आज : गते

ताजा शिर्षकहरु

ओलीसँग असन्तुष्टलाई खोज्दै पार्टी प्रवेश गराउँदै माधव नेपाल

प्रकाशित
1.4K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग व्यवस्थापकीय क्षमता छ। यही क्षमताले उनले विगतमा नेकपा एमालेको संगठनलाई देशभर मजबुत पारेका थिए।

अहिले पनि एमालेको कार्यकर्ता देशको हरेक क्षेत्रमा बलियो पकड बनाएर बसेका छन्। कुशल व्यवस्थापक भएकैले माधव नेपालले नेकपा एमाले फुटाएर बनेको नेकपा एसलाई मजबुत बनाउँदै लगेका छन्।

नेपालले देशभर नेकपा एसको संगठन विस्तार गर्दै लगेका छन्। जिल्ला कमिटीहरु बनाउँदै क्षेत्र र पालिका तहसम्म विस्तार गरिरहेका छन्।वडा तहसम्म नेकपा एसको संगठन निर्माण गरेर माधव नेपालले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने रणनीति बनाएका छन्।

पूर्व देखि पश्चिमसम्म दौडधूपमा रहेका माधव नेपालले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टहरुको पहिचान गर्न निकटस्थहरुलाई लगाएको बुझिएको छ।

असन्तुष्टहरुलाई चिन्दै र तान्दै गर्न थालेका छन्। इटहरीका मेयर द्वारिकलाल चौधरी सुनसरीमा असन्तुष्ट भएको जानकारी पाउनेवित्तिकै नेपाल उनकै निवास पुगेका छन्। चौधरी पछिल्लो समय ओली पक्षसँग असन्तुष्ट छन्।

देशका विभिन्न जिल्ला, पालिका र वडा तहसम्म ओलीसँग असन्तुष्टहरुको पहिचान गरी तान्ने अभियान नेपालले चलाएका छन्। उनले आफ्नो समूहबाट एमालेमै रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्त पनि पेलाईमा परेर अवसरविहिन हुनुपर्ने निष्कर्ष निकालेको बुझिएको छ।

एमालेको महाधिवेशन सकिएलगत्तै असन्तुष्टहरु थपिने र उनीहरुलाई नेकपा एसमा तान्ने गरी नेपालले तयारी थालेका छन्। पार्टी संगठन बलियो बनाएर माओवादीसँग एकीकरण या चुनावी गठबन्धनसम्मको रणनीतिका साथ नेपाल अगाडि बढेका छन्।

यसै पनि माधव नेपालले ओलीलाई एकपछि अर्को धक्का दिइसकेका छन्। ओलीको सत्ताबाट बर्हिगमनमा माधव नेपालकै शक्ति मुख्य बन्यो। उनले प्रदेश सरकारमा एमालेको नेतृत्व अन्त गराए।

राष्ट्रिय सभाको चुनावमा पनि एमाले उम्मेदवारलाई हराउन सके। यसरी एकपछि अर्को धक्का दिदै बढेका माधव नेपालले अब भने आफ्नो शक्तिसञ्चय बढाएका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकर्षण बढेको बताएका छन्। स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले छोड्ने लहर नै चलेको बताए।

साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको लहर चलेको छ’, अध्यक्ष नेपालको भनाइ थियो। डडेलधुराबाट एमाले अध्यक्ष सहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अध्यक्ष नेपालले अन्यत्र पनि उस्तै लहर आएको बताए।

नेकपा माले छोडेर चार नेता पार्टीमा प्रवेश गरेको र अन्य नेताहरुसँग पनि कुरा चलिरहेको जानकारी दिए। शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बानेश्वरस्थित एक ब्यांक्वेटमा बैठक चलिरहेको छ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ’, प्रवक्ता जगनाथ खतिवडाले भने। स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन्।  मिर्गौला प्रत्यारोपण पछि आराम गरिहेका खनाल पहिलो पटक पार्टी बैठकमा सहभागी भएका हुन्।

तेस्तै, नेकपा एमाले सुनसरीका नेता तथा इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन्।

एमाले सुनसरीको नेतृत्वकाबारेमा असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायत नेकपा (एस)का नेतालाई घरमा भोज खुवाएका हुन्।

चौधरीले आफ्नो इटहरी लबिपुरस्थित घरमा खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् । उनले स्वागत गर्दै इटहरी उपमहानगरभित्र बाढीको समस्या, छ लेन सडकमा भएको अवरोध तथा,

अन्य विषयमा लिखित ध्यानाकर्षण पत्रसमेत नेपाललाई र मुख्यमन्त्री राईलाई दिएका थिए। दुई दिनअघि मात्र उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खोसेका थिए ।

उनले बैठकमा केन्द्रीय नेताहरूको हस्तक्षेप भएको विषयलाई लिएर बहिष्कार गरेका थिए । बहिष्कार गरे पनि एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो।

चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्र समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो सामाजिक सञ्जालमा हालेका थिए ।

समाजवादीको इटहरी नगर कमिटीको फेसबुकवालमा पनि चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ