल

प्रकाशित
1.1K
SHARES

एजेन्सी। सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि विश्व अन्यमनस्क थियो। त्यसको ठिक तीन महिनापछि डिसेम्बर ११ मा विश्व व्यापार सङ्गठन डब्ल्यूटीओ बहसको केन्द्रमा आइपुग्यो। त्यसमा विकसित घटनाक्रमको प्रभाव एक्काइसौँ शताब्दीको पूरै विश्वलाई पर्ने निश्चित थियो।

त्यसले अमेरिकामा भएका आक्रमणका कारण परेको प्रभावभन्दा धेरै मानिसको जीवन र जीविकोपार्जनमा ठूलो प्रभाव पार्न लागेको थियो। तर अझै पनि धेरै मानिसलाई त्यो घटनाबारे खासै थाहा छैन।

त्यस बेला डब्ल्यूटीओमा चीनको प्रवेश भएको थियो र त्यसले अमेरिका, युरोप र एशियाका अधिकांश देशका लागि परिस्थिति फेरिदियो।वास्तवमा त्यसले तेल र धातुजस्ता औद्योगिक वस्तुमा पहुँच र स्वामित्व भएका देशहरूलाई बेग्लै प्रभाव पार्‍यो।

उक्त घटनाको आर्थिक र भूराजनीतिक महत्त्व एकदमै धेरै थियो तर पनि सर्वसाधारण मानिसले त्यसबारे खासै थाहा पाएनन्। त्यसपछि विश्वमा देखिएको आर्थिक मन्दीको मुख्य कारण भनेको उक्त निर्णयबाटै भएको असन्तुलन थियो।

उत्पादन क्षेत्रको रोजगारी समेत गुम्नेगरी चीनमा गरिने आउटसोर्सिङविरुद्ध जी-सेभन राष्ट्रहरूमा उत्पन्न घरेलु असन्तुष्टिले कतिपय अवस्थामा राजनीतिक रूपमा क्षति पनि पुर्‍यायो।

डब्ल्यूटीओमा चीनलाई सदस्य बनाएर त्यहाँ आर्थिक उदारीकरण पठाउँदा राजनीतिक रूपमा पनि लोकतन्त्रतर्फ डोर्‍याउन सकिन्छ कि भन्ने आशा कतिपय पश्चिमा देशको थियो। जस्तो कि भूतपूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले “लोकतन्त्रमा सबैभन्दा धेरै कदर,

गरिएको मूल्यमध्येको एक आर्थिक स्वतन्त्रतालाई चीनमा पठाइएपछि विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको उक्त देश राजनीतिक स्वतन्त्रतातर्फ पनि अघि बढ्ने” प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले भनेका थिए, “जब मानिसहरूमा सपना देख्ने मात्र होइन, सपना पूरा गर्ने स्वतन्त्रता हुन्छ तब उनीहरू आफ्नो कुरा पनि सुनियोस् भन्ने चाहन्छन्। तर यो नीति असफल भयो। चीनले आफ्नो वर्तमान अवस्थामै तीव्र रूपमा अघि बढ्न सुरु गर्‍यो।

अहिले चीन विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र हो र चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने निश्चितप्राय: छ। चीनको यो अवस्थाबारे हालै वाशिङ्टन इन्टरन्याश्नल ट्रेड एशोसिएशनमा एक वक्ताका रूपमा बोल्दै चीनलाई डब्ल्यूटीओमा प्रवेश गराउने भूमिका खेलेकी अमेरिकी,

व्यापार प्रतिनिधि शार्लिन बार्शेफ्स्कीले आफ्नो धारणा राखेकी छन्। उनले त्यहाँ चीनको आर्थिक खाकाले पश्चिमी देशहरूको “राजनीतिक नियन्त्रणयुक्त तिमी कुनै रोचक र फरक देश बन्न सक्ने छैनौँ” भनेर राख्ने गरेको विचारलाई केही हदसम्म अस्वीकृत गरिदिएको बताइन्।

उनले भनिन्, चीनको आर्थिक ढाँचाका कारण उसको फरकखाले नौलो क्षमता विकास भएको भन्न सकिँदैन तर के भन्न सकिन्छ भने पश्चिमी देशहरूले जुन प्रणालीलाई असङ्गत मानेका थिए वास्तवमा त्यो असङ्गत प्रणाली थिएन।

चीनको आर्थिक विकास: सन् २००० अघिसम्म चीनको पहिचान भनेको प्लास्टिकका विभिन्न सामान र सस्ता सामान उत्पादकको रूपमा रहेको थियो। तर त्यसबाट विश्व परिवर्तन भइरहेको थियो। विश्व व्यापारमा चीन माथि उक्लिएपछि विश्वभरि नै एउटा ठूलो परिवर्तन आयो।

काम गर्न उत्साहित चिनियाँ जनसङ्ख्या, सुपर हाईटेक फ्याक्ट्रीहरू र चीन सरकार तथा पश्चिमी बहुराष्ट्रिय कम्पनीबीचको विशेष सम्बन्धको यस्तो शक्तिशाली गठबन्धन बन्यो कि त्यसले विश्वको अनुहसार नै फेरिदियो।

चीन बिस्तारै विश्वका सबैभन्दा ठूला कम्पनीको आपूर्ति सञ्जालको अङ्ग बन्दै गयो।चीनमा उपलब्ध सस्ता मजदुरहरूले पश्चिमको उच्च जीवनस्तरका लागि आवश्यक हरेक सामानको उत्पादन गरिरहेका थिए।

अर्थशास्त्रीहरू यसलाई आपूर्तिको भूकम्प” अर्थात् सप्लाई शक भन्ने गर्छन् र यसको असर एकदमै स्तब्ध पार्ने खालको थियो। यसको असर अहिले पनि विश्वभरि देखा परिरहेको छ।

वैश्विक अर्थव्यवस्थामा चीनको सहभागिताले कैयौँ ठूला आर्थिक उपलब्धि हासिल भएको छ। त्यसमा एउटा ठूलो जनसङ्ख्या गरिबीबाट मुक्त हुनु पनि हो। डब्ल्यूटीओ सदस्य बन्नु अघिसम्म चीनमा ५० करोड मानिस गरिबीको रेखामुनि थिए।

अहिले त्यो सङ्ख्या शून्य भएको र यस बीचमा देशको अर्थव्यवस्था डलरका हिसाबले मूल्याङ्कन गर्दा १२ गुणाले बढिसकेको छ। चीनमा विदेशी मुद्राको भण्डार १६ गुणाले बढेर २३० खर्ब डलर पुगेको छ।

सन् २००० मा चीन आफ्ना उत्पादन आयातका हिसाबले विश्वको सातौँ नम्बरमा रहेको थियो। तर चाँडै नै यो विश्वको शीर्षस्थ निर्यातकर्ता बन्न पुग्यो। चीनको आर्थिक वृद्धिदर अहिले पनि बर्सेनि ८ प्रतिशत छ।

कुनै बेला त्यस्तो वृद्धिदर १४ प्रतिशतसम्म पुगेको थियो। गत वर्ष यो १५ प्रतिशतमा स्थिर बन्यो। कन्टेनर जहाजहरू विश्वव्यापारका मेरुदण्ड हुन्। डब्ल्यूटीओमा प्रवेश गरेपछि चीनमा आउनेजाने कन्टेनरको सङ्ख्या चार करोडबाट बढेर आठ करोड पुगेको थियो।

डब्ल्यूटीओमा सम्मिलित भएको एक दशकपछि सन् २०११ मा त्यस्ता कन्टेनरको सङ्ख्या तीनगुना बढेर १२ करोड ९० लाख पुगेको थियो। गत वर्ष यो सङ्ख्या २४.५ करोड थियो र चीन पुग्ने आधा कन्टेनरहरू खाली थिए भने चीनबाट निस्किने सबै कन्टेनर भरिएका थिए।

चीनमा राजमार्गहरूको विकास पनि तीव्र गतिमा भइरहेको छ। सन् १९९७ मा चीनमा ४,७०० किलोमिटर लामा राजमार्ग थिए भने सन् २०२० मा बढेर १,६१,००० किलोमिटर पुगेको छ। अहिले चीनमा विश्वकै सबैभन्दा लामो राजमार्ग सञ्जाल रहेको छ।

त्यहाँ दुई लाखभन्दा बढी जनसङ्ख्या भएका ९९ प्रतिशत सहरहरू राजमार्गले जोडिएका छन्। यस्ता पूर्वाधारका साथसाथै चीनलाई उत्पादन बढाउनका लागि धातु, इन्धन र खनिज तत्त्वको पनि आवश्यकता छ।

चीनमा तीव्र गतिमा बढिरहेको सवारीसाधन र विद्युतीय सामग्रीहरूको उत्पादनका लागि स्टीलको आवश्यकता छ। सन् २००५ मा पहिलो पटक चीन स्टील निर्यातकर्ता बन्यो र अहिले विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता भएको छ।

सन् १९९० को दशकमा चीनले वार्षिक रूपमा १० करोड टन स्टील उत्पादन गर्थ्यो। डब्लूटीओको सदस्य बनेपछि सन् २०१२ मा चीनले वार्षिक रूपमा ७० करोड टनसम्म स्टील उत्पादन गरेको थियो।

सन् २०२० मा चीनले एक अर्ब टनको कीर्तिमान पनि भङ्ग गर्‍यो। विश्वभरि उत्पादित स्टीलमध्ये चीनले मात्र ५७ प्रतिशत उत्पादन गर्छ र सन् २००१ मा विश्वभरि जति स्टील उत्पादन हुन्थ्यो त्यो अब चीन एक्लैले गरिरहेको छ।

सेरामिक टाएल र अन्य औद्योगिक प्रयोगका वस्तुमा पनि चीनको अवस्था यस्तै छ। विद्युतीय सामान, कपडा, खेलौना र फर्निचरलगायतमा पनि चीन विश्वको आपूर्तिको सबैभन्दा मुख्य स्रोत हो।

अनि उसले विश्वभरिका उत्पादकहरूलाई उत्पादनको मूल्य घटाउन बाध्य पारिदिएको छ। चीन डब्ल्यूटीओमा सदस्य बनेपछि उत्पादनहरूको मूल्य अस्वाभाविक रूपमा घटेको देखिएको थियो।

सन् २००० देखि २००५ बीच चीनमा उत्पादित कपडाको निर्यात दुई गुना बढ्यो। त्यस अवधिमा विश्वव्यापारमा चीन पाँचौँबाट तेस्रो स्थानमा आइपुग्यो। सन् २००५ पछि कपडामा लाग्दै आएको कोटा प्रणाली हटाइएपछि चीनको अंश अझ बढ्न पुग्यो।

तर फेरि चीनमा उत्पादन लागत महँगो हुन थालेकाले बाङ्ग्लादेश र भियतनामजस्ता देशहरूमा उत्पादन बढ्दा गत वर्ष चीनको हिस्सेदारी ३२ प्रतिशतमा खुम्चिएको छ। चिनियाँ आर्थिक खाका: चीनलाई विश्व व्यापार सङ्गठनमा सम्मिलित गराउन।

भूमिका खेलेका चीनका मन्त्री लङ योङ्टुले विगत दुई दशकको परिवर्तनबारे पश्चिमा देशको भन्दा अलि भिन्न धारणा राखेका छन्।उनी भन्छन्, चीनलाई डब्ल्यूटीओमा सहभागी गराउनु अमेरिका वा पश्चिमी देशका लागि ऐतिहासिक भूल थिएन।

तर त्यसको बाँडफाँट वा लाभ असमान छ भन्ने मलाई लाग्छ। वास्तविक कुरा के हो भने चीनले आफ्नो विकास हासिल गरेपछि उसले बाँकी विश्वलाई एउटा विशाल निर्यात बजार उपलब्ध गरायो। उनी सम्पत्तिको समान बाँडफाँट नहुँदा,

सरकारले आन्तरिक नीतिहरू बनाएर त्यसलाई नियमन गर्नुपर्ने बताउँछन्। तर त्यसो गर्नु सहज नभए पनि उनको बुझाइ छ। उनी अर्कालाई आरोप लगाउनु उचित नभएको बताउँदै भन्छन्, चिनियाँ अनुपस्थितिमा अमेरिकी उत्पादनमूलक उद्योगहरू मेक्सिको पुग्न सक्छन् नि!

डब्ल्यूटीओभित्र पनि चीनले ठूलो सफलता प्राप्त गरेको छ। अहिले अमेरिकामा पनि बाइडन सरकार चीनलाई रोक्ने खालका नीतिलाई परिवर्तन गरिहाल्ने हतारोमा छैन।चीनलाई पश्चिमी देशहरूको एउटा मर्मत केन्द्र वा सस्तो उत्पादन स्थलका रूपमा हेरेका थिए। तर चीनले डब्ल्यूटीओको सदस्यतालाई,

त्योभन्दा धेरै प्राप्त गर्नका निम्ति उपयोग गरेको छ। उदाहरणका लागि चीनले यस्तो गठबन्धन बनाएको छ जसबाट उसले नेट जीरो जलवायु परिवर्तनयुक्त आर्थिक क्रान्ति गर्नका लागि आवश्यक दुर्लभ प्राकृतिक स्रोतको आपूर्ति गर्न सक्छ।

चीनले विश्वभरि आफ्नो उद्योग विस्तार गरेको छ र ती उद्योगका पछाडि चिनियाँ सरकार उभिएको छ। अमेरिकाले कूटनीतिक र आर्थिक रूपमा चीनलाई रोक्ने प्रयास गरिरहेको छ। उसले एशिया र युरोपमा गठबन्धन बनाइरहेको छ।

अमेरिकाकी भूतपूर्व व्यापार प्रतिनिधि शार्लिन बार्शेफ्स्की भन्छिन्, चीन केही समयदेखि यो एकदमै अलग खालको बाटोमा हिँडिरहेको छ। यसको अर्थ के हो? राष्ट्रकेन्द्रित आर्थिक खाका बलियो हुनु?

यसमा तोकिएका उद्योगीलाई धेरै सहुलियत दिइन्छ। चीन एउटा महाशक्तिका रूपमा अघि बढिरहेको छ र यो नयाँ दौडको नेता बनिरहेको छ। त्यसलाई उसले चौथो औद्योगिक क्रान्ति भनिरहेको छ।

यसलाई सम्हाल्न धेरै कुरा गर्नुपर्छ। डब्ल्यूटीओले त्यसलाई नियन्त्रण गर्न सक्दैन।अहिले आएर २० वर्षपछि हेर्दा एउटा निर्णयले विश्वलाई पूरै परिवर्तन गरेको देखिन्छ। उक्त निर्णयमा धेरैले कमै ध्यान दिएका थिए।

त्यो निर्णय चीनका लागि सफलताको सूत्र प्रमाणित भयो भने पश्चिमी देशहरूका लागि भूराजनीतिक र रणनीतिक असफलता बन्यो। यदि आर्थिक दृष्टिकोणले भन्ने हो भने उक्त निर्णयले पश्चिमी देशहरू चीनजस्तै बन्दै गइरहेका छन्।

प्रतिक्रिया