आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाजवादी र जसपाले क–कसलाई मन्त्री बनाए, यस्तो छ निर्णय

प्रकाशित
841
SHARES

काठमाडौँ – नेकपा एकीकृत समाजवादी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । सरकारले अध्यादेश खारेज गरेसँगै सो पार्टीले सरकारमा सहभागी हुने नेताहरुको नाम टुङ्गो लगाएको हो । नेकपा एकीकृत समाजवादी का एक नेताका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो ।

तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएका हुन् । त्यस्तै किसानकुमार श्रेष्ठलाई पनि समायोजन गर्नुपर्ने भन्दै नेता नेपालले सात मन्त्री मागेको बुझिएको छ । एकीकृत समाजवादीलाई सात मन्त्री दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि सातै मन्त्री दिनुपर्ने भएकाले प्रधानमन्त्री देउवाले तत्काल नेपाललाई सात मन्त्री दिन नसक्ने जवाफ दिएका छन् ।

उपेन्द्र यादव ​गठबन्धनबीच बिहीबारसम्म सरकारलाई पूर्णता दिने सहमति भएको बुझिएको छ । यद्यपि कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेमा नेताहरुबीच अझै प्रष्ट छलफल भैनसकेको बताइएको छ । त्यसका लागि बुधबारभित्र गठबन्धनका शीर्ष नेताहरु बसेर निर्णय गर्ने तयारी भएको बताएको छ ।

हाल नेपाली काँग्रेसका तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँण कानुनमन्त्रीमा ज्ञानेन्द्र कार्की, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ, र परराष्ट्रमन्त्रीमा नारायण खड्का तथा माओवादीतर्फबाट जनार्दन शर्मा अर्थमन्त्री र उर्जामन्त्रीमा पम्फा भुसाल छन् । सरकारलाई पूर्णता दिन माओवादीले थप चार, जसपाले ६ र काँग्रेसबाट दुईदेखि तीन जना थपेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी छ ।

जसपाले नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । यसअघि नेकपा एकीकृत समाजवादी र जसपाका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो । जसपाले अध्यादेश निश्कृय भएपछि मात्रै सरकारमा जाने अडान लिएको थियो ।

नेकपा एकीकृत समाजवादीविरुद्ध सर्वोच्चमा एमालेले रिट निवेदन दिएकाले दुवै पार्टीले मन्त्रिपरिषद विस्तारमा हतार नगर्न प्रधानमन्त्री देउवालाई दवाव दिएका थिए । तर, सोमबारबाट अध्यादेश खारेज भइसकेको र माधव नेपालको पार्टी विरुद्धको मुद्दामा पनि सर्वोच्चले अन्तरिम आदेश नदिएकाले मन्त्रिमण्डल विस्तारको बाटो खुलेको छ ।

सरकार गठन भएको ७५ दिन हुन लाग्दा पनि गठबन्धनको आन्तरिक समस्याका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धन सरकारमा बहुमत पुर्याउन गत भदौ २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि एमाले र जसपा विभाजन भएका थिए । एमाले फुटेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बनेको छ भने जसपा फुटेर लोसपा बनेको छ ।

यसैगरि, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने र यसलाई संसदबाट टुंगो लगाउनुपर्ने बताएका छन् । उनले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने जिकिर गरे।

काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको आरोप लगाए । एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने बताए। संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने उनको भनाइ छ ।

ओलीले भने, ‘दूषित मनसायका साथ अध्यादेश ल्याइयो । अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ । अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो ।अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन ।

रद्द गर्नुपर्यो भने अर्को अद्यादेशको व्यवस्था गर्नुपर्छ ।’ उनले पहिलेको कानून अहिले कहाँ गयो भनी प्रश्न गरे । उनले भने, ‘ सदनको बैठक चालु छ । सूचना जारी गर्न पाइँदैन । कानून परिवर्तन गर्न पाइँदैन ।’ ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको आरोप लगाए ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आवश्यक रहेकोले ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।मंगलबार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले प्रतिनिधिसभा नचलेकोका कारण निर्वाचन आवश्यक रहेको बताए ।

‘यो प्रतिनिधिसभा चलिरहेको छैन । म अहिले पनि भन्छु ताजा जनादेश आवशयक छ । मिल्नै पर्दैन वहाँहरुले नै गराए पनि हुन्छ । गठबन्ध छँदैछ मिलेर लड्छौँ भन्नु भएकै छ । यो गठबन्धले चुनाव गराए भयो नि त’ उनले भने ।

ओलीले अढाई महिनासम्म सरकार बन्न नसक्ने अकर्मनिय स्थितीमा कुनै काम नहुने समेत बताए । ‘समय खेर फाल्नु हुँदै ताजा जनादेशमा गएर देशलाई गतिशिल बनाउनुपर्छ’ उनले थपे।

प्रतिक्रिया