आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बुटबल काण्डमा सरकार फेरी आक्रामक, गृहमन्त्री नै उत्रिए मैदानमा

प्रकाशित
0.9K
SHARES

काठमाडौ। रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।

गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जाको प्रयास गरेको निष्कर्ष निकाल्दै सुरक्षाकर्मीलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो।

बैठकले वास्तविक सुकुमबासीभन्दा पनि विभिन्न जिल्लाबाट आएका अतिक्रमणकारीले सो क्षेत्रमा टहरा बनाएर सरकारी जग्गा कब्जाको प्रयास गरेको निष्कर्ष निकालेको छ। मन्त्रालयका उपसचिव तथा सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

गृहले जग्गा अतिक्रमण गर्न नदिन रूपन्देही जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। पूर्वको झापादेखि सुदूरपश्चिमको कैलालीसम्मका व्यक्तिलाई सरकारले जग्गा दिन्छ भन्ने भ्रम फैलाएर ल्याएको देखियो । वास्तविक जग्गा नभएकाभन्दा पनि सर्वसाधारणलाई प्रलोभनमा पारेर जग्गा कब्जा गर्न समूह सक्रिय रहेको देखियो,’ सुरक्षा बैठकपछि मन्त्रालयका एक अधिकारीले भने।

उनका अनुसार सुकुमबासीको नाममा बाहिरका मानिससमेत आएकाले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको हो। अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने अवस्था आएको छ। मोतीपुर औद्योगिक क्षेत्रलाई सुरक्षित राख्नुपर्नेछ’, मन्त्रालय स्रोतले भन्यो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए।

आइतबार झडपका क्रममा अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि अतिक्रमणकारीले दर्जनौं पेट्रोल बम प्रहार गरेका थिए।त्यसपछि सुरक्षाकर्मीले जवाफी कारबाही गर्दै गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने ४९ प्रहरी र १६ सर्वसाधारण घाइते भएका थिए।

यसैगरि , रूपन्देहीको बुटवल उपमहानगरपालिकाको मोतिपुरमा निर्माणाधीन औद्योगिक क्षेत्रमा अहिले पनि कर्फ्यू जारी छ । कर्फ्यूकै बिचमा दुई हजार टहरा ठडिएका छन्। आइतवार प्रहरी र जग्गा कब्जा गर्न आएकाबीच भएको झडपमा ४ जनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो।मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ।

मृत्यु भएका कपिलवस्तु जिल्लाको वाणगंगा–१० निवासी ४८ वर्षीय रमेश परियार, पूर्वी नवलपरासीको अरुणखोलाका १८ वर्षीय उज्जव कुमाल र रुपन्देहीको सुद्धोधन गाउँपालिकाका वीरेन्द्रप्रसाद कुर्मीको पहिचान खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले बताए ।

अर्का १ जना मृतकको अझै सनाखत हुन सकेको छैन। सुरक्षा निकायले निकै संयमता अपनाउँदा–अपनाउँदै पनि घटना भएको सीडीओ तिवारीले बताए। सुरक्षा निकायलाई भीडबाट बाहिर सहज रूपमा निस्कने अवस्था नै नरहेपछि अन्तिममा प्रहरीले गोली चलाउन बाध्य भएको उनले बताए।

झडपमा परी १६ जना सर्वसाधारण गरी ५० जना घाइते भएका प्रशासनको भनाइ छ । औद्योगिक क्षेत्र निर्माणस्थलमा बसोबास गर्न आएका ‘सुकुम्वासी’लाई हटाउन सकस परेपछि प्रहरीले गोली चलाएको थियो ।अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएको रुपन्देहीका सीडीओ ऋषिराम तिवारीको दाबी छ।

मृतकका आफन्तले प्रहरीले नियतवश टाउको र छातीमा गोली हानेको आरोप लगाएका छन् । हुलमुलमा गएकाहरू कतिपय अझै हराइरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ चैत १ गतेको निर्णयबाट लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको साविक बुटवल नगरपालिका, टिकुलीगढ, आनन्दवन र फर्साटिकर गाविसका केही भाग ४ किल्ला तोकी ८१३ विगाहा क्षेफलमा मोतिपुर औद्योगिक क्षेत्र घोषणाबाटै स्थानीय चिढिएका थिए।

यी क्षेत्र अहिले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकामा पर्छन्। २०७५ जेठ २१ गतेमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिले ९४६ दशमलव ४६ विगाहा जग्गाको डीपीआर स्वीकृत गर्‍यो तर लिमिटेडले ८१३ विगाह जग्गाको मात्र लालपूर्जा प्राप्त गरेको थियो । बाँकी १३३ दशमलव ४६ विगाह जग्गाको लालपूर्जा प्राप्त नभई औद्योगिक क्षेत्र डीपीआरअनुसार निर्माण हुन सक्दैनथ्यो।

समस्या के थियो भने १३३ दशमलव ४६ विगाहा जग्गा वर्षौंदेखि मानिसहरूको भोगचलनमा थियो। जग्गाको लालपूर्जा पाइने आशामा बसिरहेका उनीहरू थाहै नपाई औद्योगिक क्षेत्रको डीपीआरभित्र समावेश भएपछि सशंकित थिए। उठिबास हुने हो कि भन्ने भयले स्थानीयहरू राज्यसँग निरन्तर संघर्षमा थिए । त्यही विवादको शृंखलामा आइतवार ४ जनाको ज्यान जाने गरी झडपमा परिणत भएको छ।

अहिले दोस्रो लकडाउन र बर्खा सकिएपछि औद्योगिक क्षेत्रबाट असुरक्षित महसूस गरिरहेका स्थानीयले नदी उकास क्षेत्रमा ‘सुकुम्वासी खुलेको’ हल्ला पिटे । यसो गर्नुको तात्पर्य आफूहरूलाई उठिबास लगाउनुअघि ‘नयाँ सुकुम्वासी’को समस्याले राज्यलाई अल्झाओस् भन्ने थियो। यसरी केही सुरक्षित हुन सकिन्छ भन्ने उनीहरूको मनोविज्ञान थियो।

‘सुकुम्वासी खुलेपछि’ रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, गुल्मी लगायतका जिल्लाबाट पहिले नै बुटवल र आसपासका क्षेत्रमा बसिरहेका मानिसहरू आउन थाले । सुकुम्वासीका नाममा मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न थालेपछि भदौ २८ गतेमा मोतिपुर औद्योगिक क्षेत्र वरपर जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको थियो तर निषेधाज्ञा लामो समय टिक्न सकेन।

स्थानीय र आगन्तुक ‘सुकुम्वासी’ले बाँस गाढेर टहरा बनाउने र दिनभर कुर्न थाले। राति त्यहाँ कोही सुत्दैन्थे। गत शुक्रवारसम्म करीब २०० बिगाहा क्षेत्रफलमा १२ हजार जनाभन्दा धेरै व्यक्तिले जग्गा ओगटेर कुरिरहेको थिए। २ हजार वटा साना टहरा बनाइएको थियो।

प्रतिक्रिया