आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले महाधिवेशन अपडेट- मतदान सकियो

प्रकाशित
1K
SHARES

काठमाडाै‌ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मंगलबार बिहानदेखि जारी मतदान साढे १० बजे सकिएको हो ।

महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले ढिला गरी सुरु भएको थियो । एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान भएको हो ।

एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ।

ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्व माओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

यसैबीच एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलले प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् । उनले प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको समेत बताएका छन् ।

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’, उनले ट्वीटरमा भनेका छन्,’ उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’

केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि विवाद भएको हो । यता नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतदान स्थलमा कसैलाई भोट नहाल भन्दै पर्चा बाँड्नु गलत भएको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्षका अर्का उम्मेदवार भीम रावललगायत उम्मेदवारलाई भोट नहाल्न सूची नै मतदान स्थलमा वितरण गरेका थिए।

आज बिहान उनीहरूले भोट नहाल्न भन्दै सूची नै वितरण गरेपछि रावलले विरोध गरेका छन्। आयोगका अध्यक्ष सुब्बाले पनि त्यस्तो पर्चा हटाउन प्रहरी तथा प्रशासनलाई आग्रह गरिएको बताए।

‘मतदानस्थलमा कसैलाई भोट नहाल भन्ने सूची बाँड्नु आचारसंहिता विपरीत काम हो। पर्चा हटाउन प्रहरीलाई भनिसकिएको छ,’ सुब्बाले भने, ‘यो गतल हो। म भित्र छु। बाहिर पर्चा बाँडेको भन्ने छ। पर्चा हटाउन प्रहरीलाई आग्रह गरेपछि अहिले कम भयो होला।’

मतदानस्थलमा यसरी कसैका पक्ष वा विपक्षमा सूची नै बनाएर भोट हाल वा नहाल भन्न नमिल्ने पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बताउँछन्। भोट नहाल भनेर सूची नै वितरण गरिनु अलोकतान्त्रिक हुने पनि उनको भनाइ छ।

‘मतदान सुरू भइसकेपछि लाइनमा बसेकाहरूलाई मलाई मत देऊ भन्न पनि पाइँदैन नदेऊ भन्न पनि पाइँदैन,’ उप्रेतीले भने, ‘चुनाव हुनु भनेको लोकतान्त्रिक पद्धती हो। यदी विधिवत रूपमा दल चलेको छ भने प्रचारप्रसारका लागि समय तोकिनुपर्छ।’

निर्वाचन प्रक्रिया सुरू भयो र प्रचारप्रसारका समय सकियो भने कसैलाई भोट हाल वा नहाल भन्न नमिल्ने उनले बताए।

‘चुनावी प्रक्रिया सुरू भएपछि कसैलाई मत दिनु र नदिनु भनेर बोल्न, लेख्न वा प्रचारप्रसार गरिनु हुन्न। यदी गरियो भने यो लोकतान्त्रिक प्रक्रियाभन्दा फरक हुन्छ,’ उनले भने।

प्रतिक्रिया