आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुई छोरी दुर्घटनामा परेको खबर पाएलगत्तै बुवाआम काठमाडाैंबाट हेलिकप्टर चार्टर गरेर पुगे तर…

प्रकाशित
466
SHARES

पोखरा । सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला बर्बराउँदै थिइन्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए।

आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको पोष्टमार्टम गर्न स्वास्थ्यकर्मी व्यस्त थिए।

दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्। उनकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घटनामा उनीहरू दिदीबहिनी नै परे।

आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घटना भएको खबर पाउनासाथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्।

अस्पतालको आकस्मिक कक्षअगाडि असह्य पीडा पोखिरहेकी थिइन्। ‘जन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुवै छोरी जन्माएकी थिएँ’, पार्वती एक्लै बर्बराउँदै थिइन्, ‘आज मेरो शरीर भतभती पोलेको छ। मेरी डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु।’

पार्वती क्यान्सर रोगी छिन्। उनको उपचारमा पनि नर्सिङ पढ्दै गरेकी छोरी सुजा खटिएकी थिइन्। पार्वतीको घर चितवनको सौराहा हो। तर लामो समयदेखि काठमाडौं बस्न थालेकी थिइन्। उनीहरू कपडाको व्यापार गर्छन्। व्यापार क्रममा एक महिनाअघि भारत गएका थिए। नेपाल फर्केको जम्मा दुई साता भएको रहेछ।

‘म नेपाल आउँदा वेलकम ममी भनेका थियौ। सपिङ गर्दिनू, हामी घुम्न जान्छौं भनेका थियौ। सपिङ गरिदिएँ, आज तिमी कहाँ छौ छोरी,’ बेहोसीमै पार्वतीले भनिन्। आमा पार्वतीले श्रीमान बाबुरामलाई बारम्बार गुनासो गरिरहेकी थिइन्। छोरीहरूसँग घुम्न जान पार्वतीले आग्रह गरेकी रहिछन्। उनले श्रीमानलाई भनिन्, ‘मैले भनेथेँ नि तपाईंलाई, छोरीहरूको गार्जियन, सँगै जानु भनेर…।’

सुजा र लिजासहित काठमाडौंबाट अरू चार जनासँगै आएका थिए। जसमध्ये १८ वर्षीय जिनलव घिसिङ र उनकी २० वर्षीया दिदी देविका घिसिङ पनि थिए। उनीहरू सँगसँगै आइतबार पोखरा आएका थिए। यस्तै काठमाडौं– ३ गोंगबु बस्ने २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भई गोंगबु बस्ने विनय क्षेत्री, २० वर्षीय सुमन चोधरी अर्को समूहमा पोखरा घुम्न आएका थिए।

यी दुवै समूहको भेट पोखराबाट घान्द्रुक जाने बेला गाडीमा भएको थियो । उनीहरूलाई कास्कीकै अन्नपूर्ण– ५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्रीले गाडीमा राखेर लगेका थिए। नयाँपुलबाट ग १ ज ६९०० नम्बरको गाडी घान्द्रुकतर्फ उकालो लाग्यो।

कच्ची बाटोमा ढुंगा बिच्छ्याउने काम भइरहेको थियो। कामदारले गाडी रोक्न लगाए। उकालोमा रोकेका कारण गाडी अडिन सकेन। पछाडितर्फ गुड्न थाल्यो र झन्डै दुई सय मिटर तल मोदी खोला किनारमा खस्न पुग्यो।

उकालोमा रोकिएको गाडी पछाडितर्फ गुड्दा आफैं अनियन्त्रित भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। दुर्घटनामा परेर चालकसहित आठ जनाले ज्यान गुमाए। दुर्घटनाबाट एक जना देविका घिसिङ बाँच्न सफल भइन्। उनको बाँया हात र नाकमा चोट लागेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

देविका गाडीको पछाडि बसेकी थिइन्। गाडी गुल्टिँदै जाँदा उनी गाडीबाट बाहिर हुत्तिइन् र एउटा रुखमा पुगेर अड्किन्। यसरी आफ्नो ज्यान जागिएको देविकाले बताएकी छन्। उनीसँगै आएका भाइ जीनलव भने जोगिन सकेनन्।

सुजा र लिजाकी आमा पार्वतीको बिलौना रोकिएको छैन। उनलाई अस्पतालको आकस्मिक कक्ष बाहिर नै राखिएको छ। छोरीको उपचार भइरहेको भनेर आफन्तले थामेका छन्। बेलाबखत जोडतोडले अस्पतालभित्र छिर्न खोज्छिन्। आफन्तले रोकेर राख्छन्। उनी बर्बराउन छाडेकी छैनन्।

पार्वतीले भनिरहिन्, ‘छोरी हो, काठमाडौं जाने हो। आऊ, म मेरो सास दिन्छु नि।’

मुगु बस दुर्घटनाको कारण खुल्यो: नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ। मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मङ्गलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा दुर्घटनामा परेको थियो। उक्त बसमा ४६ जना यात्रु रहेका थिए।

दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा पाँच सय मिटर जति तल खसेको छ। यस दुर्घटनामा परेर १३ जना घाइते भएको प्रहरीले बताएको हो ।दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ।

दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो। प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ।

सोही मोडमा बस अनियन्त्रित भई भिरबाट खस्दा ३२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए । दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरु अधिकांश दसैँ बिदामा घर आएका काठमाडौँलगायत अन्य सहरका कलेजमा अध्ययन गर्ने विद्यार्थी रहेका बताइएको छ ।

​मृत्यु हुनेमा १८ पुरुष र आठ महिला र दुई नबालक रहेका छन् भने चारजनाको सनाखत हुन बाँकी रहेको छ। प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमै मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, सोही वडाका अन्दाजी २० वर्षीया मनदेवी बम रहेका छन्।

त्यस्तै १८ वर्षीया पूजा बुढा, सोही नगरपालिका—८ का ३३ वर्षीया प्यारी बिक, सोही वडाका २२ वर्षीया सन्तोष बिटालु, सो नगरपालिका–१२ का २२ वर्षीया छारा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल, सोही नगरपालिका—१० की २० वर्षीया सरिता खड्का, १४ का २२ वर्षीय कर्णसिंह बुढा, १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, ६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र वडा नं ११ का २२ वर्षीय प्रकाश बुढा रहेका छन्।

त्यसैगरी सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, सोही वडाकी ३२ वर्षीया कमला बिसी, १० का २२ वर्षीय सुनबहादुर विक, १४ का शिव बुढा, ७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय आयुश राना, १४ का २० वर्षीय रुपसिंह कार्की, ७ का २२ वर्षीय महेन्द्र शाही, सोरु गााउँपालिका—३ का मनरुप कुमाई रहेका छन् । बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकार रहेका छन्।

उपचारका क्रममा नेपालगञ्ज नर्सिङ होममा लगिएका छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम सोही नगरपालिका—७ का उमेर नखुलेका आदित्यविक्रम शाह शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाउँपालिका—८ का २३ वर्षीय आइतसिंह कामी र छाँयानाथ रारा नगरपालिका—८ का २८ वर्षीय टोपबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घाइते हुनेहरुमा छाँयानाथ रारा नगरपालिका—५ का अन्दाजी ३५ वर्षीय प्रेमबहादुर रावल, सोही नगरपालिका—१ का २१ वर्षीय शुक्रराज मल्ल, ८ का २१ वर्षीय रतनसिंह रावल, ७ का १८ वर्षीय शैलेन्द्र शाही सोही वडाका २१ वर्षीय गणेशबहादुर रावल, १ की ९ वर्षीया सुस्मिता शाही, ८ कि २० वर्षीया सम्झना रावल, ११ की ३१ वर्षीया रेखा सावद, ५ का लक्ष्मीचन्द्रा रावल, १४ कि दन्ता बुढाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

नर्सिङ होम नेपालगञ्जमा छाँयानाथ रारा नगरपालिका—१३ की ७ वर्षीय सुजता बम, ११ का हर्षबहादुर सावद र जिल्ला अस्पताल मुगुमा छाँयानाथ रारा नगरपालिका—३ की ६ वर्षीया भूमिका बुढाको उपचार भइरहेको छ। मृतकहरुको जिल्ला अस्पतालमा सनाखत भई शवपरीक्षणपछि दाहसंस्कारका लागि घरपरिवारलाई जिम्मा लगाइने तयारी भइरहेको प्रनाउ भट्टराईले बताए।

प्रतिक्रिया