आज : गते

ताजा शिर्षकहरु

युरोप जान इरानको बाटो: मानव तस्करीको टर्की ‘कनेक्सन’

प्रकाशित
517
SHARES

एजेन्सी। चार महीना अघिको कुरा हो, टर्कीको इस्तानबुलमा मानव तस्करहरूले नेपाली सहित सात जनालाई एउटा घरभित्र बन्धक बनाए। उनीहरूले टाउकोमा बन्दूक राखेर पैसा र मोबाइल मात्रै लुटेनन्,

बन्धक बनाइएका व्यक्तिका परिवारसँग फिरौती रकम समेत मागे। बन्धक बनाइएकाहरूलाई ‘आफूहरू गन्तव्यमा पुगिसकेको’ भन्न लगाएर ‘परिवारलाई पैसा दिन भनिएको’ भिडियो समेत सार्वजनिक भयो।

युरोप छिर्ने उपाय खोज्दै अवैध रूपमा टर्कीदेखि ग्रीस जान लागेका ती सात नेपालीलाई पाकिस्तानी मानव तस्करहरूले बन्धक बनाएका थिए। डर र धम्की दिएर रेकर्ड गरिएको उक्त भिडियोमा ६ जना नेपाली सहित एक अफ्रिकी मूलका नागरिक थिए।

६ नेपालीमा चार युवती र दुई युवक थिए। भिडियोलाई राम्ररी नियाल्ने हो भने उनीहरू त्रसित हुँदै बोलेको थाहा हुन्छ। तस्करहरूले उनीहरूसँग जनही दुई हजार युरो मागेका थिए।

तर पाकिस्तानी र नेपाली एजेण्टका बीचमा पैसा लेनदेनमा कुरा नमिलेपछि यो कुरा टर्कीको प्रहरी विभाग सार्वजनिक सुरक्षा ब्यूरोमा पुग्यो। लगत्तै प्रहरीले ‘अपरेसन’ गर्‍यो। बन्धक बनाइएका नेपालीलाई उद्धार गरियो। चार जना पाकिस्तानी मानव तस्करलाई प्रहरीले समात्यो।

नेपालबाट सोझै अथवा भारतबाट युएई वा इरान हुँदै कसरी नेपालीहरू दशौं लाख रुपैयाँ खर्च गरेर टर्की गइरहेका छन् ? अनि त्यहाँबाट अवैध रूपमा युरोप छिर्न तिनले गरेको दुःख थाहा पाउँदा जो कसैको आङ सिरिङ्ग हुन्छ।

यो खबर टर्कीको दैनिक पत्रिका ‘सोजू’ ले ‘इस्तानबुलमा बन्धकहरूको उद्धार अभियान’ शीर्षकमा २३ असार २०७८ (६ जुलाई २०२१) मा प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि मात्रै घटना सम्बन्धी सम्पूर्ण विवरण बाहिर आएका हुन्।

जबरजस्ती थुनामा राखेको र बन्धक बनाएको अभियोगमा उनीहरूसँग बयान लिएपछि न्यायिक कारबाही अघि बढाइएको’ पत्रिकाको समाचारमा उल्लेख छ। समाचारमा पीडित नेपाली लगायत घटनामा संलग्न व्यक्तिहरूको पहिचान समेत खुलाइएको छ।

चितवन पार्वतीपुर–८ का २६ वर्षीय सरोजकुमार श्रेष्ठ टर्की आइपुगेको चार वर्ष भयो। पहिले उनलाई टर्की नै युरोप हो भन्ने लाग्थ्यो। पोखरा घर भएका सुजन बञ्जरा भाटलाई साढे ४ लाख रुपैयाँ बुझाएर आफू टर्की आएको उनको भनाइ छ।

शुरूमा युरोप भनेर नै यहाँ आइयो। कार्ड बन्छ परिवार ल्याउन पाइन्छ भनेर दलालले अनेक सपना देखाए, त्यसैमा विश्वास गरियो, फसियो’, उनले भने। उनी टर्की छिर्दा पाँच दिनको मात्रै भिसा थियो। त्यहाँ पुगेपछि कार्ड बन्छ भनिएको थियो। उनले कार्ड ‘एप्लाई’ गरे तर बनेन।

चार वर्षदेखि उनी गैरकानूनी रूपमा टर्कीमा बस्दै आएका छन् । नेपालदेखि सँगै आएको साथी जोखिम मोलेर फ्रान्स पुगिसकेको बताउँदै उनले भने, ‘म चाहिं युरोप छिर्न नसकेर यहीं बसें। लुकेर काम गरेर भए पनि जेनतेन जीवन चलिरहेको छ।

दुई वर्षअघि युरोप छिर्न गरेको दुःख सम्झँदै उनी भन्छन्, अगाडि बढ्ने भनेर मैले दलाललाई साढे ६ लाख रुपैयाँ बुझाएँ। युरोप छिर्न भनेर ग्रीससम्म पुगेको थिएँ। पुलिसले समातेर फेरि टर्की नै फिर्ता पठाइदियो। नेपालदेखि टर्की र टर्कीदेखि युरोप जाने चक्करमा अहिलेसम्म उनले साढे १० लाख रुपैयाँ गुमाइसकेका छन्।

उनले केही दिन जेल समेत बस्नु पर्‍यो। ग्रीससम्म लिएर जाने पाकिस्तानी एजेन्टलाई पैसाको मामिलामा अर्को पाकिस्तानीले अपहरण गरेर राखेको रहेछ । हामी पनि त्यहीं बस्थ्यौं’ उनले भने, ‘पुलिसले छापा मार्दा हामी पनि समातियौं। पछि अदालतबाट सफाइ पायौं। आफू जस्ता दुई हजार जति नेपाली टर्कीमा रहेको बताउने उनी अब तीन महीनामा नेपाल फर्कने तयारीमा छन्।

नेपालीलाई टर्कीमा बन्धक बनाएपछि परिवारले पाकिस्तानमा फिरौती रकम बुझाएका घटना समेत छन्। चार वर्षअघि टर्कीमा तीन नेपाली युवालाई अपहरण गरेपछि परिवारले करीब १५ लाख रुपैयाँ पाकिस्तान पठाइदिएपछि मात्रै उनीहरू छुटेका थिए।

युरोप छिर्न मौका कुरेर टर्कीमा बसेका नेपाली लुटिनु, बन्धक बनाइनु, अपहरणमा पर्नु सामान्य जस्तो मानिन्छ। जस्तो कि २०७८ असार महीनामा टर्कीको एक राष्ट्रिय दैनिकमा युरोप छिर्न खोजिरहेका नेपाली त्यहाँ बन्धक बनाइएको भनेर उनीहरूको नामै छापियो।

स्थानीय दैनिक पत्रिका ‘सोजू’ को अनलाइन संस्करण मार्फत प्रहरीको अपरेसनपछि तस्करहरूलाई पक्राउ गर्दै गरेको भिडियो पनि बाहिरियो। तर, बन्धक मुक्त भएका पीडित नेपाली टर्कीलाई समेत हेर्दै आएको पाकिस्तानस्थित नेपाली दूतावासको सम्पर्कमा आएनन्।

यसले नेपालीलाई ग्रीस लैजान भन्दै पाकिस्तानी तस्करसँग मिलेमतो गर्ने नेपाली एजेन्टबारे थप जानकारी बाहिर आएन । अपहरणको कुरा थाहा नभएको होइन। तर लिखित निवेदन कसैले पनि दिनुभएन, पाकिस्तानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख पारस पण्डितले भने।

टर्कीको त्यो समाचार हेरेर नै दूतावासलाई पनि थाहा भएको भन्दै पण्डितले अनलाइनखबरलाई भने, ‘अहिलेसम्म कसैले पनि दूतावासमा सम्पर्क गर्नुभएको छैन। कोही मान्छे सम्पर्कमा आउनुहोला भन्ने लागेको थियो, तर आउनु भएन।

पीडितले घटनाबारे लिखित जानकारी वा उजुरी नदिएसम्म समाचारलाई मात्रै प्रमाण मान्न नसकिने उनको भनाइ थियो। कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागमा नेपाली संलग्न भनिएको घटनाबारे समाचार आएको भन्दै रिपोर्ट भने पठाएको उपनियोग प्रमुख पण्डितले बताए।

टर्कीमा भएको त्यो ‘बन्धक उद्धार प्रकरण’ के थियो ? हामीले यस सम्बन्धमा विभिन्न व्यक्तिसँग सम्पर्क गरेर बुझ्न प्रयास गर्‍यौं। टर्कीबाट एक नेपालीले अनलाइनखबरसँग भने, ‘जबरजस्ती करणीको खबर झूटो रहेको एक पीडित नेपाली युवतीले बताएकी छन् । बाँकी समाचार सही हो।’ तस्करहरूको डर–त्रास रहेकाले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘भिडियोमा पहिचान खुलेकाले उहाँहरूले सामाजिक रूपमा अप्ठ्यारो महसूस गर्नुभएको छ।

त्यो भिडियोको भित्री पाटो उधिन्दा तस्करीका रोचक पक्षहरू बाहिर आउँछन्। एक जना पीडितका भनाइमा, अवैध रूपमा ग्रीस जान तयार भएका उनीहरूलाई नेपाली एजेन्टले पाकिस्तानीको जिम्मामा लगाएको थियो। पाकिस्तानीले बन्दूक देखाएर उनीहरूलाई बन्धक बनायो । अनि ‘हामी पुग्यौं, अब पैसा दिए हुन्छ भनेर भिडियोमा बोल्न लगायो र त्यो भिडियो रेकर्ड गर्‍यो।

घटनाको बेलीविस्तार लगाउँदै उनले भने, ‘त्यही भिडियो घरमा पठाएर पैसा माग्यो। पैसाका विषयमा नेपाली र पाकिस्तानी एजेन्टका बीचमा झगडा परेपछि नेपाली एजेन्टले पुलिसलाई खबर गर्‍यो र यो घटना बाहिर आएको हो।

गैरकानूनी रूपमा रहेका ती पीडित नेपालीलाई प्रहरीले केही दिन हिरासतमा राख्यो। पछि सबैलाई छोड्यो। अहिले उनीहरूमध्ये कोही टर्कीमै छन्। कोही युरोप छिर्ने कुनै उपाय खोज्दै हिंडेका पनि हुन सक्छन्। ती पीडित भन्छन्, ‘टर्कीमा आज भेटिएको मान्छे भोलि कहाँ पुग्छ कसैलाई पनि थाहा हुँदैन।

अवैध रूपमा टर्कीमा रहेका आप्रवासीहरूलाई सामान्यतया प्रहरीले डिपोर्ट नगर्ने हुँदा यहाँ बसेर गैरकानूनी काममा लाग्न धेरैलाई सजिलो छ। उनको भनाइमा, ‘पुलिसले समात्यो भने ८–१० दिनमा छोडिदिन्छ। जघन्य अपराध बाहेकका घटनामा खासै डिपोर्ट गरेको उदाहरण छैन।

टर्कीमा नेपाली अपहरण श्रृङ्खलाः अनुसन्धान अधिकारी भन्छन्– टर्कीका सबै नेपाली खतरामा: ती पीडितका भनाइमा, मानव तस्करहरूको सञ्जालसँग नेपालीहरूको सम्बन्ध नराम्रोसँग झाङ्गिएको छ। गैरकानूनी काममा लागेर एउटा नेपालीले अर्को नेपालीलाई फसाउने, ठगी गर्ने धन्दा टर्कीमा मौलाएको छ’ उनले भने, ‘यो क्रम आउने दिनमा झन् बढ्न सक्ने देखिन्छ।

उनले अवैध रूपमा ग्रीस पठाउने काममा १० जना भन्दा बढी नेपालीहरू तस्करहरू एजेन्टको रूपमा सक्रिय रहेको आफूले थाहा पाएको बताए । ‘कतिमा पुर्‍याउने भनेर समूह–समूहमा मोलतोल हुन्छ।

गैरकानूनी धन्दामा पनि नेपाली नेपाली बीच प्रतिस्पर्धा छ। मैले भनेको सुन्दा तपाईंलाई त्यति ठूलो नलाग्ला तर हाम्रो आँखामा यहाँको अवस्था भयावह नै छ’ उनले भने।

टर्कीबाट युरोप छिर्दा नेपालीले कस्तोसम्म दुःख भोग्छन् भन्ने अर्को एउटा दृष्टान्त छ। हालै २६ वर्षीया श्रेया खत्री (नाम–थर परिवर्तन) टर्की हुँदै कष्टपूर्ण यात्राका साथ इटाली पुगेकी छिन्।

तीन लाख रुपैयाँ खर्च गरेर टर्की पुगेकी श्रेयाले टर्कीदेखि ग्रीस, अल्बानिया, बोस्निया, क्रोएसिया, स्लोभानिया, इटाली हुँदै फ्रान्ससम्मको जोखिमपूर्ण यात्रा गरेकी थिइन्। ग्रीसमा २७ वर्षीय एक नेपाली युवक अभिषेक केसी (शरणार्थी शिविरमा प्रयोग भएको नाम तर राहदानीमा अर्कै नाम उल्लेख) भेटिएका थिए।

‘विश्वास गरेर फेरि उसँग अघि बढें । बेलाबखत टर्कीदेखि नै म तिमीलाई मन पराउँथें भन्थ्यो ऊ’ श्रेया भन्छिन्, ‘यात्राका क्रममा एक दिन उसले मलाई जबरजस्ती गर्‍यो, मैले केही गर्न सकिनँ । त्यतिबेला मलाई कस्तो भयो भन्ने मलाई मात्र थाहा छ ।’ छोरी सहित अहिले उनी इटालीको एउटा सेल्टरमा छिन्।

यो पनि पढ्नुहोस: नेपाल कसरी युरोपका लागि मानव तस्करीको ‘निर्यात मुलुक’ बनिरहेको छ ? घटनाबारे पीडितले कुनै उजुरी वा लिखित जानकारी नदिंदा कानूनी प्रक्रियामा जान अप्ठ्यारो हुने राजदूतावासको भनाइ छ । ‘धेरै घटनाबारे पीडितले दूतावासलाई भन्दैनन् । भन्यो भने ज्यान नै जान्छ कि भन्ने डर रहन्छ’ उपनियोग प्रमुख पण्डितले भने, ‘कुनै सञ्जालको नियन्त्रणमा रहने भएकोले सम्बन्धित मान्छेहरूले सम्पर्क गर्न सक्ने अवस्था नै नहुँदो रहेछ ।

‘कतिपयले मौखिक कुराकानीमा यस्तो भयो भन्नुहुन्छ । तर त्यही कुरा लिखित रूपमा दिन त्यहाँ डर हुन्छ । सम्बन्धित मान्छेहरू सम्पर्क गर्न सक्ने अवस्थामा नै हुँदैनन्’ पण्डितले भने, ‘त्यसको अर्थ तिनीहरू कुनै सञ्जालको नियन्त्रणमा हुन्छन् । उनीहरू जहाँ जान खोजेका हुन् त्यही गन्तव्यमा पुग्ने लक्ष्य हुन्छ । नभए नेपाल फर्कनुपर्ने डर हुन्छ ।’

पीडितले म्यासेज लेख्ने र दूतावासले टिपोट गर्ने । त्यसपछि म्यासेजहरू केही बेरमा पीडितले नै डिलिट गर्ने घटनाहरू पनि रहेको पण्डितले सुनाए। ‘मान्छे बाध्यतामा परेको हुन्छ’ उनले भने, ‘बाहिर सम्पर्क भएकै कारणले उनीहरूको ज्यान खतरामा नहोस् भन्ने सोचेर हामीले नेपालीसँग काम गर्नुपर्छ ।

पीडितले भोग्ने बाध्यता सुनाउँदै पण्डितले भने, ‘म वा तपाईं नै भए पनि सम्पर्कमा आउन सकिंदैन। स्वतन्त्र रूपमा बस्न सक्ने अवस्था हुँदैन । उनीहरूको निगरानीमा बस्नुपर्ने हुन्छ। न बस्ने ठाउँ छ, न डकुमेन्ट छ, न पैसा छ । त्यो बेला सम्पर्क गर्न त सकिंदैन नि!

यो पनि पढ्नुहोस: टर्कीमा नेपाली अपहरण श्रृङ्खलाः नेपाली एजेन्ट पक्राउ पर्छन्, विदेशी पर्दैनन, यो परिस्थितिमा जतिसुकै पीडित हुँदा पनि उनीहरूले स्थानीय प्रहरी प्रशासनलाई उजुरी गर्ने सम्भावना कम रहेको पण्डितले बताए।

उनीहरू आफैं गैरकानूनी हैसियतमा हुन्छन् । साथमा कानूनी कागजात हुँदैन’ उनले भने, ‘बरु जसले नियन्त्रणमा राखेको हुन्छ, ऊ कागजात सहित वैध हैसियतमा बसेको हुन सक्छ । अथवा उसको साथमा डकुमेन्ट हुन सक्छ। त्यसैले अनेक समस्याबीच पनि पीडितले उजुरी दिन कठिन छ।

टर्की जान युएई हुँदै इरानको बाटो: टर्कीमा दुईथरी नेपाली छन्। पहिलो, श्रम स्वीकृति लिएर वर्क परमिटमा वैध रूपमा प्रवेश गर्ने र दोस्रो भ्रमण भिसा वा वर्क परमिटमा आएपछि म्याद सकिएर अवैधानिक रूपमा बस्ने।

त्यसैले टर्कीमा नेपालीको संख्या अनुमान गर्न नै मुश्किल छ। दूतावास उपनियोग प्रमुख पण्डित भन्छन्, ‘इरान अहिले सजिलैसँग पुग्छन् नेपाली। भारतदेखि दुबई हुँदै वा भारतदेखि सीधै इरान र इरानदेखि हिंडेर टर्की पुगेको पनि सुनिन्छ।

इरानदेखि हिंडेर टर्की जानुपर्ने ठाउँमा एजेन्टले पाकिस्तानको बोर्डरमा एक नेपाली छोडिदिएको घटना पनि उनले सुनाए। ‘चार महीनादेखि एक जना नेपाली पाकिस्तानमा छन्। यहाँबाट निकाल्न नै गाह्रो भइरहेको छ । सम्भवतः आगामी सातासम्ममा हामी उनलाई नेपाल फर्काउँछौं । युरोप जाने भनेर नै उनी नेपालदेखि हिंडेका रहेछन्।

इरान पुग्ने, दुई–तीन महीना त्यहीं बसेपछि अघि बढ्ने त्यो नसकेपछि मात्रै दूतावासको सम्पर्कमा आउने नेपाली पनि छन्। पण्डितका अनुसार, इरानबाट टर्की पुग्न नसकेकाहरू धेरै सम्पर्कमा आउने गर्छन्।

टर्कीमा पुगेपछि दूतावासको सम्पर्कमा भन्दा त्यस्तै सञ्जालकै सम्पर्कमा रहेर युरोप छिर्न खोज्नेहरू धेरै हुन्छन्। अहिलेसम्म इरानमा चाहिं त्यस्तो सञ्जाल बनिसकेको छैन कि जस्तो लाग्छ। गएको वर्षदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्की गठन भएपछि समन्वय र सहजीकरण गर्न दूतावासलाई धेरै सजिलो भएको पण्डितको भनाइ छ।

नेपाली राहदानीको प्रतिलिपि, रोजगारदातासँग गरेको कामको करार सम्झौताको प्रतिलिपि, टर्कीमा प्राप्त वर्क परमिटको प्रतिलिपि, नेपालबाट पठाउने र टर्कीमा काममा लगाउने कम्पनी/रोजगारदाता तथा निवेदकको सम्पर्क नम्बर सहितको समस्याको पूरा विवरण लेखिएको निवेदन लगायत कागजात बुझाएर मात्रै ट्राभल डकुमेन्ट बन्न सक्ने प्रावधान छ। धेरै नेपालीसँग यी विवरण हुँदैनन्।

अनेक अवस्थाबाट गुज्रिएका मान्छेहरू हुन्छन्। सर्ट, पाइन्ट र चप्पल बाहेक केही पनि हुँदैन। यसै साता तीन वटा डकुमेन्ट बनाउँदाको अनुभव सुनाउँदै पण्डितले भने, उनीहरूले पासपोर्टको स्क्रिन सट सेयर गरे। एकजना आफन्तको सम्पर्क नम्बर दिए। त्यो बाहेक उनीहरूले केही पनि दिन सकेनन् । फोटो चाहिं खिचेर पठाऊ भन्यौं।

प्रतिक्रिया

आजको ट्रेन्डिङ