आज : गते

ताजा शिर्षकहरु

परराष्ट्रमन्त्री खड्काले लिए शपथ, मन्त्री नियुक्तिपछि कांग्रेसमा लफडा

प्रकाशित
1.9K
SHARES

काठमाडौ। नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा डा. खड्कालाई बुधबार नै राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी थिइन् । खड्काले शपथपछि बुधबारै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन् । त्यसपछि उनी नेपाली प्रनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् ।

आफ्नो समूहबाट मन्त्री नबनाएपछि पौडेल समूह असन्तुष्ट बनेको एक नेताले जानकारी दिए । सोही विषयमा छलफल गर्न पौडेल समूहका नेताहरु महामन्त्री डा. शशांक कोइरालाको घरमा बैठकका लागि उपस्थित भएका छन् । डा. कोइरालाका स्वकीय सचिब भरत तिवारीले नेताहरु आउनेक्रम जारी रहेको बताए ।

सभापति देउवाले बुधबारै पादाधिकारी बैठकसमेत बोलाएका छन् । बुढानिलकण्ठमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ । सो बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय लिनेछ । सो विषयमा रणनीति बनाउन पनि पौडेल समूहको बैठक बस्न लागेको हो ।

यही असोज ५ गते भित्र सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका भए पनि अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन नहुँदा यही असोज ९ गते देशभर एकसाथ गर्ने भनिएको स्थानीय तहको अधिवेशन प्रभावित हुने भएको छ । सोही विषयमा निर्णय लिन सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेसमा एकथरीले वडा अधिवेशन भइसकेका जिल्लामा स्थानीय तह अधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने अर्कोथरीले सबै जिल्लाको वडा अधिवेशनपछिमात्र स्थानीय तहको अधिवेशन गर्नुपर्ने बताएका छन् । पौडेल समूहमै यो विषयमा दुईथरी धारणा भएकाले यो विषयमा एकमत बनाउन सो समूहको बैठक बस्न लागेको हो ।

नयाँ परराष्ट्रमन्त्रीको भित्री कुरा : देउवाको रोजाइमा किन परे नारायण खड्का

पाली काँग्रेसका नेता डा. नारायण खड्काले आज परराष्ट्रमन्त्रीको शपथ लिँदैछन् । र, शपथ लिएकै दिन उनी परराष्ट्र मन्त्रालयको टोली लिएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका उड्दै छन् । नेपाली काँग्रेसबाट सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल र विनोद चौधरीले परराष्ट्रमन्त्रीमा दाबी गरे पनि अन्ततः देउवाको रोजाइमा खड्का परेका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्रन्त्रीमा खड्काको नाम प्रस्ताव गरेका थिए ।प्रधानमन्त्री देउवाले काँग्रेसबाट मन्त्री छान्दा विगतमा नेपाली काँग्रेस पार्टी विभाजनमा आफूलाई साथ दिएकाहरूलाई पहिलो प्राथमिकता दिएको देखिन्छ । पार्टी विभाजनमा साथ दिएका बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले गृह र कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् । यसमा अब खड्का पनि थपिएका छन् ।

​काँग्रेसमा देउवा र खड्का एउटै कित्तामा छन् । विगतमा कोइराला परिवारसँगको लडाइमा खड्काले देउवालाई साथ दिएको देखिन्छ । तत्कालीन वरिष्ठ नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको जगमा काँग्रेस विभाजन हुँदा खड्का देउवासँगै गएका थिए ।

देउवाले काँग्रेस विभाजन गरेर काँग्रेस (प्रजातान्त्रिक) गठन गर्दा खड्काको बलियो साथ थियो । तर, पार्टी एकता भएपछि भने खड्का देउवासँग टाढिएका थिए । १२ औँ महाधिवेशनमा देउवा क्याम्प छोडेका खड्का १३ औँ महाधिवेशनपछि फेरि देउवासँग नजिकिए ।

पार्टीको राजनीतिमा पनि खड्काको उपस्थिति राम्रै छ । काँग्रेसको १२ औँ महाधिवेशनदेखि खड्का केन्द्रीय कार्यसमितिमै छन् । खड्कालाई काँग्रेसमा विकासवादी नेताका रूपमा लिइन्छ । तर, उनको रुचि भने वैदेशिक मामिला तिरै बढी देखिन्छ । खड्काले वैदेशिक मामिलाबारे दुईवटा किताब लेखेका छन् ।

खड्काले पछिल्लो समय वैदेशिक नियोगका पदाधिकारीलाई देउवासँग भेटघाट गराउने सूत्रधारका रूपमा काम गर्दै आएका थिए । सरकार निर्माणका सन्दर्भमा पनि बाह्य वातावरण मिलाउने भूमिकामा खड्का अग्रसर थिए ।

वैदेशिक मामिलामा रुचि राख्ने खड्काले पछिल्लो समय मित्रराष्ट्रहरूसँग देउवाको सम्बन्ध नवीकरण गर्न राम्रै भूमिका खेलेको काँग्रेस नेताहरू बताउँछन् । योबीचमा देउवासँग विदेशी प्रतिनिधिले गर्ने भेटघाटमा खड्का प्रायः सँगै हुन्थे । संसद् विघटनपछि राष्ट्रिय राजनीतिबारे देउवा र खड्काको धारणा पनि समान थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र नीति खलबल्याएको प्रधानमन्त्री देउवा र खड्काको साझा निष्कर्ष छ । त्यसलाई ट्रयाकमा ल्याउन परराष्ट्र मन्त्रालय काँग्रेसले नै राख्ने नीतिअनुसार नै खड्कालाई परराष्ट्रमन्त्री बनाइएको काँग्रेस नेताहरू बताउँछन् ।

को हुन् खड्का ?

विसं. २००५ साल चैत ७ गते भोजपुरमा स्वर्गीय चित्रबहादुर र धर्मकुमारी खडकाको कोखबाट जन्मेका डाक्टर खड्काले भारतको पुनेबाट अर्थशास्त्रमा विधावारधी (पीएचडी) गरेका छन् ।

खड्काले २०२३ बाट नेपाली काँग्रेसको राजनीति थालेका थिए । विद्यार्थी संगठनबाट राजनीतिमा आएका खड्का विराटनगर र काठमाडौँमा पटक–पटक पक्राउ परेका थिए । उनले लामो समय काँग्रेस संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका विश्वास पात्रका रूपमा काम गरे ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा खड्का उनको प्रमुख राजनैतिक सल्लाहकार भएका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा खड्का सहरी विकास मन्त्री भएका थिए ।

२०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछि पछाडि फर्किनु परेको छैन । ०६४ सालको संविधानसभामा उदयपुरको क्षेत्र न १ बाट खड्का विजयी भएका थिए । त्यसबेला उनले माओवादी केन्द्रका राजन किराँतीलाई पराजित गरी संसदीय यात्रा तय गरेका थिए ।

यस्तै २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर १ नम्बर क्षेत्रबाटै खड्काले विजय हासिल गरेका थिए । ०७४ मा बाम गठबन्धन बनेपछि काँग्रेसका घाघडान नेता पराजित हुँदा पनि उदयपुर क्षेत्र नम्बर १ बाट खड्का प्रतिनिधिसभामा निर्वाचित भए । वाम गठबन्धनबाट उम्मेदवार बनेकी एमालेकी मञ्जु चौधरीलाई ५४८ मतान्तरमा खड्काले जितेका हुन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ