आज : गते

ताजा शिर्षकहरु

बझाङमा पहिरोले पुरै गाँवै पुरियो, २३ जना सम्पर्कविहीन

प्रकाशित
0.9K
SHARES

चैनपुर । बझाङमा पहिरोले गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्। थलारा गाउँपालिका- ४ डिख्लामा मंगलबार बिहान पहिराे जाँदा ७ घर पुरिएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका शान्ति माध्यमिक विद्यालयका शिक्षक मदनबहादुर साउदले बताए।

पहिराेपछि तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन माध्यमिक विद्यालयमा बसिरहेका उनले बताए। टेलिफोन सेवा अवरूद्ध हुँदा प्रहरीलाई समेत खबर गर्न नसकेको उनले बताए।

स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन्। स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूकाे खाेजी गर्न सकेका छैनन्। यसबारे प्रहरी र प्रशासनलाई साेध्न खाेज्दा नेटवर्क नभएकोले सम्पर्क हुन सकेन।

उता बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ । नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा फसेका छन् । बाढीले स्थानीय उद्धव महराको दुई तले घर पनि बगाएको सिगास–५ का वडाअध्यक्ष रामबहादुर धामीले बताए ।

सिगास–५ मै एक सय ५० बिगाहा भन्दा बढी खेत नदीको डुबानमा परेको छ । पाक्नै लागेको धान, कोदो तथा बदाम खेती बगरमा परिणत भएको छ। साथै, सिगास–६ को लेकममा बाढीले ५० बिगाहाभन्दा बढी जमीन डुबान भएको छ ।

वडाअध्यक्ष धामीका अनुसार प्रदेश सरकारसँग उद्धरको लागि आग्रह गरिएको छ। बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भत्काएको छ । सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकोप्टर सिगास आउन लागेको छ।

यसैगरि,  वर्षाका कारण कर्णालीका विभिन्न ठाउँमा क्षति: एकको मृत्यु, एक जना बेपत्ता भएका छन्।आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण कर्णालीका पनि विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।वर्षाका कारण आएका पहिराले मानवीय क्षति भएको छ भने कर्णाली राजमार्ग अवरूद्ध भएको छ।

कालीकोटको महाबै गाउँपालिका-७ राम्नीमा पहिरोले एक घरमा पूर्ण रूपमा क्षति पर्‍याएको छ। स्थानीय विष्णुलाल अधिकारीको घरमा माथिबाट पहिरो खस्दा पूर्ण रूपमा क्षति पुगेको हो।

पहिरोमा परी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ। दाहिने खुट्टा च्यापिएकी ११ वर्षकी अर्की छोरीको भने उद्दार गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, सोही ठाउँ नजिकका पाँच वटा घरमा आंशिक क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।गाउँमा अरू ६० घर पहिरोको जोखिममा भएकोले परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको उनले बताए।

एसएसपी श्रेष्ठका अनुसार ६० घरका करिब साढे दुई सय मानिसलाई सुरक्षित स्थानमा सारिएको हो।उनीहरूलाई राम्नीमै रहेको राम माध्यमिक विद्यालय र स्वास्थ्य इकाईमा सारिएको हो।

उक्त स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रसको टोली राहत र औषधि लिएर गएको उनले जानकारी दिए। नेपाल प्रहरीको तर्फबाट १० वटा टेन्ट पनि त्यहाँको लागि व्यवस्थापन गरिएको छ।

जुम्लामा एक महिला बेपत्ता: वर्षाका कारण जुम्लाको हिमा नदीमा आएको बाढीमा परी एक जना महिला बेपत्ता भएकी छन्। जिल्लाको हिमा गाउँपालिका-६ की ३३ वर्षीया रन्न शाही आज बिहानदेखि बेपत्ता रहेको एसएसपी श्रेष्ठले जानकारी दिए। हिमा नदीले बगाएर ल्याएका दाउरा निकाल्न जाँदा उनी बगेर बेपत्ता भएकी हुन्।

कर्णाली राजमार्ग ठाउँ-ठाउँमा अवरूद्ध: लगातारको वर्षाका कारण पहिरो आएपछि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरूद्ध भएको छ। दैलेख र कालीकोट खण्डका विभिन्न ठाउँमा पहिरो झरेको छ। दैलेख खण्डमा डुंगेश्वर, खिड्कीज्युला र घट्टेखोलामा पहिरो खसेको छ।

डुंगेश्वरको पहिरो भने पन्छाइएको एसएसपी श्रेष्ठले बताए। डुंगेश्वरमा झरेको पहिरो सफा गरेर अगाडिका पहिरा पन्छाउन मेसिन गएको छ,’ उनले भने, ‘कालीकोटमा पनि विभिन्न ठाउँमा पहिरा गएर राजमार्ग अवरूद्ध भएको छ।’

उनका अनुसार कालीकोटको खाँडाचक्र नगरपालिका–१ मा पर्ने ज्यानमारा भिर र तिलागुफा–१ भैसेपानीमा पहिरो खसेको छ।
राजमार्ग अवरूद्ध भएपछि मंगलबार बिहानैदेखि सवारी साधन र यात्रु बाटोमै रोकिएका छन्।

बिजुली निकालिएका पाँच वटा घट्ट बगे: जुम्लामा बाढीले बिजुली उत्पादन गरिएको पाँच वटा घट्ट बगाएको छ। जिल्लाको तातोपानी गाउँपालिका–८ टोप्लास्थित घट्टेखोलामा रहेका ती साना पावर हाउस बाढीले बगाएको प्रहरीले जनाएको छ।

सोही ठाउँमा रहेको झोलुंगे पुल पनि बाढीले बगाएको छ। यस्तै जुम्लाको सदरमुकाम नजिकै रहेको खेतका फाँट पनि बाढीले बगाएको छ। प्रहरीका अनुसार मार्सी धान लगाइएको फाँट धानसहित बाढीले बगाएको हो।

कर्णाली करिडोरसँग जोड्ने फेरी बग्यो:  कर्णाली नदीमा रहेको फेरी पनि बाढीले बगाएको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको जीतेगडादेखि कर्णाली करिडोरलाई जोड्न प्रयोगमा आइरहेको उक्त फेरी मंगलबार बिहान नदीमा आएको बाढीले बगाएको हो।बाढीले बगाएको फेरी दैलेखको राकम भन्दा तल आइसकेको एसएसपी श्रेष्ठले बताए। त्यसयता भने फेरी देखिएको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ