आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लवबारे नेपाली सेनाले पाएको सूचनाले देश तरङ्गीत

प्रकाशित
9K
SHARES

काठमाडौ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बारे नेपाली सेनाले नयाँ सूचना पाएको जनाएको छ। उक्त सूचनाले नेकपा मुलुकको आन्तरिक सुरक्षामा अझै चुनौतीका रुपमा रहेको सेनाले विश्लेषण गरेको छ।

जंगीअड्डामा भएको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’मा विप्लव नेतृत्वको नेकपा अझै सुरक्षा चुनौतीका रुपमा रहेको जर्नेलहरुले निष्कर्ष निकालेका हुन्।

नेपाली सेना ‘तीन जोड एक कमाण्ड’ संरचनामा गएपछि पहिलो पटक भएको बैठकमा मूलतः सेनाको आन्तरिक सुदृढीकरणका विषयमा छलफल भए। नयाँ प्रधानसेनापतिज्यूले संगठनको क्षमता अभिवृद्धि, तालिम लगायत विषयमा राय, सुझाव लिनुभयो’ सैनिक स्रोतले भन्यो, ‘त्यसबाहेक वर्तमान सुरक्षास्थितिबारे पनि छलफल भयो।

छलफलका क्रममा अन्तरिक सुरक्षामा विप्लव नेकपाबाट अझै खतरा हुनसक्ने बताइएको हो। समूहले २० फागुन २०७७ मा हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी सरकारसँग समझदारी गरेको थियो।

तर २१ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा सार्वजनिक गरिएको तीन बुँदे सहमति समूहसँग भएका हतियारबारे मौन थियो।

यही विषयलाई सेनाले ‘शंकास्पद’ मानेको छ।‘हतियार नबुझाएकाले सुरक्षा चुनौती रहेको मूल्यांकन गरिएको छ’ जंगीअड्डा स्रोतले भन्यो, ‘विप्लव समूहलाई अझै शान्तिपूर्ण राजनीतिमा आइसकेको मानिहाल्न हतारो हुन्छ।

सरकारसँग भएको समझदारी अनुसार नेता कार्यकर्ता नछुटेपछि विप्लव नेतृत्वको नेकपाका नेताहरु पनि असन्तुष्ट छन्। यस्तो परिस्थितिमा समझदारी कार्यान्वयन नभए हिंसाको बाटोमा जान सक्ने चेतावनी हालै पार्टीका महासचिव विप्लवले पनि दिएका छन्।

पोखरामा आयोजित पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले सरकारले सहमति कार्यान्वयन नगरेर ‘घेरा लगाउन खोजेको भए, तोड्न तयार’ रहेको भनेका थिए।

सरकारसँग भएको तीन बुँदे समझदारीको तेस्रो बुँदामा सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो। कार्यकर्ताको रिहाइ र खारेजीको माग पूरा गर्न सरकारले आलटाल गरेको भन्दै विप्लवका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन्।

पार्टीका शीर्ष नेताहरुले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनिसकेपछि पनि विभिन्न नेताहरुको भेटघाटलाई जारी राखेका छन्। तर बन्दीको रिहाइमा सकारात्मक नतिजा आइसकेको छैन। यहीबीच नेपाली सेनाले हतियार नबुझाएको विषयमा शंका व्यक्त गरेका हो।

बैठकमा अफगानिस्तानमा तालिबानको उदयले पार्न सक्ने प्रभावबारे पनि छलफल भएको स्रोतले बताएको छ। विज्ञहरुले अफगानिस्तानबाट नेपालमा शरणार्थीहरु आउनसक्ने भनेका छन्। सेनाले चाहिं अफगानिस्तानमा तनाव बढ्दै गए परोक्षरुपमा थप सुरक्षा चुनौती पनि सिर्जना हुनसक्ने विश्लेषण गरेको छ।

बैठकको आरम्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले सेनालाई अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै सम्बिन्धत विषयहरुमा साझा धारणा निर्माण गर्न बैठकले सहयोग गर्ने अपेक्षा गरेको बताएका थिए।

उनले राष्ट्रिय सुरक्षा सुरक्षा चुनौतीको विश्लेषण गर्दै त्यसलाई सामना गर्न समय सान्दर्भिक प्रतिकारात्मक उपायको विकास गर्न पनि बैठकले भूमिका खेल्ने विश्वास लिएको बताएका थिए।

प्रधानसेनापति प्रभुराम शर्माले स्वागत मन्तव्य दिँदै नेपाली सेना जस्तोसुकै परिस्थितिमा संविधानले दिएको जिम्मवारी पूरा गर्न तयार रहेको बताएका छन् । ‘देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिको सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै आएको छ’ उनले भनेका छन्।

त्यसबाट सिर्जना हुनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको छ। बैठकको समापनमा बोल्दै प्रधानसेनापति प्रभुराम शर्माले सेनाको क्षमता अभिवृद्धिका साथै तालिम तथा कल्याणकारी योजनामा जोड दिएर उच्च मनोबलसहितको फौज निर्माण गर्ने बताएका थिए ।

बैठकमा तीन जोड एक कमाण्ड संरचनाको कार्यान्वयनको विषयमा पनि छलफल भएको स्रोत बताउँछ। स्रोतका अनुसार सेनाले अघि सारेको दीर्घकालीन सोच–२०८७ को कार्यान्वयनको विषय पनि छलफल भएको थियो ।बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय, विभागीय प्रमुख तथा कमाण्ड सेनापतिले आ–आफ्नो क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्यसमीक्षा र सुझाव प्रस्तुत गरेका थिए।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘यस किसिमका बैठकहरुबाट प्राप्त हुने राय सुझावहरुले आगामी दिनमा सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने’ भनेको छ।

यस्तै विप्लवले आफ्नो जनमुक्ति सेनाबारे एउटा भनाई सार्बजनिक गरेका छन्। उनको भनाइ यस्तो छ।- युद्धकालमा पनि जनमुक्ति सेनाको बहस थियो आज शान्ति प्रकृयामा रहँदा पनि जनमुक्ति सेनाको बहस छ। वास्तवमा सेनाको बहसले वोध गराउँदछ कि राज्य, क्रान्ति र शान्तिमा सेनाको प्रमुख भूमिका छ। जनभूमिकालाई स्पष्ट गर्ने केही पक्षहरु यहाँ उल्लेख गर्न सकिन्छ।

विचारक र सेना: जनताको निम्ति, सत्ताको निम्ति र क्रान्तिको निम्ति सेनाको महत्व के हो र कति आवश्यक हुन्छ भन्ने बारेमा सबै चर्चित विचारकहरु स्पष्ट देखिन्छन्। उनिहरुले सेनाको आवश्यकता र अनिवार्यतामा जोड दिएका छन् । एक प्रकारले भन्दा विचारक हुनुको एउटा विशेषता नै सैन्य ज्ञान रहँदै आएको छ।

जुन विचारकले आफ्नो कालमा सैन्य ज्ञान हासिल गर्न सकेको छैन या सैन्य विचार दिन सकेको छैन त्यस्तो विचारकले समाजको नेतृत्व गर्न सकेको छैन । विचारकको कुरै नगरौं तत् समयमा राष्ट्रको नेतृत्व गर्न चाहने राजनीतिज्ञ (चाहे तानाशाह नै किन नहोस्) पनि सेनाको महत्वमा स्पष्ट देखिन्छन् ।

उनीहरुले सबै कुरा छोडेर पनि सैन्य शक्तिमा विशेष जोड दिएका छन् । जुन राजनीतिज्ञले भएको सेनालाई सही नेतृत्व दिन सक्दैन या निर्माण गरेको सेनालाई सुदृढ गर्न सक्दैन त्यस्तो राजनीतिज्ञ र पार्टीको पराजय अनिवार्य बन्न पुगेको छ। अझ दुई शक्ति, दुई सेना र दुईवटा स्वार्थको बीच भिडन्त चलिरहेको बेला निर्णायक फैसला भईनसकेको बेला सैन्य शक्तिको महत्वलाई कम आँकलन गर्ने, वेवास्ता गर्ने र नेतृत्व लिन नसक्नेको पराजय अनिवार्य भएको छ।

क्रान्ति र सेना: क्रान्ति र सेना अभिभाज्य छ। आजको विकसित राष्ट्र र विकसित सभ्यताको अध्ययनबाट यो दाबी निर्धक्कसँग गर्न सकिन्छ। जुन मुलुक अहिले विकासको अग्रभागमा छन् र सम्पन्न देखिन्छन् तिनै देशका नागरिकहरुले सबैभन्दा बढी युद्ध झेलेका छन्, सबैभन्दा बढी क्रान्ति झेलेका छन् र सबैभन्दा बढी सेना परिचालन गरेका छन्। अहिले पनि तिनैसँग सबैभन्दा बढी र सुदृढ सेना छन्।

जुन मुलुकहरु अविकसित र गरिब छन् त्यहाँ क्रान्ति पनि खासै भएको छैन, भएपनि सफल हुन सकेको छैन र तिनै मुलुकसँग नै सबैभन्दा थोरै र कमजोर सेना छ। यसर्थमा क्रान्तिको विषय भनेको क्रान्तिकारी सेनाको विषय पनि हो।

क्रान्तिको विजय अर्को अर्थमा पुरानो सेनाको हार र नयाँ सेनाको विजय नै हो। जसले क्रान्तिको नेतृत्व अन्तसम्म गर्न चाहन्छ उसले सेनाको नेतृत्व गर्नसक्नु पर्दछ। क्रान्तिमा क्रान्तिकारी सेनाको महत्ववोध गर्न नसक्ने नेतृत्वले क्रान्तिको नेतृत्व गर्न सक्दैन। सेनालाई वेवास्ता गर्नु भनेको क्रान्तिकै वेवास्ता हुन पुग्छ।

सत्ता र सेना: सबै विचारकले माने अनुसार सत्ता र सेनाको सम्बन्ध अपरिहार्य छ । वास्तवमा सत्ताको केन्द्रमा नै सेना हुन्छ । चाहे प्रतिकृयावादीहरुको सत्ता होस् चाहे जनताको सत्ता होस् त्यो मुख्यतः सैन्य शक्तिमा अडेको हुन्छ। जब कुनैपनि सत्तामा सेनाको विघटन या पराजय हुन्छ सत्ता ढल्छ र नयाँ सत्ता संगठित हुन्छ। जबसम्म सेना रहन्छ र सवल बन्छ त्यतिबेलासम्म जुन कुनै सत्ता ढल्दैन र टिक्छ।

इतिहासमा जतिपनि युगहरु ढले, शासनहरु ढले र सत्ताहरु ढले तिनको सेनाले हारेपछि ढले। जतिपनि शासक र तानाशाहहरु पतन र पराजित भए तिनका सेनाले पराजय भोगेपछि भए। दास युग ढल्यो, दास मालिक ढले, सामन्ती युग ढल्यो, राजा महाराजाहरु पतन भए, ठुल्ठूला युद्धसरदार र तानाशाहहरु सिद्धिए, पुँजीवादी युग हार्दै र व्यूँझिदैछ, पूँजीपति र आधुनिक तानाशाहहरु हार्दै र फर्कदैं गरेका छन्, तिनका सेनाकै कारणले भएका छन्।

ठिक त्यसैगरी हरेक पुरानो सत्ता र शासकलाई नयाँ सत्ता र नेताहरुले जित्दै आएका छन्, त्यो भनेको नै नयाँ सेनाले जितेकै कारणले हो। आज ज्ञानेन्द्रको सत्ता टिकेकै छ त्यो टिकेको ज्ञानेन्द्रले होईन नेपाली सेना टिकेको हो।

पुरानो सत्ता चलेको छ भने सेना चलेको मात्र हो। हाम्रो पनि सत्ता आएको छैन भने जनमुक्ति सेनाले पूर्ण विजय नगरेकै कारणले हो। हाम्रो हातमा सत्ता आउँछ भने जनमुक्ति सेनाकै कारणले मात्र आउनसक्छ। त्यसैले माक्र्स, लेनिन, माओ सबैले सत्ताको लागि सेनाको महत्वमा जोड दिनुभयो यो एकदमै सही छ।

सम्झौता र सेना: झट्ट हेर्दा सत्ता र क्रान्तिको जस्तै अनिवार्य सम्बन्ध सम्झौता र सेनाको बीचमा नभए जस्तै देखिन्छ तर यो सही होईन। विना सेना सम्झौता हुन्छ भन्नु र सम्झौता पछि सेना हटाउनुपर्दछ भन्नु दुबै बेठिक हो।

यद्येपी सम्झौता दुई स्थितिमा हुने गर्दछ, एउटा संघर्षरत पक्ष मध्य कुनै एक हावी वा विजय भईसकेपछि, अर्को दुबै संघर्षरत पक्षको शक्ति बराबर हुनपुग्यो र दुबैलाई अगाडी बढ्नको लागि तयारी गर्नुपर्ने भयो भने।

पहिलो खालको सम्झौता प्रायः राष्ट्रिय मुक्ति आन्दोलन र हस्तक्षेपकारी साम्राज्यवादीको बीचमा र साम्राज्यवाद साम्राज्यवादमा हुने गर्दछ । दोस्रो खालको सम्झौता प्रायः क्रान्तिकारी युद्ध, गृहयुद्ध र राष्ट्रिय मुक्ति युद्धमा हुने गर्दछ । पहिलोमा भन्दा दोस्रो युद्धमा अर्थात बराबर शक्तिको बीचमा हुने सम्झौतामा सेना अपरिहार्य बन्दछ अर्थात त्यस्तो सम्झौता सेनाकै कारणले मात्र संभव हुन सक्दछ ।

वस्तुतः सत्तामा बसेको शक्ति र सेनाको हारकै कारण र नयाँ शक्ति र सेनाको सफलताकै कारण यो बन्दछ। तर सम्झौताको अवधिमा दुबै पक्ष आफ्नो सेना सुदृढ गर्न र अर्को सेनालाई विघटन गर्न लागि परेका हुन्छन्।

त्यसबेला पुरानो सेनासँग श्रोतसाधन र सुविधा बढी हुन्छ र उसले ति सुविधाको आडमा आफूलाई सुदृढ गर्न चाहन्छ। यता नयाँ सेनासँग सुविधा त हुँदैन उच्च मनोवल र विजयी विस्वास हुन्छ। यसले विस्वास र मनोबलको मनोविज्ञानमा आफूलाई सुदृढ गर्दछ।

यो स्थितिमा सम्झौतालाई सेनासँग जोड्न सकिएन भने सम्झौता असफल हुनेमात्र होईन सेनालाई व्यवस्थित गर्न नसक्ने पक्ष पराजयको नजिक पुग्दछ अर्थात जुन् शक्तिले आफ्नो सेनालाई सम्झौताको बीचमा सुदृढ गर्न सक्छ, विस्वस्त पार्न सक्छ,

उत्साहित पार्न सक्छ, जनता र विपक्षीलाई पनि आफू सही भएको विस्वास दिलाउन सक्छ त्यही विजयी हुन्छ, नसक्ने पक्ष हार्दछ । यस अर्थमा सम्झौताको बेला सेनालाई वेवास्ता गर्नु भनेको क्रान्तिलाई वेवास्ता गर्नु हो। दुश्मनलाई सजिलो हुन दिनु हो।

शान्ति र सेना: शान्ति र जनमुक्ति सेना अन्तरसम्बन्धित छन्। तर सुन्दा विपरित जस्तो लाग्दछ। वास्तवमा यि विपरित र विरोधी छैनन्। वर्ग समाज रहँदासम्म, वर्ग सत्ता रहँदासम्म र कम्युनिष्ट साम्यवादी दुनियाँ नबन्दासम्म जनताको सेना,

क्रान्तिकारी सेना र शान्ति अन्तरसम्बन्धित छन्। यहाँ यो सत्य हो कि प्रतिक्रियावादीहरुले बनाएको सेना, राजा रजौटाले चलाउने सेना र शान्ति भने विपरित नै हुन्छ। यद्यपी त्यहाँ सेनामा लाग्ने मान्छेको भन्दा सामन्ती शासक, सत्ता र राजा रजौटाहरुको नै बढी हात हुन्छ ।

केहीले तर्क गर्ने गर्दछन्, जनमुक्ति सेना विघटन गरिदिए या एउटा मात्र सेना भइदिए शान्ति हुन्थ्यो होला! यो हानिकारक र भ्रामक सोचाई हो, शुद्ध कल्पना मात्र हो । जतिबेलासम्म सामन्ती राज हुन्छ, दलालहरुले लुट्छन् त्यतिबेलासम्म शान्ति सम्भव नै छैन। हामीले जनमुक्ति सेना छोड्यौं भनेपनि जनताले फेरी अर्को तरिकाले लड्नैपर्ने हुन्छ, लड्छन् नै।

किनकी दमन, शोषण, अत्याचार हुँदासम्म संघर्ष, विद्रोह र युद्ध अनिवार्य हुन्छ। यस्तोबेला सेना र शान्ति विपरित नै हुन्छ तर जनमुक्ति सेनाले विजय हासिल गर्यो र जनताले पूर्ण अधिकार र स्वतन्त्रता प्राप्त गरे भने शान्ति र जनमुक्ति सेना विपरित होईन एकिकृत हुन्छन् र वास्तविक शान्ति पनि यसरी मात्र हुन्छ।

सामन्तवाद, साम्राज्यवाद र सेना: साम्राज्यवाद र सेना अभिन्न छ। साम्राज्यवाद भनेको सैन्यवाद नै हो। उसले दुनियाँ कजाएको छ र साम्राज्य फैलाएको छ भने सैन्य शक्तिकै भरमा गरेको छ। तर साम्राज्यवादले जनतालाई सच्चाई ढाँट्दछ र उसको सेना नै जनताका सेना हुन्, जनताका सेना छुट्टै चाँहिदैन भन्ने प्रचार गर्दछ।

त्यतिमात्र होईन मुक्ति युद्ध र स्वतन्त्र संग्राम पनि उचित छैन त्यसका लागि जनताले सेना बनाउनु हुँदैन भन्ने हल्ला गर्दछ। आफूलाई शक्तिशाली दाबी गर्दागर्दै जनताको सेना भन्ने वस्तुबाट आतंकित र थर्कमान भईरहन्छ।

सामन्तवाद, साम्राज्यवादले सैन्य तागत बुझेको छ र सैन्यवादमा विस्वास गर्दछ। आफ्नो सेनालाई सुदृढ गर्दछ। सबैभन्दा ठूलो आर्थिक लगानी सेनामै गर्दछ तर जनतालाई, विद्रोही शक्तिलाई र क्रान्तिकारी शक्तिलाई सेना बनाउनै हुँदैन भन्दछ।

बनाईहाले पनि त्यसलाई आतंककारीको विल्ला झुण्डयाएर हुन्छ कि, अशान्तिको हल्ला गरेर हुन्छ विघटन गराउन तर्फ र दमन गर्न तर्फ सकृय हुन्छ । यसबाट पनि बुझ्न सकिन्छ कि साम्राज्यवादलाई तह लगाउनु छ भने, सामन्तवादलाई परास्त गर्नुछ भने जनतासँग बलियो सेना, दक्ष र समर्पित सेना हुनैपर्दछ।

माओवादी र जनमुक्ति सेना: माओवादी पार्टी, क्रान्ति र जनमुक्ति सेना एकापसमा अभिभाज्य छन्। माओवादीले जनताको मुक्तिको लागि स्वाधिन नेपालको लागि क्रान्ति र जनमुक्ति सेनालाई अनिवार्य पक्ष ठान्दछ । हामीसँग सुदृढ र शक्तिशाली जनमुक्ति सेना नहुँदासम्म क्रान्तिको सफलता र जनताको मुक्ति कल्पना नगरेपनि हुन्छ। क्रान्ति, जनमुक्ति सेना र जनताको मुक्ति यति सम्बन्धित छन् कि कुनै एकलाई यो सिक्रीबाट हटाईयो भने सबै बर्बाद हुनपुग्दछ।

हामी कम्युनिष्ट र पुँजीवादी सामन्तवादीमा सबैभन्दा ठूलो अन्तर छ कि हामी सत्यतथ्यलाई सिधा राखिदिन्छौं, जनतालाई ढाँट्दैनौं तर पुँजीवादी र सामन्तवादीहरुले जनतालाई ढाँट्दछन् र आफैले गरिरहेका कामलाई पनि लुकाउँदछन्।

उनीहरु जनताले सेना राख्न हुँदैन भन्दछन् हामी बनाउनुपर्छ भन्दछौं, उनीहरु मुक्तिसेना जसरी पनि विघटन गर्ने कसरत गर्दछन् हामीले जसरी पनि जनताको पूर्ण मुक्ति नहुँदासम्म जनमुक्ति सेना चाहिन्छ भन्छौं।

उनीहरु जनमुक्ति सेना रहेसम्म शान्ति हुँदैन भन्दछन् हामी जनमुक्ति सेना छोडियो भने शान्ति हुँदैन भन्दछौं। उनीहरु जनमुक्ति सेनालाई घटाउनुपर्दछ भन्दछन् हामी जनमुक्ति सेनालाई राष्ट्रिय सेनाको सुविधा दिनुपर्दछ भन्दछौं। आदि आदि। यसर्थमा माओवादीको सैन्य धारणा सही छ। साम्राज्यवादी सैन्य धारणा गलत छ।

अन्तमा हाम्रो जनमुक्ति सेना भएसम्म बहस छ, आँखा लागेका छ, विरोध र समर्थन छ, घटाउने र संरक्षण गर्ने मत छ, किन ? किनकी क्रान्तिको डिलमा उभिएर नजिकै आउँदै गरेको विजयलाई हामीले चियाईरहेका छौं।

त्यो विजयलाई हात पार्न जनमुक्ति सेना अपरिहार्य छ। क्रान्ति र सेना, सत्ता र सेना, शान्ति र सेना, नेतृत्व र सेना, माओवादी र जनमुक्ति सेनाको अभिभाज्य सम्बन्धले जनताका बैरीलाई आतंकित पारेको छ भने श्रमिक जनसमुदायलाई विस्वस्त बनाएको छ।

निश्चितै रुपले जनमुक्ति सेना हुँदा क्रान्ति छ, सत्ता हुन्छ, शान्ति हुनेछ र मुक्ति मिल्नेछ। जनमुक्ति सेना भएन भने केही पनि हुने छैन। त्यसैले जनमुक्ति सेनाको बहस भईरहेको छ, यो रहेसम्म भईरहनेछ।

विचारक माओको भनाई दोहार्याउदै  “जनसेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन। जनमुक्ति सेना विघटन हुँदै गर्दा महासचिव विप्लवको प्रकाशित पूरानो लेख सान्दर्भिक ठानी पुन प्रकाशित गरिएको छ।

प्रतिक्रिया