आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज नेपालीहरूको महान् चाड बडादशैं, कतिबेला लगाउने टिका

प्रकाशित
1.1K
SHARES

काठमाडौ। आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ। दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ। विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ।

टीका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा टीका लगाउन सकिन्छ। टीका लगाउने उत्तम समय खोज्नेहरुका लागि मात्र १० बजेर २ मिनेटको साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ। केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन्।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ। यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ।

नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ। पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ।

आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।

यसैगरि , प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीको उपलक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने कामना गरेका छन् । उनले राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरेका छन्।

बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ।

विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दशैं पर्व मनाउन आम नेपालीलाई आग्रह गरेका छन् ।

‘यस समयमा बडादशैं पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरुलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरकार रूपमा मनाउन म सम्पूर्ण नेपालीमा विशेष अनुरोध गर्न चाहन्छुु,’ सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ‘दशैंले हामी सबैमा नयाँ उत्साह‚ उमङ्ग र सकारात्मक उर्जा थप्ने विश्वासका साथ कोभिड–१९ महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह गर्दछु ।

हेर्नुहोस शुभकामना सन्देशको पूर्णपाठ– नेपालीहरूको महान् चाड बडा दसैँ, २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ । नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको बडा दसैँ पर्वभित्र विशेष महत्त्व रहेको छ । वर्षाको हिलोमैलो पछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना‚ कृषि ‌औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ ।

यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानको रूपमा रहेको जातीय‚ भाषिक‚ भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास लिएको छु ।

अन्तमा, बडा दसैँ पर्व, २०७८ ले हामी सबैमा नयाँ उत्साह‚ उमङ्ग र सकारात्मक उर्जा थप्ने विश्‍वासका साथ कोभिड(१९ महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह गर्दछु ।

धन्यवाद । २०७८ साल असोज २९ गते शुक्रबार ।

प्रतिक्रिया