आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अज्ञात समूहद्वारा विमानस्थलमा आक्रमण, १० जनाको अवस्था गम्भीर

प्रकाशित
864
SHARES

काठमाडौ। साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन्। यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ। साउदी समाचार एजेन्सी एसपीएले यमन सरकारको साथमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले शुक्रबार भएको आक्रमणमा घाइते हुनेहरूमा यात्रु र विमानस्थलका कर्मचारीहरु रहेको बताइएको छ।

गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीका अनुसार बम प्रयोग गरिएको ड्रोन आक्रमणको पछाडि इरान समर्थित हुथी मिलिशियाको हात रहेको छ।  यमनको सीमाबाट करिब ६० किलोमिटर जाजानको किंग अब्दुल्लाह एयरपोर्टमा भएको आक्रमणले केही भौतिक क्षति पुर्याएको जनाइएको छ।शिया हुथीहरूले साउदी अरेबियामा पछिल्ला दिनहरूमा हमला बढाएका छन्।

यसैगरि, अफगानिस्तानको एक मस्जिदमा शुक्रबार ठूलो विस्फोटन हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ। एनडीटीभीका अनुसार आज कुन्दुज शहरको सिया धर्मावलम्बीको मस्जिदमा विस्फोटन भएको हो। गत अगष्टमा तालिबानले अफगानिस्तान कब्जामा लिएयता आईएस–के समूहले तालिबानविरुद्ध हिंस्रक गतिविधि मच्चाउँदै आएका छन्।

यो आक्रमण कसले गरेको भनेर पत्ता लाग्न सकेको छैन। आक्रमणको जिम्मा पनि कुनै समूहले लिएका छैनन्। एमएसएफ अस्पतालका अनुसार हालसम्म यो घटनाका ९० घाइतेले उपचार पाइरहेका छन्। अस्पतालमा उपचारकै क्रममा १५ को ज्यान गइसकेको छ।

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले कुन्दुजको मस्जिदमा बम विस्फोटन भएको बताए पनि कतिको मृत्यु भएको केही जानकारी दिएका छैनन्। यो विस्फोटन आत्मघाती बम आक्रमण भएको बीबीसीले जनाएको छ। यो आक्रमणमा आईएस–के समूह नै संलग्न भएको आशंका गरिएको छ।

शुक्रबारको समय मुस्लिमहरु धेरैको संख्यामा प्रार्थनाको लागि आएको बेला यो नियोजित आक्रमण भएको बताइएको छ।एक स्थानीय व्यापारी जालमाई अलोकजाईले यो विस्फोटनमा ४० जना मारिएको एएफपीसँग बताएका छन्। उनले लाशहरु आफैंले गनेको बताएका छन्।

सेप्टेम्बरयता अफगानिस्तानमा इस्लामिक स्टेट आइएसको शाखा आईएस–केले तालिबानविरुद्ध कारवाही सुरु गरेको देखिएको छ। आईएस–के समूहले तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि आफूहरुले तालिबानलाई निशाना बनाएर कारवाही गर्न थालेको औपचारिक जानकारी नै दिएको थियो। आईएसले तालिबानलाई ‘धर्म भ्रष्ट लडाकु’ भनेको छ।

यसरी आइएसले आक्रमण गर्न थालेपछि अव्यवस्थित तालिबान सरकारलाई थप चुनौती थपिएको छ। यसअघि १५ अगष्टमा जब तालिबानले राजधानी काबुल कब्जा गरेका थिए तब आईएसले अमेरिकाले अफगानिस्तान छाडेका कारण मात्र तालिबानको सत्ता फर्किएको बताएको थियो। तालिबानले लडाइले अमेरिकालाई हराएको भन्ने भनाइमा आईएस विश्वस्त छैन।

‘तालिबान अफगानिस्तानको सबैभन्दा महत्त्वपूर्ण खेलाडी हो। आईएस आफ्नो सञ्जाल पुनः निर्माण गर्न प्रयासरत अन्तर्राष्ट्रिय जिहादी समूह हो। तर यो अलकायदा र तालिबान दुवैको घातक दुस्मन हो’ न्युयोर्कस्थित सोपान सेन्टरका सुरक्षा विश्लेषक कोलिन क्लर्क भन्छन्।

तालिबान सन् १९८० को अन्त्यतिर अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणविरुद्ध प्रतिकार र सन् १९९० को सुरुतिर अफगानिस्तानमा देखिएको आन्तरिक द्वन्द्वसँगै उदय भएको हो। आईएस त्यसको वर्षौँपछि सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेपछि अलकायदाको स्थानीय शाखाको अवशेषहरूबाट विस्तार भएर बनेको समूह हो।

सन् २००७ मा इराकमा अमेरिकी फौज थपिएपछि निकै वर्षसम्म हराएको यो समूह सन् २०११ पछि फेरि देखिन थाल्यो।तालिबानको चासो अफगानिस्तानमा मात्रै सीमित रहे पनि आईएसको विश्वव्यापी आकाङ्क्षा छ।

वासिङ्टनस्थित जर्जटाउन विश्वविद्यालयका मध्यएसिया आतङ्कवाद विज्ञ ड्यानियल बाइमन तालिबान विगतको आदर्श मुस्लिम देशमा अफगानिस्तानलाई फर्काउन चाहने बताउँछन्। आईएसको चाहना विश्व नै मुस्लिम राज्य बनाउने रहेको छ।

तस्तै, मालीमा यहाँका आतंककारीहरुले गरेको आक्रमणमा परेर कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन्। मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो।  मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए। मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ।

मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए। बुधबार यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो।

सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो। यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ।

कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दा बढीको मृत्यु:  डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन्। कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। यहाँका मानिसहरू देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन्।

उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेको विश्वास गरिएको छ।

उक्त दुर्र्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन्। यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन यो । सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो। यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको ढुङ्गा हो।

प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ। पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन्। प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताएका छन्।

प्रतिक्रिया