आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै

प्रकाशित
263
SHARES

काठमाडौ। सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन ।

आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ। मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो । उक्त बैठकमा माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए । सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ।

काँग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।यता गठबन्धन घटक नेकपा एकीकृतको केन्द्रीय समिति बैठक पनि जारी छ । काँग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकेर गठबन्धनको बैठक बस्न लागेको हो ।

यसैगरि , जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले रातोपाटीलाई बताए । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन ।

त्यो खारेज नगरी हामीले मन्त्री पठाउने कुरा हुँदैन,’ उनले भने। मन्त्रिपरिषद् विस्तारमा सन्दर्भमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर जसपाले भने अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने अडानका साथ आज बैठकसमेत राखेको छैन । यादवले आज जसपाको कुनै बैठक नरहेको बताए ।

यो अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्थालाई नै खारेज हुने उनको भनाइ छ । ‘यसलाई आजै खारेज गर्ने कि भोलि प्रधानमन्त्रीले भन्नुहोला । यो खारेज हुन्छ,’ यादव भन्छन् ‘अध्यादेश खारेज गर्नुपर्छ भन्ने सहमति भएको छ । आजै हुन्छ कि भोलि मैले भन्न सक्दिनँ ।’ केन्द्रीय समिति र संसदीय दल मध्य एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।

एमाले विभाजनपछि ओलीको सक्रियता बढ्यो

नेकपा एमाले विभाजनपछि सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको देश दौडाहा तीव्र बनेको छ । गत भदौ ९ गते नेकपा एमाले औपचारिक रुपमा विभाजन भएर नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भए यता अध्यक्ष ओली काठमाडौं बाहिर र भित्र एक दर्जन बढी कार्यक्रममा सहभागी बनिसकेका छन् ।

यसअघि झण्डै साढे तीन वर्ष सरकारमा रहँदा बालुवाटारबाट सिंहदरबारसमेत बिरलै पुग्ने गरेका ओली सरकारबाट बहिर्गमन र एमाले विभाजनपछि सक्रियता बढाउँदै दैनिकजसो कुनै न कुनै कार्यक्रममा सहभागी हुने गरेका छन् । कुनै दिन त ओलीले दुईतीन वटा कार्यक्रमलाई समेत सम्बोधन गर्न भ्याउने गरेका छन् ।

विगत झण्डै एक महिनाको अवधिमा ओलीले प्रदेश १ को विराटनगर र झापा हुँदै लुम्बिनीको रुपन्देही, बाँके, बर्दिया र गण्डकीको कास्की पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गरेका छन् । उपत्यका बाहिर कार्यक्रममा सहभागी नभएका बेलासमेत ओली काठमाडौं, ललितपुर र भक्तपुरका स–साना कार्यक्रमसमेत छुटाउँदैनन् । अध्यक्ष ओलीले बुधबारमात्रै बाँके र बर्दियाका दुई आमसभालाई सम्बोधन गर्न भ्याएका छन् ।

एमाले विभाजनको घाउ पुर्ने प्रयास

२०७४ सालमा भएको निर्वाचनमा मुलुकको सबैभन्दा ठुलो दल बनेको नेकपा एमाले आन्तरिक व्यवस्थापन गर्न नसक्दा माधव नेपालसहितका नेताहरुले अलग पार्टी गठन गरे । अहिले पार्टी विभाजनको असर एमालेले भोगिरहेको छ । केन्द्रदेखि प्रदेश सरकारबाट धमाधम एमाले बाहिरिनुपरेको छ । गण्डकी र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको एमाले निकट भविष्यमै बागमती र प्रदेश १ बाट पनि बाहिरिँदैछ ।

माधव नेपाल समूह पार्टीबाट बाहिरिँदा ५ प्रतिशतमात्रै क्षति भएको आन्तरिक मूल्यांकन गरेको एमालेले त्यसको परिपूर्ति गर्न संगठन विस्तार गर्दै आफ्ना गतिविधि तीव्र बनाउने लक्ष्य लिएको छ । सोही अनुसार अध्यक्ष ओली विभिन्न जिल्लामा आयोजना हुने पार्टी कार्यक्रममा दौडधुप बढाएका छन् ।

‘संगठन विस्तार र पार्टी कमिटीहरुलाई चलायमान बनाउने एमालेको योजना छ । सोही योजनाअनुसार अध्यक्ष लगायत केन्द्रीय कमिटीका सबैजसो नेताहरु संगठन विस्तारमा जुट्नुभएको हो’, एमाले केन्द्रीय कार्यालय सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले भने, ‘सोही अनुसार अध्यक्ष ओलीको सक्रियता बढेको हो ।’

सचिव तामाङले एमाले विभाजनको घाउ पुर्ने योजना हुनु स्वाभाविक भएको भन्दै त्यो असरको क्षतिपूर्ति गर्न धेरै समय नलाग्ने बताए । ‘खासमा त्यसले हामीलाई धेरै प्रभाव त परेको छैन, तर परेको भए पनि त्यसको पूर्ति गर्न धेरै समय लाग्दैन’, उनले भने ।

उनले निर्वाचनसम्म माधव नेपालको पक्षमा लागेका नेता कार्यकर्ता समेत एमालेमै फर्कने दाबी गरे । ‘पार्टीका नेता कार्यकर्तासँग अन्तरक्रिया गरौं, तलसम्म विभाजनको असर नपरोस् भन्ने पनि एउटा अभियान हो’, तामाङले रातोपाटीसँग भने, ‘हिजोको पूर्व माओवादीतर्फको ठुलो हिस्सा अहिले एमालेमै छ, त्यसो भएकाले माधव कमरेडहरु जाँदा भएको असरको क्षतिपूर्ति त त्यसैबाट पनि पूरा हुन्छ, त्यसकारण धेरै समय लाग्दैन भन्ने हाम्रो बुझाइ छ ।’

अध्यक्ष ओलीले विभिन्न जिल्ला र स्थानमा भएका कार्यक्रममा एमाले विभाजन भए पनि सबैभन्दा ठुलो दल एमाले नै रहेको र आगामी निर्वाचनमा पुनः पहिलो शक्तिका रुपमा राज्य सञ्चालनको नेतृत्व गर्ने घोषणा गर्दै आएका छन् । त्यसका लागि पनि उनी कार्यकर्ता र जनसमक्ष सत्तारुढ गठबन्धनको भण्डाफोर गर्ने र आफ्नो पार्टीको पक्षमा माहोल बनाउनका लागि देश दौडाहामा व्यस्त हुन थालेको बुझ्न कठिन छैन ।

ओलीले आफ्ना अधिकांश कार्यक्रममा माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रसहित विपक्षी गठबन्धनलाई निशाना बनाउँदै आएका छन् । उनले वर्तमान सरकारको पनि चर्को आलोचना गर्दै आएका छन् ।

महाधिवेशन लक्षित सक्रियता

नेकपा एमालेको आगामी असोज १५–१७ मा विधान महाधिवेशन हुँदैछ । त्यससँगै एमालेले पार्टी सदस्यता नवीकरणको काम पनि अघि बढाएको छ । विधान महाधिवेशनलगत्तै मंसिरमा राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ ।

‘माओवादी केन्द्र र एमालेको एकीकरणपछि पार्टी राम्रो र सुदृढ हुन्छ भन्ने हाम्रो मान्यता थियो । तर त्यो मान्यताले फेल खायो । संगठनका गतिविधि पनि सबै ठप्प भए’, केन्द्रीय सदस्य तामाङले विगतमा नेकपा एक रहन नसक्नु र एमालेसमेत विभाजन भएपछिको अवस्थालाई मूल्याङ्कन गर्दै भने, ‘त्यसबेला हामी पार्टी एकीकृत बनाएर जानुको साटो अनेक लफडामा फस्यौँ र पार्टी पनि एक रहिरहन सकेन ।’

नेकपा एमाले एक्लै हुँदा देशभर संगठन रहेको र यसअघिको निर्वाचनबाट समेत त्यो प्रमाणित भइसकेको उनले बताए । ‘यस्तो पार्टी विगतमा एकता भएपछि यसको संगठनात्मक संरचना भत्कन पुगेको थियो’, उनले भने, ‘विगतमा भत्केको एमालेको पार्टी संरचना पुनर्जीवित गर्ने प्रयासमा अध्यक्ष लगायत सवै नेता देशभर परिचालन भइरहनु भएको छ ।’

अहिलेको फरक परिस्थितिमा पार्टीलाई पुनर्जीवित गर्ने सन्दर्भमा अध्यक्ष ओलीले आफ्नो सहभागिता, सक्रियता र नेतृत्व प्रदान गरिरहेको उनको भनाइ छ । ‘उहाँको क्रियाशीलता र गतिशीलताले कार्यकर्तामा उत्साह भरिएको छ । एमालेप्रति जनताको दृष्टिकोण पनि सकारात्मक रहेको उनीहरुका कुरा सुन्दा पाइने गरेको छ,’ उनले भने, ‘देशभर पार्टीका बैठक, भेला पनि भइरहेका छन् । विधान महाधिवेशन पश्चात हामी मंसिरसम्ममा पार्टीका सबै कमिटीलाई अपडेट गरिसक्छौं ।

प्रतिक्रिया