आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दर्जनौ चिनियाँ फाइटर विमान ताइवानको हवाई क्षेत्रमा घुसे, के होला अब ?

प्रकाशित
486
SHARES

एजेन्सी। रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता राख्ने विमान सहित १९ वटा लडाकु विमानहरू ताइवानले “एअर डिफेन्स आइडेन्टीफीकेसन जोन” भन्ने गरेको क्षेत्रमा प्रवेश गरेको बताएको छ। ताइपेईले एक वर्ष भन्दा लामो समय देखि चिनियाँ हवाई सैन्यले बारम्बार उक्त टापु नजिकै गर्दै आएको यस्ता उडान बारे गुनासो गर्दै आएको छ।

चीनले प्रजातान्त्रिक ताइवानलाई आफ्नै एक छुट्टिएको प्रान्तका रूपमा हेर्छ तर ताइवानले भने आफूलाई सार्वभौम राज्य मान्छ। ताइवानको रक्षा मन्त्रालयले आइतवार बताए अनुसार चिनियाँ उडानमा चार वटा एच-६ बम हमला गर्ने बम्बर विमानहरू पनि थिए जसले परमाणु अस्त्र प्रहार गर्नुका साथै पनडुब्बीहरूलाई आक्रमण गर्न सक्छ।

मन्त्रालयले एउटा नक्सा सार्वजनिक गरेको छ जसमा उडानको मार्ग देखाइएको छ।चिनियाँ विमानहरूलाई चेतावनी दिनका लागि क्षेप्यास्त्र प्रणाली तैनाथ गर्नुका साथै आफ्ना लडाकु विमानहरू उडाइएको मन्त्रालयले जनाएको छ।

यस विषयमा चीनले आधिकारिक प्रतिक्रिया जनाएको छैन।ताइवानले गरेका टिप्पणीमा आफ्नो विमति अभिव्यक्त गर्न बेइजिङले अक्सर यस्ता मिसनहरू सम्पन्न गर्ने गरेको छ।जुन महिनामा उसले एअर डिफेन्स आइडेन्टीफीकेसन जोनमा १८ वटा सैन्य जेट पठाएको थियो जसलाई हालसम्मकै सर्वाधिक सङ्ख्या मानिन्छ।

पछिल्लो उडानको कारण के हो भन्ने कुरा स्पष्ट छैन। गत हप्ता ताइवानको रक्षा मन्त्रालये चिनियाँ सैन्यले आफ्नो रक्षा प्रणालीलाई ”काम नलाग्ने” बनाइदिन सक्ने चेतावनी दिँदै चिनियाँ खतरा बढिरहेको बताएको थियो।

ताइवानकी राष्ट्रपति साइ इंग–वेनले चीनको एक देश दुई प्रणाली ताइवानमा नचल्ने बताएर अमेरिकासँग सम्बन्ध बढाएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान चीनबाट अलग्याउने शक्तिसँग कुनै समय पनि युद्ध हुनसक्ने भन्दै युद्धको लागि तयार रहन सेनालाई निर्देशन दिएका छन्।

ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले आक्रामक व्यवहार बढाएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ। ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ। बीबीसी र एससीएमपीको सहयोगमा

यस्तै चीनले विदेशमा अब कोइला ऊर्जा केन्द्र नबनाउने घोषणा गरेको छ । मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले विदेशमा नयाँ कोइला ऊर्जा योजना नबनाउने बताएका हुन् ।

कोइला ऊर्जा केन्द्रले कार्बन उत्सर्जनको मात्रा बढाइरहेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला चिनियाँ राष्ट्रपति सीले महत्त्पूर्ण घोषणा गरेका हुन् । यद्यपि उक्त नीतिबारे पूर्ण जानकारी भने राष्ट्रपति सीले उपलब्ध गराएका छैनन् ।

पछिल्लो समय कार्बन उत्सर्जनको मात्रा घटाउनका लागि चीनलाई कूटनीतिक दबाब दिइएको थियो । यसअघि गत वर्ष दक्षिण कोरिया र जापानले पनि कोइला ऊर्जा केन्द्र बन्द गर्ने घोषणा गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र जलवायु परिवर्तनसम्बन्धी विशेष दूत जोन केरीले पनि चीनलाई कार्बन उत्सजर्न कम गर्नका लागि आग्रह गरेका थिए । ‘ विकासशील देशहरूमा कम कार्बन उत्सर्जन र हरित ऊर्जा विकासका लागि चीनले सहयोग गर्नेछ र विदेशमा नयाँ कोइला ऊर्जा योजना बनाइनेछैन,’ सीले सम्बोधनका क्रममा भने । राष्ट्रपति सीले चीनले शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनेमा जोड दिने पनि बताए ।

अमेरिकाका पूर्वविदेशमन्त्रीसमेत रहेका केरीले चिनियाँ राष्टपतिको घोषणाको स्वागत गरेका छन् । यसले कार्बन उत्सजर्न कम गर्ने योजनामा ‘ठूलो योगदान पुर्‍याउने पनि उनको भनाइ छ ।

यही अक्टोबर ३१ देखि नोभेम्बर १२ मा स्कटल्यान्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन(कोप–२६) आयोजना हुँदैछ । कोप–२६ का प्रमुख आलोक शर्माले पनि राष्ट्रपति सीको घोषणाको प्रशंसा गरेका छन् । उनले आफू चीन भ्रमणमा जाँदा गरेका छलफलका विषय नै राष्ट्रपति सीबाट सम्बोधित भएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले सन् २०३० सम्म उल्लेख्य परिणाममा कार्बन उत्सर्जन कम गर्ने सन् २०६० सम्म कार्बन तटस्थताको उद्धेश्य हासिल गर्नेमा जोड दिए । विश्वमै सबैभन्दा बढी ‘ग्रीनहाउस ग्यास’ उत्सर्जन गर्ने चीन घरेलु ऊर्जामा भने कोइलामा बढी निर्भर रहेको छ । राष्ट्रपति सीको घोषणाको राष्ट्रसंघका महासचिव गुटेरसले समेत स्वागत गरेका छन् ।

यस्तै चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन।मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएको र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गरेका छन।

उनले भनेका छन यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन। मन्त्री वाङले अफगानिस्तानमा जारी सङ्कटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनु पर्ने समेन बताए।

चीनले अफगानिस्तानलाई ३०.८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब।ध गराउन लागेको उनले जानकारी दिए। मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई अफगानिस्तानमा जारी सङ्कटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गरे। वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ।

उताअमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन्। धनी र विकसित मुलुकहरूले गरीब मुलुकका नागरिकलाई खोपको सुनिश्चिताका लागि काम नगरेको भन्दै आलोचना भइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन्।

बुधबार भएको भर्चुअल ग्लोबल कोभिड-१९ समिटमा सम्बोधन गर्दै बाइडेनले फाइजर कम्पनीले बनाएको थप ५० करोड डोज खोप अरू मुलुकलाई दिन अमेरिकाले किन्न लागेको बताएका हुन्। थप खोप किनेसँगै अमेरिकाले संसारभरि बाँड्ने खोप १ अर्ब १० करोड डोज पुग्ने उनको भनाइ छ।

बाइडेनले खोपसँगै खोप लगाउन चाहिने पूर्वाधार र प्रशासनिक कामका लागि पनि अमेरिकाले सहयोग गर्ने बताएका छन्। त्यसका लागि ३७ करोड अमेरिकी डलर (४३ अर्ब ८७ करोड रुपैयाँ) छुट्ट्याइको बाइडेनले जानकारी दिएका छन्।

‘अमेरिकामा लगाइएको कोरोनाको एक डोज खोप साटो अरू मुलुकमा तीन डोज खोप लगाउन हामी प्रतिवद्ध छौं,’ सम्बोधनका क्रममा बाइडेनले भने। उनले अहिलेसम्म अमेरिकाले संसारका एक सय मुलुकमा १६ करोड डोज खोप अनुदानमा दिइसकेको जानकारी दिए।

‘यो महामारीलाई परास्त गर्न हामीले हरेक ठाउँमा यसलाई परास्त गर्नुपर्छ,’ बाइडेनले भने,‘यो हामी सबै मिलेर सामना गर्नुपर्ने चुनौती हो।’ बाइडेनले कोरोना महामारीविरूद्धको लडाइँमा सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, खोप उत्पादक कम्पनी, निजी क्षेत्र र नागरिक समाजले आ-आफ्नो ठाउँमा योगदान गर्नुपर्ने बताए।

अमेरिकाले बाँड्ने खोप सन् २०२२ बाट पठाउन सुरू गरिनेछ। स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले फाइजरसँग अमेरिकी सरकारले प्रतिडोज ७ डलरका दरले खोप किन्न लागेको उल्लेख गरेको छ। सन् २०२० को सुरूदेखि संसारभरि फैलिएको कोरोना महामारीका कारण अहिलेसम्म ४७ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने अमेरिकामा मात्रै ६ लाख ७८ हजारले ज्यान गुमाएका छन्।

कोरोनाभाइरसविरूद्धको खोप वितरणमा धनी र गरीब मुलुकबीच गहिरो खाडल छ। विज्ञहरूले अहिलेसम्म संसारभरि लगाइएको कोरोना झन्डै ६ अर्ब डोज खोपमध्ये ७० प्रतिशत खोप धनी मुलुकमा मात्रै लगाइएको बताएका छन्।

यता वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ।

सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ।

डब्लुएचओका अधिकारीहरूले भनेका छन्, ‘वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ। वायु प्रदुषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौंको ज्यान जोगाउन सकिन्छ।’

वायु प्रदुषण नियनत्रणका लागि ल्याइने नयाँ कानूनको उद्देश्य वायु प्रदूषणको प्रतिकूल असरबाट मानिसहरूलाई जोगाउनु हो र यसबाट सरकारहरूले कानूनी तवरमा बाध्यकारी स्तरहरूको सन्दर्भको रूपमा प्रयोग गर्नेछन्।

संयुक्त राष्ट्र संघीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश (एक्युजी) जारी गरेको थियो, जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिहरूमा उल्लेखनीय प्रभाव पारेको छ। तथापि विश्व स्वास्थ्य संगठनले १६ वर्षभित्रमा वायु प्रदूषणले पहिले भन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाणहरू देखा परेको कुरा उल्लेख गरेको छ।

संगठनले भनेको छ, ‘विशेष देश वा क्षेत्रहरूमा मात्र नभई विश्वव्यापी रूपमा प्रमुख वायु प्रदूषकहरूको सङख्या जोखिम कम गर्न गरिएका कार्यहरूको सफाइ दिन कुनै देश विशेष मात्र नभइ विश्व समुदाय नै चुकेका प्रमाण पर्याप्त पाइन्छन्।’ यो नयाँ दिशानिर्देश अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतको ग्लासगोमा आयोजित विश्वव्यापी जलवायु शिखर सम्मेलन (कोप–२६) को लागि ठीक समयमा आएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार जलवायु परिवर्तनसँगसँगै वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो वातावरणीय खतरा हो। वायु गुणस्तर सुधार गर्दा जलवायु परिवर्तन कम गर्ने प्रयासमा वृद्धि हुनेछ र वायु गुणस्तर सुधार नगर्दा यसको ठीक विपरीत प्रभाव पर्ने सङ्गठनको ठहर छ। रासस

विश्वको नयाँ दिशानिर्देशअनुसार ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइडलगायत छ वटा प्रदूषकको लागि वायु गुणस्तरको स्तर सिफारिस गरिएको छ।

अन्य दुईमा १० र २.५ माइक्रोन वा सोभन्दा सानो पदार्थ स्वस्थ जीवनका लागि खतरनाक मानिने गर्छ। किनकि यिनीहरू फोक्सोमा सहजै गहिरो तहसम्म प्रवेश गर्न सक्षम हुन्छन् तर अनुसन्धानले देखाएअनुसार पीएम २.५ रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्छ। यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अंगहरूलाई पनि असर गर्ने डब्लुएचओले बताएको छ। सन् २०१९ मा, विश्व जनसंख्याको ९० प्रतिशत भन्दा बढी मानिसहरू लामो समयसम्म पीएम २.५ को जोखिमका लागि २००५ एकक्यूजी भन्दा बढी भएको क्षेत्रमा बसोबास गर्थे। दक्षिणपूर्वी एसिया वायु प्रदुषका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, ‘वायु प्रदूषण सबै देशहरूमा स्वास्थ्यको लागि खतरा हो तर यसले निम्न तथा मध्यम आय भएका देशका मानिसहरूलाई सबैभन्दा बढी असर गर्छ। संगठनका अनुसार सन् १९९० को दशकदेखि उच्च आय भएका देशहरूमा वायु गुणस्तरमा उल्लेखनीय सुधार आएको भए तापनि विश्वव्यापी रूपमा मर्नेहरूको सङ्ख्या र सबैभन्दा धेरै स्वस्थ जीवन गुमेको बर्षलाई घोषणा गरेको पाइँदैन। देशहरूको कमजोर आर्थिक अवस्थाका कारण धेरै देशहरूमा वायु गुणस्तर सामान्यतया खस्कँदै गएको छ।’

डब्लुएचओले भनेको छ, ‘हरेक वर्ष वायु प्रदूषणले गर्दा ७० लाख अकालमै मृत्यु हुने अनुमान गरिएको छ र यसले गर्दा लाखौं मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ।’ बच्चाहरूमा फोक्सोको वृद्धि र काम गर्ने क्षमता, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण तथा दम झनै बढेको हुन सक्छ।

वयस्कहरूमा, इस्केमिक मुटु रोग, जसलाई कोरोनरी मुटुसम्बन्धी रोग पनि भनिन्छ, र मस्तिष्कघातलगायतका बाहिरी वायु प्रदूषणले गर्दा अकालमा हुने मृत्युको सबैभन्दा सामान्य कारण हो। मधुमेह र न्युरोडजेनरेटिभ अवस्था जस्ता अन्य प्रभावहरूको प्रमाण पनि देखा पर्न थालेको संगठनले उल्लेख गरेको छ।

विश्व–स्वास्थ्यसंघले बताएअनुसार वायु प्रदूषणले गर्दा हुने रोगको बोझ ‘अस्वास्थ्यकर भोजन र धूमपानजस्ता विश्वव्यापी स्वास्थ्यसम्बन्धी अन्य प्रमुख खतराहरूसित’ पनि सम्बन्धित छ।

प्रतिक्रिया