आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलमान नियुक्तिविरुद्धकाे मुद्धामा सर्वोच्चले दियो यस्तो आदेश, देशैभर तरंग

प्रकाशित
673
SHARES

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो।

शाक्यले आफूलाई कार्यकारी निर्देशकका रुपमा नै काम गर्न दिन माग गर्दै साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानन्यायाधीशले उनलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गर्दै कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरणको सञ्चालक समितिको बैठकको निर्णय र शाक्य र प्राधिकरणबीचमा भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश दिएको छ।

हितेन्द्रले आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई संविधान र कानुन विपरीत नियुक्त गरेकाले त्यससम्बन्धी सबै काम बदरको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए ।

आफूले पदबाट राजीनामा पनि नदिएको र वैधानिक रूपमा आफूलाई उक्त पदबाट मुक्त नगरेको तर घिसिङलाई नियुक्त गरिएको भन्दै शाक्य सर्वोच्च पुगेका हुन् । मन्त्रिपरिषद्को साउन २५ गतेको बैठकले घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो ।

शाक्यले आफूलाई सोही पदमा पदस्थापना गर्न र सरकार, ऊर्जा मन्त्रालयलगायतलाई सहयोग गर्न आदेश माग गरेका छन् । घिसिङलाई प्राधिकरणमा नियुक्त गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरिएको थियो । तर, उक्त पदमा आफ्नो इच्छा नभएको शाक्यले रिट निवेदनमा लेखेका छन् । उनले उक्त पदमा कानुन प्रतिकूल सरुवा गरिएको लेखेका छन् ।

प्राधिकरण बिग्रिए धेरै क्षेत्र बिग्रिन्छ : कुलमान घिसिङ

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । कुलमानले ठूलो चुनौती स्वीकारेर दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्व गर्न आएको बताएका छन् । उनकाे भनाइ जस्ताकाे त्यस्तै:

”मैले प्राधिकरणमा म मात्रै आवश्यक हुँ भनेर भनेको छैन । सायद, सरकारले ‘राइट म्यान इन राइट प्लेस’ भनेर मलाई यो जिम्मेवारी दिएको होला । हिजो जुन हिसाबले व्यवस्थापन भइरहेको थियो, सोही कारणले मलाई यहाँ जिम्मेवारी दिइएको होला । प्राधिकरण हिजो नाफामा अघि बढिरहेको थियो । प्रशासनिक र व्यवस्थापनको हिसाबले पनि राम्रो दिशामा अघि बढिरहेको थियो । तर, पछिल्लो एक वर्षमा प्राधिकरण उल्टो दिशामा जान सुरु गर्‍यो । विभिन्न हिसाबले प्राधिकरणको व्यवस्थापन बिग्रँदै गयो । सबैको चाहनाअनुसार सरकारले यो भूमिकामा उपयुक्त देखेको हुन सक्छ ।

धेरैले मलाई आयल निगम वा अन्य निकायमा लैजाने भनेको सुनें । तर, अन्यत्र मेरो विषयगत क्षेत्र होइन । मैले जुन स्थानको नेतृत्व गरिरहेको छु, त्यो ठाउँ अन्यत्र छैन । म विद्युत् उत्पादन बढाएर पेट्रोलियम आयात घटाउनुपर्छ भन्ने मान्छु । म आयल निगमका लागि फिट हुने मान्छे होइन । प्राधिकरण बिग्रियो भने यसको प्रभाव सबैतिर पर्छ । यसले आर्थिक वृद्धि, औद्योगिक वृद्धि सबै रोक्छ । त्यसैले यही जिम्मेवारी दिएको उपयुक्त लाग्छ ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवालाई राम्रो बनाउने मेरो पहिलो प्राथमिकता हो । दोस्रो, विद्युत्मा भइरहेको अवरोध हटाएर गुणस्तर सुधार गर्ने हो । तेस्रो, वर्षायाममा बढी भएको विद्युत्लाई कसरी खपत गर्ने, मागलाई कसरी व्यवस्थापन गर्ने, औद्योगिक, घरायसी र व्यावसायिक मागलाई बढाउने र व्यवस्थापन गर्ने मेरो प्राथमिकता हुन्छ । बढी भएको विद्युत् भारत र बंगलादेश निर्यात गर्ने पनि महत्त्वपूर्ण काम छ । हामीले उत्पादन गर्ने एक युनिट विद्युत् पनि खेर जानु भएन ।

दीर्घकालीन रूपमा विद्युत्मा आत्मनिर्भर बन्नका लागि स्वदेशी लगानीमा ठूल्ठूला आयोजना बनाउनुपर्छ । यसका लागि धेरै योजना अघि बढाउनुपर्नेछ । जलाशययुक्त आयोजनाहरू तत्काल सुरु गर्नुपर्छ । यसलाई प्राथमिकता दिएर अघि बढ्छौं ।

अहिले दूधकोसी, बूढीगण्डकी, पश्चिम सेतीजस्ता केही आयोजनाहरू निर्माणमा जान सक्ने अवस्थामा छन् । यीबाहेक अपर अरुण, तामाकोसी–५, चैनपुर सेती, फुकोट कर्णालीलाई अघि बढाउनुपर्नेछ । दीर्घकालीन रूपमा विद्युत् माग धान्न ठूला परियोजना सुरु गर्नुपर्ने बेला भइसकेको छ । प्रसारण लाइनका धेरै परियोजना पूरा गर्नुपर्नेछ । विद्युत् माग बढाउन वितरण लाइनको विस्तार पनि आवश्यक छ ।

वितरणलाई अटोमेसन गर्ने र स्मार्ट मिटर प्रयोग गरेर उपभोक्तालाई दिइने सेवा प्रवाहमा चुस्तता ल्याउने पनि मेरो प्राथमिकता हुनेछ । प्राधिकरणमा प्रविधिको हस्तक्षेप नगरी दीर्घकालीन रूपमा चल्न सक्दैन । कर्मचारीको कल्चर, मान्यतालाई पनि परिवर्तन गर्नुपर्छ । प्राधिकरणलाई प्रविधिमा आधारित बनाउन पनि मेरो ध्यान हुनेछ । देशभर विद्युतीकरण गर्ने कामलाई २ वर्षभित्र सम्पन्न गर्ने पनि प्राथमिकता हुनेछ । योबाहेक काठमाडौंमा तार भूमिगत गर्ने कामलाई तीव्रता दिनुपर्नेछ ।

हिजोको अवस्थामा जे काम गरेर एउटा उचाइ बनाएको छु । त्योभन्दा माथि जानका लागि मैले धेरै काम गर्नुपर्ने छ । मेरा लागि हिजो र आजको परिस्थिति पनि सहज नहुन सक्छ । हिजोको एउटा टिम थियो । आज नयाँ टिम बनाउनुपर्ने हुन्छ । पहिलाका टिममा भएका धेरै साथीहरू रिटायर हुनुभएको छ । राजनीतिक र सामाजिक वातावरण पनि चुनौतीपूर्ण हुन सक्छ । ठूला आयोजनाहरू अघि बढाउन सबैको सहयोग आवश्यक पर्छ । हिजो लोडसेडिङ अन्त्य गर्न सबैले सहयोग गर्नुपर्ने अवस्था थियो, यस्तै सहयोग पाउन मैले फेरि काम गर्नुपर्छ ।

हिजोको दिनमा बनेको मेरो विश्वसनीयताको रक्षा आगामी दिनको कामले गर्नेछ । यी सबै चुनौती स्वीकार गरेर आएको हुँ । सरकारले दिएको जिम्मेवारी पूरा गर्नेछु । सरकारले मलाई यहाँ उपयुक्त देखेर जिम्मेवारी दिएको हो ।

हिजोको दिनमा निर्णय प्रक्रियामा केही गल्ती भएर प्राधिकरण तल गएको रहेछ भने त्यसलाई सच्याउने भनेको हो । हिजोको व्यवस्थापनले गरेको राम्रो कामलाई निरन्तरता दिने र गल्ती भएको रहेछ भने सच्याउने हो ।

कहाँ–कहाँ समस्या छ भनेर हामी बुझ्दै छौं । छलफल गरिरहेका छौं । मैले भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाहलाई प्राथमिकतामा राखेको छु । समस्या पहिचान गरेर अघि बढ्छौं ।”

को हुन् कुलमान ? यस्तो छ भित्री कथा

रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ, विद्यालय पढ्दाको अनुभव यसरी स्मरण गर्छन्-

‘गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो ।’

काठमाडौंलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन्- ‘मैले काठमाडौं आएपछि नै हो, बिजुली देखेको ।’ विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौंमा आएर बिजुली देखे, तब उनले कसम खाए- मेरो बेथान गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उनले बेथानमा बिजुली बालिसकेका छन् । र, बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन् उनी ।

कुलमान घिसिङको दैनिकी पछिल्लो २ वर्ष नेपाल विद्युत प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै थियो । चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन । तर, जब उनी कार्यकारी निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ?

जहाँ लैजाउ, जता पढाऊ, सधैं प्रथम !

कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो । उनी सधैं स्कुल फस्ट हुन्थे । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । उनका दाजु बानेश्वरमा बस्थे र थान्काको व्यवसाय गर्थे । काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि प्रथम नै भए ।

तर, सेकेण्ड ब्वाई सिद्धार्थ बनस्थली गएपछि शिक्षकहरुले नै उनलाई पनि यति राम्रो पढाइ भएको केटो बोर्डिङ स्कुलतिरै जानु राम्रो भन्ने सुझाव दिए । दाजुहरुले उनलाई अमरआस बोर्डिङमा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि फस्ट नै भए ।

जुन विद्यालयमा गए पनि सधैँ फस्ट हुने जादु के थियो ?

उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो । एसएलसीमा धेरैले कुलमान बोर्डमा पर्ने आश गरेका थिए । उनका सेकेण्ड ब्वाइ महेश ढकाल भने बोर्डमा परे । तर, कुलमानको ४ नम्बर पुगेन । त्यसपछि उनले अस्कल क्यापसबाट आईएस्सी गरे ।

त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए । जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरको जागिरे भए । काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे ।

कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । अहिले प्राधिकरणको एमडी भएपछि उनी त्यसैमा काम गरिहेका छन् र सफल बन्न थालेका छन् । उनको पढाइ र काम एकसाथ मिलेको छ ।

कुलमान इञ्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गरेका छन्, जसले व्यवस्थापनको पाटोमा पनि उनलाई विज्ञता प्रदान गरेको छ । कुलमान भन्छन्-मैले त्यसबेलै पूर्वानुमान गरेको थिएँ कि सन् २००५ बाट लोडसेडिङ हुन्छ, त्यही भइरहेको छ ।’

कुलमानको अध्ययन नै यसैमा छ कि विद्युतको मागको क्षेत्रबाट भार कसरी घटाउन सकिन्छ ? र समग्र एकीकृत लोडको ‘रिसोर्स प्लानिङ’ कसरी गर्ने ? कुलमानको अध्ययनमा आपूर्तिमात्रै होइन कि मागको पाटोले पनि पावर जेनेरेसन गर्छ । त्यस्तै ‘पिक लोड’ घटाउन सकियो भने त्यो नै ‘डिमाण्ड साइड’ हो ।

टर्निङ प्वाइन्ट बन्यो चिलिमे

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए । जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो ।

कुलमानले अपेक्षा गरेभन्दा समयमै सफलतापूर्वक परियोजना सफल मात्रै पारेनन्, सेयर दिएर स्थानीयलाई लखपति पनि बनाए । चिलिमेमा आफूले निकै मेहनतका साथ काम गरेको भन्दै कुलमान भन्छन्,- चिलिमेमा नेपालको स्रोत साधन कसरी प्रयोग गर्न सकिन्छ भन्ने आँखा खोलेका छौं । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिएको थियो ।’

चिलिमेको सेयर जनताका हातबाट दलालहरुले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब ७ करोड रुपैयाँ बराबरको सेयर फिर्ता गराए । यो घटनाले गर्दा रसुवाका जनताले कुलमानलाई आँखाको नानीभित्र राखेका छन् ।

तर, दुर्भाग्य भनौं, कुलमान आयोजनाबाट हटाइए र प्राधिकरणको केन्द्रमा तानिए । केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झण्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो । अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मुडमा पुगेका थिए ।

एकातिर विद्युतको चोरी र कालोबजारी भइरहेको र अर्कातिर जनतामा लोडसेडिङको मार खेप्न बाध्य पारिएको देखेपछि उनी राजीनामा दिने मुडमा पुगे । तर, सरकारले उनलाई विश्वास गरेर जिम्मेवारी दियो र उनले झण्डै २ महिनाकै अवधिमा मुलुकमा केही गर्न सकिन्छ भन्ने सकारात्मक संकेत दिइसकेका छन् ।

प्राधिकरणको एमडी भए पनि जुनियर व्यक्ति भएको भन्दै प्राधिकरणकै केहीले कुलमानको विरोध गरेका छन् । तर, कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिएर बरिष्ठ भन्नेहरुलाई जवाफ दिएका छन् । जब कि कुलमानको स्थायी जागिर अझै १२ वर्ष बाँकी नै थियो ।

अहिले ४७ वर्ष उमेर पुगेका कुलमानले प्राधिकरणको एमडी बस्ने कुर्सीलाई ‘तातो कुर्सी’ को संज्ञा दिएका छन् । यस्तो कुर्सीमा पाको उमेरको मान्छेले काम गर्न गाह्रो हुने उनको भनाइ छ । ‘अहिले पो केही गर्न सकिन्छ, निर्णय क्षमता पनि हुन्छ, कसैले जेल नै हाल्छु भन्दा पनि डराइन्न, बिहान ७ बजेदेखि १० बजेसम्म लगातार खट्न सकिन्छ,’ कुलमान भन्छन्- ‘उमेर ढल्किएपछि त यो ‘हट सीट’मा बसेर कामै गर्न सकिँदैन । शरीरले नै साथ दिँदैन । त्यसैले सिनियर र जुनियर हैन, काम गर्न सक्नुपर्‍यो ।’

उनका अनुसार प्राधिकरणको एमडी पद ‘हट सिट’ हो । ५८ वर्षपछि कसैलाई त्यहाँ लागेर राखेर केही गर्न सक्ने वाला छैन । चाहे त्यो अहिले वाहवाही पाउने उनी आफैं किन नहुन् । उनको विश्लेषण छ, ‘जब केही गर्छु भन्ने जोस, जाँगर हुन्छ, निर्णय गर्ने क्षमता हुन्छ, त्यसलाई आइडल राखिन्छ । जब ५८ वर्ष पुग्छ, इनर्जी नै शेष भएको हुन्छ, अनि हट सिटमा राखेर हुन्छ ?’

कुलमान थप्छन्, ‘प्लेटफर्म पाएँ भने केही गर्न सकिन्छ भन्ने लागेको छ । चिलिमे एउटा प्लेटफर्म थियो । यो पनि त्यही हो ।’

‘झण्डै सचिव भइनँ…’

भारतमा पढेर आएपछि कुलमानले जागिरका लागि प्राधिकरणसहित तीन ठाउँमा नाम निकालेका थिए । मन्त्रालय र हवाई विभागमा छाडेर उनले प्राधिकरण रोजे, किनकी उनलाई लाग्यो अरु ठाउँमा पेपर वर्क मात्र हुन्छ । प्राधिकरणमा भए प्राक्टिकल नै हुन्छ ।

प्राधिकरणमा लामो समय काम गरेपछि नीतिगत तहमा जाने इच्छा पनि नजागेको होइन । केही समय एक सहसचिवका लागि लोकसेवाले खोलेको विज्ञापनमा लिखितमा नाम पनि निकाले । तर, अन्तरवार्तामा अर्कै छानिए । ‘त्यो बेला सहसचिव भएको भए म पनि सचिव भइसक्थें होला,’ उनी हाँस्दै भन्छन् ।

कुलमानले अहिले ‘पोलिसी लेभल’मा जाने सोच छाडेका छन् । भन्छन्, ‘मैले जुन प्लेटफर्म पाएको छु र मेरो जे क्षमता छ, त्यो देखाउने सही समय हो भन्ने लाग्छ ।

प्रतिक्रिया