आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिभिल सहकारीको कारण ८ जनाको ज्यान गयो, सिआइबीको टोलि खटियो

प्रकाशित
2.8K
SHARES

काठमाडौ। सिभिल सहकारीका बचतकर्ताहरूको दर्दनाक कथा : बिरामी पर्दासमेत आफूले जम्मा गरेको पैसा पाएनन्, उपचार खर्च अभावमा आठ निक्षेपकर्ताको ज्यान गयो

पीडितको रकम फिर्ता गर्न दोषीको सम्पत्ति खोजी गर्दै छौँ : डिआइजी धीरजप्रताप सिंह, प्रमुख, सिआइबी।  सिभिल सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा कतिले उपचार गर्नसमेत पाएनन् ।

सोही कारण आठजनाको मृत्यु भएको सूचना हामीकहाँ आएको छ । यस विषयमा हामी गम्भीर छौँ । दोषीलाई कारबाही गर्ने त छँदै छ, डुबेको रकम पीडितलाई कसरी फिर्ता गर्न सकिन्छ, त्यस विषयमा पनि हामी गम्भीर तवरले जुटेका छौँ । त्यसैले पक्राउ परेका सबैको सम्पत्ति खोजी गरिरहेका छौँ । यस्तो छ नालि बेलि।

मनग्य ब्याज दिने भनेपछि नेपाली सेनाका अवकाशप्राप्त प्राविधिक उपरथी डा. गौतमरत्न शाक्यले आफूसँग भएको एक करोड लगेर सिभिल सहकारीमा जम्मा गरे । दु:ख–बिराम पर्दा ब्याजकै रकमले उपचार खर्च जुटाउन सकिने अपेक्षामा थिए । तर, बिमारीले थलिएर उपचार गर्न नसक्दा पनि सहकारीले पैसा नदिएपछि केही समयअघि उनले ज्यान नै गुमाउनुपर्‍यो ।

गौतमरत्नकी श्रीमती मोहनहिरा शाक्यले भनिन्, ‘उहाँ (गौतमरत्न) अचानक बेहोस हुनुभयो । हतार–हतार मेडिसिटी अस्पताल पुर्‍यायौँ । मस्तिष्कमा रगत जमेको रहेछ । एक महिना उपचार गर्दा ३२ लाखको बिल उठ्यो । तिर्ने पैसा थिएन । जम्मा गरेको रकम झिक्न सिभिल सहकारी गयौँ । तर, एक रुपैयाँ पनि दिएन ।’

उनका अनुसार गौतमरत्नलाई मेडिसिटीमा खर्च धान्न नसकेपछि सैनिक अस्पताल छाउनीमा लगियो । चिकित्सकहरूले दिल्ली लैजान सुझाव दिएका थिए । तर, आर्थिक अभावमा परिवारले दिल्ली लैजान सकेन ।

‘सरकारीमा जम्मा भएको आफ्नो पैसा पाएको भए दिल्ली लगेर उपचार गर्न सकिन्थ्यो । तर, सहकारीले ठगेपछि छाउनी अस्पतालमै ६ महिनापछि उहाँको देहान्त भयो,’ उनले भनिन् ।

नेपाल सरकारका पूर्ववरिष्ठ मत्स्य विकास अधिकारी गोपालबहादुर श्रेष्ठले पनि जीवनभर जम्मा गरेको ३५ लाख लगेर तीन वर्षअघि सिभिल सहकारीमा जम्मा गरे । प्राप्त हुने ब्याजले परिआउने समस्या टार्ने सपना थियो । तर, उनले पनि बिरामी हुँदा ब्याज त के साँवा रकमसमेत पाउन सकेनन् । अन्ततः उपचार खर्च नपुग्दा उनले दुई महिनाअघि प्राण त्यागे ।

छोरा आशिषका अनुसार गोपालबहादुरलाई पिसाबमा संक्रमण भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारका क्रममा १७ लाख रुपैयाँ सकियो । रकम अभाव भएपछि आशिष सहकारीको कार्यालयमा हप्ता दिनसम्म धाए । तर, रकम निकासा भएन ।

उनले घटना सुनाए, ‘बुबाले तीन वर्षअघि ३५ लाख रुपैयाँ सहकारीमा राख्नुभएको थियो । उहाँ बिरामी परेपछि उपचारमा ठूलै रकम लाग्यो । ग्रान्डीमा राख्दा १७ लाख सकियो । आफूले जम्मा गरेको पैसा पाइएला भनेर सिभिल सहकारी गएँ । तर, ब्याज त के साँवा पनि दिएन । बुबाको उपचारमा आर्थिक अभाव भयो । अहिले बुबा बितिसक्नुभयो ।’

ललितपुर झम्सिखेलकी संगिता पाण्डे अहिले शोकमा छिन् । उनले श्रीमान् गुमाएको ६ दिन मात्रै भएको छ । उपचार गर्ने पैसा हुन्थ्यो भने श्रीमान्लाई बचाउन सकिन्थ्यो भन्ने उनलाई लागिरहेको छ । ‘भएभरको पैसा सिभिल सहकारीमा राखियो, श्रीमान् बिरामी पर्दा पटक–पटक याचना गर्दा पनि दिएन । अन्ततः उहाँलाई गुमाउनुपर्‍यो,’ संगिताले दु:ख बिसाइन् ।

उनले १० वर्षअघि नै सिभिल सहकारीमा ७५ लाख जम्मा गरेकी थिइन् । श्रीमान् केन अफुललाई त्यतिवेलै डिमेन्सिया (मस्तिष्कलाई कमजोर पार्ने रोग) भएको थियो । उनले काम गर्न नसक्ने भएपछि ब्याजले भए पनि छोरी पढाउन र घरखर्च चलाउन पुग्छ भनेर भएभरको पैसा सहकारीमा राखेकी थिइन् । उनका अनुसार सुरुसुरुमा ब्याज पनि पाइन् । तर, पछि ब्याज दिन छाड्यो । ब्याज नपाएपछि साँवा निकाल्न खोजिन्, तर सहकारीले बहानाबाजी गरेर टार्दै आयो ।

यता श्रीमान्लाई बिरामले गाल्दै गएपछि उपचार खर्च बढ्न थाल्यो । संगितासँग आर्थिक स्रोतको अरू विकल्प थिएन । तर, पटक–पटक सहकारी पुगेर श्रीमान् गम्भीर भएको याचना गर्दा पनि पैसा दिएन । चाहेजस्तो उपचार गर्न नसक्दा श्रीमान् नै गुमाउनुपर्‍यो ।

‘श्रीमान्लाई डिमेन्सिया भयो । उहाँले काम गर्न सक्नुभएन । ब्याज धेरै दिने भनेपछि १० वर्षअघि ७५ लाख सहकारीमा राखेँ । सोही ब्याजले छोरी पढाउने र घरखर्च चलाउने योजना थियो । सुरुमा त ब्याज पाएको पनि हो । तर, पछि दिन छाड्यो । केही वर्षपछि श्रीमान्को उपचार खर्च बढ्दै गयो । तर, अन्य आर्थिक स्रोत थिएन । रकम झिक्न पटक–पटक सहकारी जाँदा पनि पाइएन,’ संगिताले भनिन् ।

सडक विभागका पूर्ववरिष्ठ इन्जिनियर रामबाबु खनालले सिभिल सहकारीमा ७० लाख रुपैयाँ जम्मा गरे । बिरामी हुँदा सहकारीबाट प्राप्त ब्याजले खर्च धान्ने योजना थियो । मूत्रथैलीको बिरामी उनलाई पछि क्यान्सर भयो । उपचारका लागि ठूलो खर्च लाग्ने भयो । छोरा सञ्जीव रकम झिक्न सहकारी पुगे । पैसा पाऊँ भनेर निवेदन दिए । तर, सहकारीले ब्याज, साँवा केही दिएन । अहिले रामबाबुको मृत्यु भइसकेको छ । तर, सहकारीमा डुबेको रकम अझै उठेको छैन ।

‘राम्रो ब्याज पनि दिन्छ र सुरक्षित पनि हुन्छ भनेर बुबाले तराईको जग्गासमेत बेचेर सिभिल सहकारीमा पैसा राख्नुभएको थियो,’ काठमाडौंको हाँडीगाउँ बस्ने छोरा सञ्जीवले भने, ‘उहाँ बिरामी पर्नुभयो । परीक्षण गर्दा क्यान्सर नै देखियो । उपचारमा धेरै रकम लाग्ने भएपछि जम्मा गरेको पैसा झिक्न सहकारी पुग्यौँ । तर, सहकारीले दिएन । त्यत्रो रोग लाग्दा पनि उपचार गर्न आफ्नै पैसा पाउनुभएन । अहिले बुबाको निधन भइसक्यो । सहकारीले ७० लाख अझै दिएको छैन ।’

प्रजातन्त्रकालीन राजपरिषद् सदस्य थिए, यज्ञप्रसाद आचार्य । उनले सिभिल सहकारीमा १६ लाख रुपैयाँ जम्मा गरे । पछि श्रीमतीको नाममा पनि खाता खोले र थप ३२ लाख रुपैयाँ राखे । सहकारीमा ४८ लाख रुपैयाँ जम्मा भयो ।

एक वर्षअघि उनलाई बे्रन स्ट्रोक भयो । उपचारका लागि परिवारले मेडिसिटी अस्पताल पुर्‍याए । खर्च धेरै लाग्ने भएपछि छोरा सुरेश जम्मा गरेको पैसा झिक्न सिभिल सहकारी पुगे । तर, सहकारीले दिएन । आचार्यलाई पछि नर्भिक अस्पताल भर्ना गरियो । ६ महिनासम्म अस्पतालमा राखियो । बुबाको उपचारमा खर्च धेरै लाग्ने भएपछि सुरेश फेरि रकम झिक्न सिभिल पुगे । सहकारीले चासै दिएन । अहिले यज्ञप्रसादको मृत्यु भइसकेको छ ।

सुरेशले भने, ‘बुबालाई वर्ष दिनअघि ब्रेन स्ट्रोक भयो । मेडिसिटी र नर्भिक अस्पतालमा उपचार भयो । निकै खर्च लाग्यो । सहकारीमा बुबाको रकम थियो । झिक्न हामी पुग्यौँ । तर, पाउन सकेनौँ । अहिले त्यो रकम आमाको खातामा ट्रान्सफर भएको छ । तर, अझै झिक्न सकिएको छैन ।’

मुटुकी बिरामी काठमाडौंकी शोभा तुलाधर दुई वर्षअघि अचानक गम्भीर बनिन् । उपचारका लागि अस्पताल भर्ना गरियो । उनका श्रीमान् प्रेमसुन्दरले सहकारीमा ५० लाख रुपैयाँ जम्मा गरेका थिए । श्रीमतीको उपचारका लागि उनले सहकारीबाट पैसा झिक्न खोजे । तर, उनलाई पनि सहकारीले पैसा दिएन । छोरा सलिल तुलाधरका अनुसार शोभाको मृत्यु भइसकेको छ । तर, सहकारीको पचास लाख रुपैयाँ अझै झिक्न सकेका छैनन् ।

काठमाडौं मरुटोलका राजेन्द्रलाल श्रेष्ठले पनि सहकारीको आफ्नै पैसा नपाउँदा खर्च अभावमा ज्यान गुमाउनुपर्‍यो । उनकी श्रीमती मेनुकाले सहकारीमा जीवनभरको कमाइबाट जोगाएको ३१ लाख जम्मा गरेकी थिइन् । तर, श्रीमान् बिरामी हुँदा सहकारीले दिएन ।

काठमाडौंकी इन्दिरा श्रेष्ठको पनि सिभिल सहकारीमा पैसा थियो, तर बिरामी पर्दा उपचार खर्च नपाएर ज्यान गुमाइन् । उनको परिवारका सदस्य पनि जम्मा गरेको रकम लिन सिभिल सहकारी पुगेका थिए । तर, सहकारीले रकम निकासा गरेन ।

अहिलेसम्म आठजना सिभिल सहकारीपीडितले आवश्यक उपचार खर्च जुटाउन नसक्दा ज्यान गुमाएको सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडपीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताए । ‘सिभिल सहकारीमा रकम जम्मा गरेकाहरूले उपचार खर्चसमेत पाएनन् । उपचार गर्न नसकेर उनीहरूले ज्यान नै गुमाउनुपरेको छ । जानकारीमा आएसम्म आठजना पीडितको यसकारण मृत्यु भइसकेको छ ।’

निक्षेप रकम फिर्ता नपाउँदा उपचार हुन नसकेको र सोहीकारण मृत्यु भएको सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पनि पुगेको छ । सहकारीबाट ठगिएकाहरूको रकम फिर्ता गर्ने सन्दर्भमा गहन रूपमा अध्ययन भएको सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए ।

उनले भने, ‘जम्मा गरेको रकम फिर्ता नपाउँदा कतिले उपचार गर्नसमेत पाएनन् । सोहीकारण आठजनाको मृत्यु भएको सूचना हामीकहाँ पनि आएको छ । यस विषयमा हामी गम्भीर छौँ । दोषीलाई कारबाही गर्ने त छँदै छ । डुबेको रकम पीडितलाई कसरी फिर्ता गर्न सकिन्छ ? त्यस विषयमा पनि हामी गम्भीर तवरले जुटेका छौँ । त्यसैले पक्राउ परेका सबैको सम्पत्ति खोजी भइरहेको छ ।’

श्रोत नयाँ  पत्रिका

प्रतिक्रिया