आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीबिच एकता हुदै

प्रकाशित
584
SHARES

काठमाडौं। यथास्थितिमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक हुनसक्ने असम्भव जस्तै लाग्छ । कुनैबेला यी तीन दल एउटे थिए, नेकपा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुच्छर झुण्डिएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको परिकल्पना गरेका थिए ।

उनैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव राखे । मिलेर चुनाव लडे । बहुमत हासिल गरे । एमाले र माओवादी एकीकरण भयो । २०७५ सालमा भएको यो एकतापछि नेकपा बन्यो जुन बलियो देखियो । तर, ओली र प्रचण्डबीचको विवादले नाटकीय घटनाहरु भए ।

सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतियो । ३ जेठ २०७५ मा एकीकरण भएका दुई दल पुरानै अवस्थामा फर्किए ।एमाले पनि फुट्यो । नेकपा एस गठन भयो । यसरी नेकपा तीन टुक्रामा परिणत भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एसका अध्यक्ष माधवकुमार नेपालबीच आलोचना, कटाक्ष मात्र नभई गालीगलौज चलिरहेको छ । लाग्छ उनीहरु नदीका दुई किनार भएका छन् । पाँच दशक सँगै काम गरेका ओली र नेपालबीचको टकराव विभाजनमा परिणत भएको थियो ।

यस्तो देखिन्छ कि ओली र नेपाल भएसम्म एमाले र एस एक हुँदैन । तर, राजनीति न हो सम्भावनाको खेल रहन्छ । नेकपा एमाले र नेकपा एस भविष्यमा एक हुने सम्भावना छ । त्यो आमनिर्वाचन अघि हुने सम्भावना कमजोर छ । तर, आमनिर्वाचन पछि सम्भव होला ।

२०५४ सालमा नेकपा एमाले विभाजन भई नेकपा माले बनेको थियो । तर, २०५६ सालको चुनावमा माले सुन्यमा सिमित भयो । एमालेको पनि सिट संख्या ह्वात्तै घट्यो । यो घटनापछि दुवै पार्टी एक भएका थिए । त्यतिबेला एमाले महासचिव माधवकुमार नेपाल र माले महासचिव वामदेव गौतमबीच निकै चर्को आलोचनाहरु एक अर्कामाथि हुन्थ्यो ।

तर, कालान्तरमा दुवै एउटै दलमा आएका थिए । माओवादी केन्द्र र नेकपा एसबीच एकताको सम्भावना छ । प्रचण्ड र माधव नेपाल नजिक छन् । यी दुई दल एक भएपछि एमालेसँग भविष्यमा एकता हुनसक्ने सम्भावना पनि छ । कम्युनिस्ट दलहरुले चुनावमा खाने झड्काले त्यस्तो एकताको वाध्यकारी अवस्था निर्माण गर्न सक्छ ।

फेरि पार्टी एकताको लागि एमालेले पहल गर्ने

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको निचोडबारे टोली नेताले ‘बिफ्रिङ’ गरेका छन् । शनिबारको बैठकमा समूहगत छलफलको निचोड प्रस्तुत गरिएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न एमाले केन्द्रीय सदस्यहरूलाई १० समूहमा विभाजन गरिएको थियो । समूगत छलफलको निचोडअनुरूप जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा नेपालको लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशा बनाउनुपर्ने निष्कर्ष समूहगत छलफलबाट आएको उनले बताए ।

“जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा हामीले ०६२–६३ को ऐतिहासिक जनक्रान्ति र संविधान निर्माणसम्म आइपुग्दा एउटा क्रान्ति सम्पन्न गरेका छौँ । नेपालमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न गरेका छौँ,” उनले भने, “अब नेपाली समाजमा रहेका पछौटे, सांस्कृतिक, सामाजिक, आर्थिक प्रणाली छन् ।

ती कुरामा रूपान्तरण गर्दै र क्रान्तिका उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने धेरै टोलीका साथीहरूको सुझाव आएको छ ।”

एमाले कम्युनिस्ट आन्दोलनको एकताको प्रतीक र प्रवृत्ति भएकाले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कार्यभार एमाले नै पूरा गर्नुपर्ने सुझाव बैठकमा प्रस्तुत भएको उनले जानकारी दिए ।

कम्युनिस्ट पार्टीसँग छलफल गरेर विभाजनकारी प्रवृत्तिमाथि संघर्ष गर्दै एउटै पार्टी बनाउने कार्यदिशा पार्टीले तय गर्नुपर्ने सुझाव पनि आएको भट्टराईले बताए ।

यस्तै, नीति निर्माण, जनप्रतिनिधि, पार्टीको नेतृत्वमा समेत युवाहरूको उल्लेख्य सहभागिता बढाउन पनि सुझाव आएको उनले उनले जानकारी दिए । महिला, जनजाति, दलित, अपांगता भएका व्यक्तिहरूलाई समावेश गरेर राष्ट्रिय चरित्र र समावेशी खालको पार्टी बनाउनुपर्ने सुझाव टोलीका नेताहरूले दिएको उनको भनाइ छ ।

आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव पनि टोली नेताहरूले दिएको उनले बताए । नेताहरूले पार्टीमा सात उपाध्यक्षको व्यवस्था गरिनुपर्ने सुझाव दिएका छन् ।

यसैगरी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने सुझाव पनि आएको उनले जानकारी दिए । त्यो कार्यान्वयन भइरहेको विधानमा पनि व्यवस्था रहेको उनले बताए । ७० वर्षे उमेरहद पनि कायमै राखिएको छ ।

आइतबार बिहान ११ बजे पुनः बैठक बस्ने र आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले जवाफ दिने भट्टराईले जानकारी दिए । एमालेको यही असोज १५–१७ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमाथि छलफल भइरहेको हो।

प्रतिक्रिया