आज : गते

ताजा शिर्षकहरु

विवादले घेरिन थालेपछि प्रचण्डलाई बम्पर सरप्राइज दिने तयारी

प्रकाशित
1.5K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बम्पर सरप्राइज दिने तयारी भएको छ। उनी नेतृत्वको पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि छुट्टै घर बनाउने तयारी थालिएको हो।

माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डका लागि पार्टीले छुट्टै घर बनाउने गरी तयारी थालिएको बताएका छन्। शान्ति सम्झौतापछि खुला राजनीतिमा आएका प्रचण्ड राजधानी काठमाडौंका विभिन्न ठाउँमा डेरामा बस्दै आएका छन्।

सुरुमा काठमाडौंको नयाँ बजारमा डेरा लिएर बसेका उनी त्यसपछि लाजिम्पाटस्थित एउटा महंगो भवनमा भाडामा बसेका थिए। त्यहाँबाट पनि सरेर प्रचण्ड अहिले ललितपुरको खुमलटारमा त्यस्तै महंगो भवनमा बस्दै आएका छन्।

सशस्त्र विद्रोहबाट शान्तिप्रक्रियामा आएपछि प्रचण्डले आफ्नो सुरक्षालाई सबभन्दा महत्व दिँदै आएका छन्। त्यहीकारण पनि उनले आफू बस्ने घर सोहीअनुसार छनोट गर्दै आएको देखिन्छ।

लाजिम्पाट र खुमलटारको निवासका कारण उनले धेरै टिकाटिप्पणी र आलोचना पनि ब्यहोर्नुपरेको छ। जस्तो कि, लाजिम्पाटमा प्रचण्ड बसेको घर व्यापारी अजयराज सुमार्गी सुमार्गीका आफन्तको हो।

शंकास्पद कारोबार गरेर धन आर्जन गरेका भनिएका सुमार्गीको घरमा बसेको विषयलाई लिएर प्रचण्डको आलोचना हुने गरेको थियो। कतिपयले त त्यो घर सुमार्गीले प्रचण्डकै लागि किनिदिएकोसमेत बताउने गरेका थिए।

तर, यही चर्चाबीच उनले लाजिम्पाटको त्यो घरमा ‘डेरा’ छाडे। लाजिम्पाटबाट सरेर प्रचण्ड, निर्माण व्यवसायी सारदाप्रसाद अधिकारीको खुमलटारस्थित भवनमा बस्दै आएका छन्।

प्रचण्डका पछिल्ला घरभेटी अधिकारी विभिन्न सरकारी ठेक्का लिएर लामो समयसम्म अलपत्र पार्ने निर्माण व्यवसायी ठेकेदारका रुपमा चिनिन्छन्। अधिकारीले ठेक्का लिएका योजना लामो समयसम्म अलपत्र पर्दा प्रचण्डको समेत आलोचना हुने गरेको छ।

सधैं घरभेटीका कारण विवादमा परेपछि पार्टीले पैसा जम्मा गरेर अध्यक्षका लागि घर बनाउने तयारी थालेको गजुरेलको भनाइ छ। काठमाडौंमा घर बनाउने भनेपछि धनीमानी, ठेकेदार, व्यापारी नै हुन्छन्।

निवास खोज्दै जाँदा कहीँ न कहीँ यस्ता मान्छे पर्ने रहेछन्,’ गजुरेलले भने, ‘बाहिरबाट हेर्दा पहिलो घर सुमार्गीसँग जोडियो। दोस्रो निवास ठेकेदार सारदा अधिकारीसंग जोडिइहाल्यो।

यस्तो स्थिति नआओस् भन्नका लागि हामीले नयाँ ढंगले पहल गर्नुपर्छ भन्ने सोचिरहेका छौं। नेताका लागि निवास खोज्न जटिल भएको गजुरेलले आफ्नो अनुभव सुनाए। ‘जहाँ पायो त्यहीँ डेरा दिँदैनन्।

खोज्दै जाँदा भन्या जस्तो पाइँदैन। मलाई नै उतिबेला अध्यक्ष कमरेडले ल खोज्नुस् त हरिबोलजी डेरा भन्नु भएको थियो,’ गजुरेलले भने, ‘मैले अध्यक्षको डेरा निक्कै खोजेँ, तर कहीँ के मिल्दैन, कहीँ के मिल्दैन।

मिले पनि माओवादीलाई दिन्न भन्ने हुन्छन्। त्यसले गर्दा डेरा खोज्न जटिल पनि रहेछ। जे–जस्तो भएपनि निवासका विषयमा नयाँ विकल्प दिनुपर्छ। जसले गर्दा विवाद नआओस्।

अध्यक्षसहित पार्टीका शीर्ष नेताहरुको निवास पार्टीले नै बनाउने विषयमा यसअघि बालाजु विस्तारित बैठकमा प्रसंगसमेत उठेको गजुरेलले बताए। ‘बालाजुको विस्तारित बैठकमा नेताहरुले निजी सम्पत्ति पार्टीलाई दिने,र पार्टी केन्द्रीय समितिले व्यवस्थापनको जिम्मा लिने भन्ने प्रसंग उठेको थियो,

गजुरेलले भने, ‘नेताको केही सम्पत्ति र पार्टीको सम्पत्ति जोडेर सामूहिक जग्गा लिने, विस्तारै अध्यक्षसहित अरु नेताहरुको घर बनाउने भन्ने विषयमा मैले नै लिखित रुपमा प्रस्ताव दिएको थिए। पछि त्यो विषय त्यतै सेलायो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ