आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति भण्डारीको यस्तो आव्हानले देशभर तरंग

प्रकाशित
665
SHARES

काठमाडौँ । राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गरेकी हुन् । यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

एमाले भनेकै केपी ओली !
नेकपा एमाले र केपी ओली एकै भए । एमाले नामको पुरानो नेपाली राजनीतिक दल सर्लक्कै अध्यक्षको व्यक्तित्वमा सहवरण भयो । त्यसैले अधिकांश एमालेका लागि कार्टुनिस्ट रवि मिश्रले भनेजस्तै चितवन–अनुष्ठान ‘बा’–अधिवेशन नै थियो।

औपचारिक रूपमा दसौं महाधिवेशन भनिने एमालेको हालै सम्पन्न उत्सवलाई लेखक सञ्जीव पोखरेलले हिन्दु नेपाली घरहरूमा लगाइने चौरासी पूजाजस्तो भने बेठीक भनेनन्। आलोचनाको रहरले मात्रै होइन, नारायणी किनारमा भएका तमाम गतिविधिलाई राम्रोसँग बुझेर नै यी व्यंग्य अभिव्यक्त भएका हुन् । कनातिपुर दैनिकमा समाचार छ।

भविष्यमा कुनै इतिहासवेत्ताले ७० को दशकको उत्तराद्र्धमा नेपालकै ठूलो कम्युनिस्ट पार्टीको सबैभन्दा महत्त्वपूर्ण औपचारिक अनुष्ठान कसरी सम्पन्न भएछ भनेर लेखागार खोतल्यो भने, रवि मिश्र र सञ्जीव पोखरेलका यिनै लिखत फेला पार्नेछ । सम्यक् दृष्टिकोण राखेर यस महाधिवेशनको गम्भीर लेखाजोखा गर्न कोसिस गरेछ भने उसले निकाल्ने निष्कर्ष सम्भवत: यस लेखको पहिलो वाक्यकै वरपर हुनेछ ।

महामारी र अन्य दर्जनौं समस्याले थिलथिलो भएको समाजमा यति खर्चिलो उत्सव केका लागि आयोजना गरियो ? सिंगो पार्टीलाई व्यक्ति अध्यक्षमा विलीन गराउनबाहेक यसको अर्को उपादेयता खासै देखिनेछैन । सो अनुसन्धाताको पार्टीप्रति कुनै भावनात्मक लगाव र झुकाव नभएमा उसले घनश्याम भुसाल, भीम रावल र टंक कार्कीहरूप्रति किञ्चित् सहानुभूति राख्दै भन्ला— आखिर यिनका केही जायज प्रयत्न पनि एमालेको लोकतान्त्रिक आवरण बचाउन मात्रै उपयोग भएछन् !

सिंगो पार्टीपंक्तिमा भुसाल र रावलको महत्त्वपूर्ण हस्तक्षेपको कस्तो प्रभाव पर्ला त ? कदाचित् कसैले लोकतान्त्रिक विधि र पद्धतिको प्रश्न उठाए, यी दुई–चार नाम लिइदिएर आफ्नो बचाउ गर्नेछन् ओली र उनका समर्थकले, बस ! भुसाल, रावल र कार्कीका प्रयत्नलाई पार्टीको ठूलो हिस्साले एमालेको लोकतन्त्रीकरण गर्ने सामथ्र्य बनाउला भनेर अनुमान गर्ने आधार छैन ।

नारायणी किनारमा भुसालहरूले उठाएका प्रश्न त्यसरी नै बेकामे सिद्ध हुनेछन्, जसरी स्वयं भुसालले लेखेको र नवौं महाधिवेशनले पार्टी–दस्तावेजका रूपमा स्वीकार गरेको ‘सिद्धान्त’ सबैभन्दा पहिले एमालेकै लागि निष्प्राण साबित भएको थियो । भुसाल एक्लैले सो दस्तावेजको सबलता पुष्टि गर्दैै हिँडेको दृश्य अरण्यरोदनझैं देखिन थालेको त्यसै होइन ।

मान्नैपर्छ, केपी ओलीमा सहवरण हुने प्रक्रियालाई एमालेले भव्यतासाथ प्रदर्शन गर्‍यो । ठूलो रमिता सृजना गरेर यस्ता काम गर्नु एमालेको विशेषता हो । केपी ओली नेतृत्वको पार्टी मात्रै होइन, सरकारले पनि यस्ता भव्यता प्रदर्शनमा आफ्नो अब्बलता पटकपटक प्रमाणित गरेको छ । ती तामझामलाई माथ गर्न कुनै ठूला व्यापारिक घरानाले आफ्ना ‘माल’ बेच्न आयोजना गर्ने महोत्सवले पनि सक्दैनन् । नारायणी किनारमा बनेको स्टेज मात्रको खर्च सुनेर लाखौं अकिञ्चन नेपालीले जिब्रो टोकेका छन् । यसअघि त्यसरी नै तामझामसहित गरिएका अनुष्ठानको स्मरण गर्न जरुरी छ किनभने तिनले बनाउने शृंखलाको खास अर्थ हुन्छ ।

भव्यतापूर्वक गरिएको पार्टी एकताको चर्चा गरौं । दसौं महाधिवेशनजत्तिकै ठूलो र खर्चिलो नभए पनि नेकपाको एकता आह्वानमा फुर्तीफार्ती सानो थिएन । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफूहरू एक भएको आह्वान सानो स्वरमा गरेका होइनन् । दर्जनौं दिनसम्म नेपालका सबै अखबारका मुखपृष्ठमा एकताको रौनक छायो ।

टीभी र अनलाइन समाचार साइटहरू डबल–नेकपा निर्माण हुने उत्साहमा ओतप्रोत थिए । केपी ओली र पुष्पकमल दाहाल यी खबरका मध्यभागमा ठाँटिएका देखिन्थे । दुनियाँलाई नेपाली कम्युनिस्टको तागत देखाइदिने दलिलहरू सुनिन्थे । देशी–विदेशी षड्यन्त्रकारी र कम्युनिस्टविरोधीले खेल्न नसक्ने डंका उत्तिकै ठूला थिए । समाजवादी क्रान्ति सम्पन्न हुने दाबीको कुरै नगरौं ।

बाहिर ठूलो तामझाम देखाएर भित्र गरिएको के थियो ? व्यापारीले खुला गरेका आफ्ना घरका कोठाचोटामा भेला हुने र निजी पदीय स्वार्थका हिसाबकिताब गर्नेबाहेक केही पनि थिएन । ‘जनताको बहुदलीय जनवाद’ र ‘जनताको जनवाद’ जस्ता नामहरू केवल ब्रान्डिङका समस्या मात्र थिए । पार्टीको नाम र चुनाव चिह्न बरु पेचिला विषय बने किनभने तिनलाई बिकाउ वस्तु बनाउनु थियो ।

नीति कस्ता हुने, कार्यक्रम के फरक हुने, हिजोका फरक एजेन्डामा कहाँ कसरी सहकार्य हुने, सैद्धान्तिक र वैचारिक प्रश्नको त के कुरा, यी तमाम विषयहरू प्राथमिक नभएका मात्र होइनन्, कहिल्यै विषय नै बनेका थिएनन् । कम्युनिस्ट हौं भनेर स्वाङ पारिरहनु लाभदायक भएकाले मात्र सतहमा अनेक जार्गन फलाकिएका थिए ।

ठूलो तामझामसहित गरिएको पार्टी एकताको सबैभन्दा बढी व्यक्तिगत लाभ केपी ओलीले उठाए । कथित कम्युनिस्ट एकताका बलमा चुनाव जिते, प्रधानमन्त्री बने । शक्तिको चरम दुरुपयोग गरे, आफ्ना वरपरका व्यापारी र स्वार्थ समूहलाई आर्थिक रूपमा बलियो बनाए । ओली मात्र बलिया भएकाले दाहाललाई सकस भयो । एकताको आधार नै उनीहरूका निजी स्वार्थ थिए, ती टकराए, पार्टी फुट्यो । सोही फुटलाई आफ्नो सामथ्र्यमा बदल्दै केपी ओलीले आफूमै सिंगो एमालेलाई सहवरण गराए ।

एमाले नेतृत्वको सरकारले गरेका केही उत्सव यस्तै तामझामपूर्ण थिए । करिब दुईतिहाइ मतसहित प्रधानमन्त्री बनेको दुई महिना पनि नबित्दै मुगु जिल्लामा पर्ने रारा ताल पुगेर केपी ओलीले नेपाललाई समृद्ध बनाउने सपना सुनाएका थिए । तामझाम र होहल्ला सानो थिएन, उनलाई राजा महेन्द्रसँग तुलना गरिदिनेको लर्को पनि उत्तिकै ।

भिडियो र फोटो राम्रा खिच्न, टीभी र अखबारमा ठाँटले देखा पर्न योजना बनाएरै रारा ताल पुगेका थिए उनी । विकासको ३१ बुँदे कथा सुनाएर फर्केका ओली तत्पश्चात् केवल एउटै काममा केन्द्रित भए— जसरी हुन्छ आफ्नै प्रशंसा गराउने र आफू नेतृत्वको सरकारको प्रशंसामा प्रोपगान्डा मच्चाउने । विकास र समृद्धिका उनका सपना र उनको सरकारले गरेका काममा संगति थिएन, कुनै पनि काम पूरा भएन । ती सपना आफैंमा कति हाम्रा प्राथमिकता हुन् र कति अपरिहार्य हुन् भन्नेमा सन्देह गर्नुपर्ने ठाउँ त कतिकति !

उस्तै तामझाम देखिएको थियो ओली सरकारको सक्रियतामा आयोजित एसिया प्यासिफिक सम्मेलन जसको मूल आयोजक थियो विवादस्पद धार्मिक संस्था युनिभर्सल पिस फेडरेसन । सो धार्मिक सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी ओली स्वयं होटलमा बास बसेर सक्रियतापूर्वक सहभागी भए । त्यति मात्रै होइन, संस्थाकी प्रमुख हाक जा हान मुनबाट सम्मान र पुरस्कार पनि ग्रहण गरे ।

विभूषण र पुरस्कार ग्रहण गर्नेबारे संविधानमा उल्लेख भएको प्रावधानको समेत बेवास्ता गर्दै, मन्त्रिपरिषद्लाई औपचारिक जानकारी नदिई उनले पुरस्कार ग्रहण गरेका थिए । ओलीका सल्लाहकार र निकटवर्तीहरू सो कार्यक्रमलाई नेपालको परराष्ट्र सम्बन्ध सुदृढ बनाउने उपक्रम भनी व्याख्या गर्थे । नेपाल संसारमा चिनिएको र चर्चित भएको अतिरञ्जित कथा हाल्न पनि भ्याएका थिए । अन्तर्यमा दलाली मात्र छ भनेर बुझ्न कुनै विलक्षण प्रतिभा र गोप्य सूचनाको स्रोत आवश्यक थिएन ।

आयोजक संस्थाका नेपाल प्रमुख र परिवार दल नामक अनौठो राजनीतिक दलका अगुवा एकनाथ ढकाल पहिल्यैदेखि विवादास्पद थिए । उनका रहस्यमयी काम र प्रयासबारे पटकपटक सार्वजनिक चर्चा हुने गरेका थिए । विवादास्पद धार्मिक संस्थाबारे इन्टरनेटमा खोजी गर्दा नै पर्याप्त सूचना पाउन सकिन्थ्यो ।

कुनै जनाधार, विश्वसनीयता र पारदर्शितासमेत नभएको दलको सक्रियताले समेत झस्काउनुपर्ने थियो सरकारको नेतृत्व गर्नेहरूलाई । तर बाहिर परराष्ट्र सम्बन्धको दुहाई दिए पनि, गरेको खसोखास दलाली नै थियो । आमवृत्तमा आलोचना भएकाले सो सम्मेलनमा बाँडिएको होली वाइन सोझै पिउनबाट वञ्चित भएका ओली र उनका समर्थकले भने सधैं सो कार्यक्रमको बचाउ नै गरिरहे ।

आम मजदुरमा सकारात्मक र दूरगामी प्रभाव पार्न सक्ने सामाजिक सुरक्षा भत्ताजस्तो कार्यक्रमलाई केवल तामझामका लागि उपयोग गरेको पनि ओली नेतृत्वकै सरकारले हो । इमानदार प्रयत्न र निरन्तर मिहिनेत एवं पैरवी गरिएको भए सामाजिक सुरक्षा भत्तालाई सुचारु गर्न सकिन्थ्यो । विभिन्न क्षेत्रमा कामदारका रूपमा नियुक्त अनेक किसिमका श्रम गर्ने आम नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्न अत्यावश्यक थियो ।

तर बिजुलीका खाँबा र सडकका भित्तामा आफ्ना तस्बिर झुन्ड्याउने र प्रशंसा गराउने उपक्रम मात्र बनाइएको यो अभियान सफल हुन सकेन । वर्षौं बितिसक्दा पनि न कसैले लाभ लिन सकेका छन्, न सामाजिक सुरक्षा भत्तामा कोही विश्वस्त नै हुन सकेका छन् ।

यसरी शृंखलामा हेर्‍यो भने, ओली नेतृत्वमा भएका भव्य उत्सवहरू केवल ओली मात्रको निजी स्वार्थ र चर्चामा केन्द्रित भएका देखिन्छन् । यी भव्य अनुष्ठानहरूले आम नागरिकको, सिंगो पार्टीपंक्तिको, सामाजिक आन्दोलन वा अभियानको हित गरेका छैनन् । ओली नेतृत्वमै सम्पन्न एमालेको विधान महाधिवेशन र दसौं महाधिवेशन पनि सोही शृंखलाका नयाँ कडी मात्र हुन् ।

फरक कति मात्रै हो भने, ओलीको उदयभन्दा अघिसम्म एमाले एउटा नोकरशाही संयन्त्रसहितको व्यवस्थित पार्टी थियो । कुशल व्यवस्थापकहरूले यसमा भएका आम कार्यकर्तालाई कम्तीमा पार्टी–काममा सक्रिय सहभागी भएको अनुभूतिसम्म दिन्थे ।

ओलीको उदयपछि, सिंगो पार्टी उनकै वरपर झुम्मियो । सबैभन्दा पछिल्लो नारायणी किनारको कुम्भमेलाले भने ‘एमाले भनेकै केपी ओली, केपी ओली भनेकै सिंगो एमाले’ भन्ने यथार्थलाई औपचारिकता प्रदान गर्‍यो । अब हेर्नु छ, केपी ओली अर्थात् एमालेको पतन कतिको भव्य हुनेछ !

प्रतिक्रिया