आज : गते

ताजा शिर्षकहरु

तालिवानको पुरानै रवैया: गोली हानी गर्भवती महिलाको हत्या

प्रकाशित
1.1K
SHARES

एजेन्सी। अफगानिस्तानमा तालिवान लडाकुले एक प्रान्तीय सहरमा गर्भवती महिलालाई गोली हानी ह’त्या गरेकाे बताइएको छ। घोर प्रान्तको राजधानी फिरोजकोहमा गर्भवती महिलालाई गोली हानी ह’त्या गरिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बानु नेगर नाम गरेकी महिलालाई गोली प्रहार गरेको हो।

अफगानिस्तानमा महिलाहरूले अधिकारका लागि विभिन्न स्थानमा प्रदर्शन गरिरहँदा यो ह’त्याको यो खबर सार्वजनिक भएको हो। यो घटना सार्वजनिक भएपछि तालिवानको बोली र व्यवहार नमिलेको भन्दै आलोचना भइरहेको छ। तालिवानले भने ती महिलाको मृ’त्युमा आफूहरूको संलग्नता नभएको बताउँदै यस विषयमा छानबिन गर्ने जनाएको छ।

तालिवानका प्रवक्ता जबिल्लाह मुजाहिनले बिबिसीसँग कुरा गर्दै भने, हामी घटनाका विषयमा जानकार छौ। म स्पष्ट पार्न चाहन्छु कि उनलाई तालिवानले मारेको होइन। हामी अनुसन्धान गरिरहेका छौ। अघिल्लो सरकारका लागि काम गरेकाहरूलाई तालिवानले आममाफी दिइसकेको बताउँदै उनले महिलाको घटनामा तालिवानको संलग्नता रहेको भन्ने कुरा अस्वीकार गरका हुन्।

यसैगरि, अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि काबुलबाट एक सयभन्दा बढी संगीतका विद्यार्थी र शिक्षकले अफगानिस्तान छाडेका छन्। अफगानिस्तानको शीर्ष म्युजिकल इन्स्टिच्युटका एक सय एक सदस्य सोमबार साँझ दोहा पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत–संगीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन्। अफगानिस्तान नेसनल इन्स्टिच्युट अफ म्युजिकलका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरूमध्ये लगभग आधा संख्यामा कतार सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन्।

काबुलस्थित कतारी दूतावासको सहयोगमा संगीतकारहरूलाई सानोसानो समूहमा विभाजित गराएर सहरको विमानस्थलसम्म पुर्‍याइएको बताइएको छ।अफगानिस्तानको आकाशमा ड्रोन उडाउन बन्द नगरे अमेरिकाले नसोचेको परिणाम भोग्नुपर्ने भन्दै तालिवानले चेतावनी दिएको छ। तालिवानको ट्विटरमार्फत एक वक्तव्य जारी गर्दै अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ।

‘अफगानिस्तानमा ड्रोन अप्रेसन गरेर अमेरिकाले सबै अन्तर्राष्ट्रिय कानुन र कतारको दोहामा भएको सम्झौता र प्रतिबद्धताको उल्लंघन गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘कुनै पनि किसिमको नकारात्मक परिणाम रोक्नका लागि हामीले विश्व समुदायलाई, विशेषगरी अमेरिकालाई अन्तर्राष्ट्रिय कानुन तथा प्रतिबद्धताका आधारमा अफगानिस्तानसँग व्यवहार गर्न आग्रह गर्दछौ।

अमेरिकी अधिकारीहरूले तत्काल यसको प्रतिक्रिया नदिएका अलजजिराले उल्लेख गरेको छ। यसले गत अगस्ट ३० मा अफगानिस्तानबाट अमेरिकाले आफ्नो सेना फिर्ता गरेपछि बिग्रँदै गएको अमेरिका–तालिवान सम्बन्धलाई झन् नाजुक बनाउन सक्ने जानकारहरूले बताएका छन्।

तालिवानले सत्ता कब्जा गरेसँगै अमेरिकाले अफगानिस्तानसँग सामान्य सम्बन्ध राखे पनि तालिवान सरकारलाई औपचारिक रूपमा मान्यता भने दिएको छैन। तालिवानको सरकार आइसकेपछि ‘अल कायदा’ र ‘आइएसआइएस’जस्ता आतंकवादी संगठनहरूको सम्भावित उदयबारे चिन्ता व्यक्त गर्ने अमेरिकी अधिकारीहरूले अफगानिस्तानबाट हुन सक्ने खतरा टार्नका लागि अमेरिकाले ‘ओभर द होराइजन’को रणनीति अपनाउने बताउँदै आएका छन्।

जानकारहरूका अनुसार अमेरिकाले अपनाउने त्यस्तो रणनीति अफगानिस्तानबाहिर रहेर गरिने प्रविधिमा आधारित खुफिया अनुगमन र आक्रमणहरूमा निर्भर गर्नेछ। विगतमा अमेरिकाले यस्तो क्रियाकलाप अन्तर्राष्ट्रिय कानुनसम्मत नै भएको तर्क गर्दै आइरहेको भए पनि अफगानिस्तानबारे अब लिने रणनीति कसरी लागू गर्छ भन्ने स्पष्ट भइसकेको छैन।

अमेरिका र तालिवान दुवैले इस्लामिक स्टेट इन खोरासन प्रोभिन्स (आइएसकेपी अथवा आइएसआइएस–के) आफूहरूका लागि खतरा भएकाले त्यस्ता संगठनविरुद्ध सहकार्य गर्ने पनि बताइसकेका छन्। तर, आलोचकहरूले तालिवानले त्यस्ता आतंकवादी संगठनहरूको रक्षा गरिरहेको आरोप लगाउँदै आएका छन्।

आइएसकेले गत अगस्ट २६ मा अमेरिकाको नियन्त्रणमा रहेको काबुल विमानस्थल क्षेत्रमा र पछि जलालवाद सहरमा आक्रमण गरेको थियो। मानवअधिकारवादीहरूले नागरिकहरूमा ‘बुट्स अन द ग्राउन्ड’ नीतिले भन्दा धेरै क्षति ‘ओभर द होराइजन’ नीतिले पार्न सक्ने भन्दै चेतावनी दिएका छन्।

उनीहरूले गत अगस्ट २९ मा अमेरिकाले गरेको ड्रोन हमलाको उदाहरण दिँदै उक्त हमलामा आइएसकेपीका लडाकुहरू नभएर १० आमनागरिक मारिएको तथ्यलाई प्रस्तुत गरेका छन्। तालिवानले अलकायदाको निगरानीका लागि अमेरिकासँग सहकार्य गर्नेबारे चासो नदेखाएको अमेरिकी आरोप छ। तालिवानले अल कायदा लडाकुहरू अफगानिस्तानमा सक्रिय छन् भन्ने अमेरिकी दाबीलाई अस्वीकार गर्दै आइरहेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ