काठमाडौ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ । मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए । समूह नेताले दिएका सुझावलाई समेत समेटेर बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको हो।
बुधबारको बैठकमा सुझावको सारांशमा संश्लेषण गर्दै अध्यक्ष नेपालले जबज सिर्जनात्मक अध्याय भएको भन्दै त्यसलाई थप सिर्जनात्मक बनाउने बताएका थिए । त्यस्तै बैठकमा अध्यक्ष नेपालले एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप र विकृत बनाएको भन्दै जबजको काम छैन भन्ने अवस्थामा पुर्याएकाले जबजका सारभूत लक्ष्यलाई पक्रँदै जाने बारे प्रस्ट पारेका थिए ।
त्यस्तै बैठकले समाजवाद नामक बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ अर्को बैठक बिहीबार बिहान ११ बजे पुन बस्नेछ । भोलिको बैठकका लागि कार्यसूची तयार रहेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ ।
साथै स्थायी समिति र पोलिटब्यूरो सदस्य समेत भोलिको बैठकले टुङ्गो लगाउने छ। चुनाव चिन्हमा प्राप्त सुझावका आधारमा निर्णय गरेर निर्वाचन आयोग जाने सो पार्टीले जनाएको छ । सो पार्टीले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ ।
नेकपा एकीकृत समाजवादीले बिहीबार महासचिव चयन गर्ने भएको छ ।काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयन गर्ने एजेन्डा प्रवेश पाएको छ ।
बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। बिहीबारको बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो पनि टुंगो लगाउने तयारी छ ।बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने, बुलेटिन प्रकाशन गर्ने र चुनाव चिह्न टुंगो लगाउने खतिवडाले बताए।
माधव नेपालको राजनीतिक प्रस्ताव : चुनावसम्म गठबन्धन (पूर्णपाठ)
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा मंगलबारदेखि शुरु भएको छ। बैठकमा १२ पृष्ठको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले अहिलेको वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनाबसम्म लानुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ,‘ अहिलेको हाम्रो एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हाल कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तिमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म टिकाउनु र सहमति एवं सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम जनतालाई सेवा प्रदान गर्नु हो ।’
एमाले अध्यक्ष केपी ओलीको गफाडी प्रवृत्तिका कारण मुलुकको राजनीतिक स्थिरता खल्बलिएको नेता नेपालको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,– ‘दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।’
प्रतिक्रिया