आज : गते

ताजा शिर्षकहरु

अन्तिम पटक हो प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग के मागे ?

प्रकाशित
838
SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापति बन्ने चहनामा रहेको भन्दै सहयोग मागेका छन् ।

उनले अन्तिम एक पटक सभापति बन्न चाहेको बताउँदै सहयोग गर्न सबै पत्रकार सञ्चारकर्मीहरु मार्फत सहयोग मागेका हुन् ।

‘म पार्टीको विधान बमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु,’ बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु । तपाईँहरुमार्फत पनि आग्रह गर्न चाहन्छु।’

त्यसअघि देउवाले काँग्रेसले महाधिवेशन तामझामका साथ नगर्ने पनि बताएका थिए । जनतालाई दुख दिने नियत काँग्रेसको नभएको भन्दै उहाँले शक्ति प्रदर्शन नगर्ने उनले बताए ।

उता महाधिवेशन आउन केही दिनमात्र बाँकी रहँदा नेपाली कांग्रेसको पौडेल समूहका नेताहरु उम्मेदवारबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा भेला भएका छन् । सभापतिका आकांक्षी सो समूहका चारजना नेताहरु बोहोराटारमा भेला भएका हुन् ।

सभापतिका आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पौडेल निवास पुगेका छन् । वरिष्ठ नेता पौडेल पनि सभापतिका आकांक्षी हुन् ।

पार्टीको प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि यी प्रमुख चार नेताबीच छलफल भएको हो । प्रदेश अधिवेशन पौडेल समूहले सोचे जस्तो नआएपछि यो समूहमा एकजनामात्र सभापतिको उम्मेदवार बन्नुपर्ने दबाब बढेको छ ।

पौडेल समूह बलियो मानिएको वागमती र प्रदेश एकमै देउवा समूह विजयी भएपछि पौडेल समूहमा साझा उम्मेदवार बनाउन थप दबाब बढेको छ । सभापतिका आकांक्षी चारैजनाले साझा उम्मेदवार बनाउने बताए पनि आफ्नै नाममा सहमति हुनुपर्ने अडान राख्दै आएका छन् ।

सभापतिमै कुरा नमिलेपछि अन्य पदहरु सपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षीले पनि उम्मेदवारी घोषणा गर्न सकेका छैन । यो समूहमा रहेका गगन थापाले महामन्त्री र बद्रि पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबारको छलफलले उम्मेदवारीबारे केही स्पष्ट पार्ने नेताहरुले बताएका छन् ।

उता सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि भने उम्मेदवारी घोषणा गरेर प्रचारको काम थालिसकेका छन् ।

यसैबीच एक अपील जारी गर्दै वरिष्ठ नेता पौडेलले विभिन्न कार्य समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाइ दिएका छन् । उनले पार्टीको संगठन निर्माणमा खटिनसमेत आह्वान गरेका छन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ