आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महाधिवेशन तयारीबारे कांग्रेसमा गुटगत छलफल

प्रकाशित
883
SHARES

काठमाडौँ । १४ औँ महाधिवेशनको संघारमा रहेको कांग्रेसको महाधिवेशनको तयारीका लागि नेताहरुले गुटगत छलफल थालेका छन् । महाधिवेशनको तयारीका विषयमा छलफल गर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

महाधिवेशनको संशोधित कार्यतालिकाअनुसार प्रक्रियाअघि बढाउने र महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न देउवाले तीन महिनापछि केन्द्रीय समितिको बैठक बोलाएका हुन् । यसअघि केन्द्रीय समिति बैठक साउनको अन्तिम साता बसेको थियो ।

केन्द्रीय समिति बस्नुअघि देउवाले बैठकका एजेन्डाका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । पदाधिकारी र केन्द्रीय समितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको तयारी, केन्द्रीय समितिका एजेन्डा र महाधिवेशनका लागि अपनाउने रणनीतिका विषयमा छलफल थालेका हुन् ।

देउवाले बिहीबारै सरकारी निवास बालुवाटारमा आफूनिकट नेताहरुसँग आन्तरिक छलफल गरेका छन् । वरिष्ठ नेता पौडेलले शुक्रबार दिउँसो बस्ने गरी आफूनिकट पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । ‘महाधिवेशनको तयारीका विषयमा निरन्तर छलफल भइरहेको छ । अहिले त्यसैको निरन्तरता मात्रै हो । पार्टीको महाधिवेशनको विषयमा आन्तरिक छलफल गर्नुभएको हो,’ देउवाको सचिवालयले भन्यो ।

बिहीबार दिउँसो देउवाले उपसभापतिद्धय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशसरण महतलगायत आफूनिकट नेताहरुसँग छलफल गरेका छन् ।

केन्द्रीय समितिमा उठ्नुपर्ने एजेन्डा र ती विषयमा साझा धारणा बनाउने विषयमा पौडेल समूहको बैठक बस्न लागेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘आइतबार केन्द्रीय समिति छ, त्यसैको तयारीका लागि बैठक बस्ने हो,’ उनले भने । उनले पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका विषयमा निर्णय गर्ने बताए ।

‘पार्टीको महाधिवेशन गर्नैपर्ने अवस्था छ । महाधिवेशनको सुनिश्चितता गरेर त्यसको तयारी गर्नुपर्नेछ,’ उनले भने, ‘त्यसैको तयारीका लागि हामीले साझा धारणा बनाएर प्रस्तुत हुने हो । फेरि हाम्रो टिमभित्रै नेताहरुका बीचमा शंका, उपशंकाहरु देखिएका छन् । त्यसलाई पनि क्लियर गर्नुपर्नेछ । तोकिएको मितिमा अधिवेशन सुनिश्चित गर्ने र पार्टीमा सबल नेतृत्व चयनकै विषय मुख्य हो ।’

प्रतिक्रिया

आजको ट्रेन्डिङ