आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

४० घण्टे मन्त्रीले बनाए ऐतिहासिक रेकर्ड, एउटै निर्णयले गर्यो कमाल

प्रकाशित
472
SHARES

काठमाडौ। तीन दिने मन्त्री गजेन्द्र हमालले जादाजादै ऐतिहासिक रेकर्ड बनाएका छन्। चर्को आलोचना पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल पदबाट हटेका छन्।  उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ।

शुक्रबार दिउँसो मन्त्री नियुक्त भएका हमालले सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए। दिनको हिसाबले तीन दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका हमाल घण्टाको हिसाबले भने मन्त्री पदमा ४० घण्टा हारहारी मात्रै रहे।

उद्योग मन्त्रालयको इतिहासमा जम्मा एउटा मात्र निर्णयपछि पद गएका एकमात्र मन्त्री हमाल भएको सो मन्त्रालयका अधिकारीहरु बताउँछन्।शुक्रबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ पछि छोटो मन्त्रिपरिषद् बैठकमा सहभागी भएर साँझ साढे ७ बजे पदभार ग्रहणका लागि हमाल मन्त्रालय पुगेका थिए।

मन्त्रालयका दुई जना सचिव, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु तथा मातहतका कार्यालयका प्रमुखहरुले उनको स्वागत गरेका थिए।पदभार ग्रहण गर्दा उनले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगहरुलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका वाणिज्यतर्फका सचिव दिनेश भट्टराईले जानकारी दिए ।

पदभार ग्रहणपछि आइतबारका लागि मन्त्रालयमा मन्त्रीको महाशाखागत ब्रिफिङ हुने जानकारी मन्त्रीलाई गराइएको थियो ।शनिबार हमाल लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औं बैठकमा सहभागी भएका थिए । मन्त्रालयले मातहतका सबै महाशाखाहरुलाई आइतबार ब्रिफिङका लागि सूचना पनि जारी गरेको थियो तर मन्त्री हमाल ब्रिफिङका लागि कार्यालय नआउँदै पदबाट बाहिरिए ।

यसैगरि,  प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यलाई ठूलो राहत हुने देखिएको छ। प्रदेश १ मा निर्णय नै उल्टिएपछि आचार्यलाई ठूलो राहत भएको हो। नेकपा एमाले विभाजन हुनै लाग्दा मुख्यमन्त्री बनेका १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यको पदको आयू बढेको छ।

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि प्रदेशसभा बैठकलाई कात्तिक ५ गतेसम्म सारिएको छ। बैठक दशैंपछि सारेर प्रदेश सरकारले आयू लम्ब्याउन खोजेको र सभामुख प्रदीप भण्डारी सहयोगी बनेको विपक्षी दलको आरोप रहेको छ।

आईतवारको संसद् बैठकमा सभामुख भण्डारीले सोमबार १ बजेका लागि प्रदेशसभा बैठक हुने निर्णय सुनाएका थिए। तर साँझ प्रदेशसभा सचिवालयले सूचना टाँसेर बैठक कात्तिक ५ गतेसम्म स्थगित गरेका छन्। सभामुख भण्डारीले बोलेको निर्णयलाई प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचनामार्फत उल्ट्याइदिएका छन्।

आईतबारको संसद बैठकमा विपक्षी दलबाट सभामुख भण्डारीको समेत तीब्र आलोचना भएको थियो। बैठक बस्ने मिति परिवर्तन गर्दा ‘विशेष कारण’ भनिएपनि स्पष्ट कारण खुलाइएको छैन। मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले विश्वासको मत चाहिएको सूचना आईतबार पनि संसदमा नपठाएको संसद् सचिव गोपाल पराजुलीले बताएका छन्।

तस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र कर्तव्यनिष्ठाका साथ देश र नागरिकको हितमा काम गर्न निर्देशन दिएका छन। पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आज आइतवार पार्टी केन्द्रीय कार्यालयमा बोलाएर नेता नेपालले इमानदारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए।

उनले देश र नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन। अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराएका छन। कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए।

उनले भने, ‘तपाईँहरूले इमानदारिताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौ। काम गर्दा देशको हितलाई र आफूले जिम्मेवारी सम्हालेको संस्थाको हितलाई केन्द्रविन्दुमा राखेर अनि नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर तपाईँहरूले काम गर्नु हुनेछ।

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुन नहुनेमा जोड दिनुभयो। पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न उहाँले निर्देशन दिनुभयो। कुनै पनि प्रकारका दुर्व्यसन र आचरणसँग जोडिने काम नगर्न अध्यक्ष नेपालले निर्देशन दिए। उनले गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध समेत गरे।

मन्त्रीहरूको सल्लाहकार, पिए लगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ। अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडि नै सामूहिक रूपमा बसेर, छलफल गरेर, साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए।

सिङ्गो मन्त्रीपरिषद्ले गर्ने निर्णयको जस-अपजसको भागीदार सबै मन्त्री हुने उल्लेख गर्दै उहाँले मन्त्रिपरिषद्का विषयवस्तुहरू पार्टीलाई समेत जानकारी गराइ, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने बताए।

प्रतिक्रिया