आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेका चर्चित नेता माओवादी केन्द्र प्रवेश, प्रचण्ड खुसीले गदगद

प्रकाशित
1.4K
SHARES

काठमाडौ। नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य एवम् पूर्व संविधानसभा सदस्य प्रल्हाद लामिछाने नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई टिका खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

माओवादीको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उनी माओवादीमा प्रवेश गरेका हुन् ।उनी माओवादीको कुन जिम्मेवारीमा रहने भन्ने टुंगो लागिसकेको छैन । माओवादीबाटै संविधानसभा सदस्य बनेका उनी पार्टी विभाजनपछि नयाँ शक्तिमा थिए ।

२०७४ मा भएको निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी निर्वाचनको एक दिन अघि एमालेमा प्रवेश गरेका थिए । हाल एमाले विभाजन भएसंगै लामिछाने पुनः माओवादीमा प्रवेश गरेका हुन् ।

लामिछाने तत्कालिन एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल निकट थिए । सिग्देलले एकीकृत समाजवादीमा हस्ताक्षर गरेसंगै लामिछाने माओवादीमा फर्किएका हुन् ।

लामिछानेको नेतृत्वमा कृष्ण कार्की, प्रेम वाइवा, सुसिल वली, सुजन थापालगायतका २ दर्जन एमाले र जसपाका कार्यकर्ता माओवादीमा प्रवेश गरेको माओवादी नेता कमानसिंह पाख्रिन पृथकले जानकारी दिए ।

यसै गरि,  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीको ११ औँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले आगामी फागुनमा पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । करिब ३ वर्ष लामो सरकारी प्रतिबन्ध बेहोरेपछि २ जना केन्द्रीय सदस्यबाहेक सबैको उपस्थितिमा पहिलोपटक सम्पन्न एघारौँ बैठकले राजनीतिक, वैचारिक र विचारधारात्मक रूपले पनि व्यापक बहस र छलफल गरेको छ ।

नेकपाको उक्त बैठकले आगामी फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा विशाल जनसभा तथा जनप्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै पार्टी निकट सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेला÷सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने बैठकको निर्णय छ ।

केन्द्रीय समितिको बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने’ राजनीतिक निर्णय गरेको छ ।

यस्तै सर्वाधिक चर्चा र विवादमा रहेको राष्ट्रघाती एमसीसीविरोधी सबै शक्तिहरूसँग सहकार्य गर्दै नेपालबाट एमसीसी खारेज नहुँदासम्म एमसीसीविरोधीसँगको सहकार्यलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आन्दोलन अघि बढाउनुका साथै भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध सङ्घर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै सरकारद्वारा पार्टीमाथि प्रतिबन्ध लगाइएपछि भत्किएका साङ्गठनिक संरचनाहरूलाई पुनर्संरचित गर्न देशव्यापी सङ्गठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा पार्टी कार्यदिशाको व्याख्या गर्दै पार्टी महासचिव विप्लवले तेस्रो अन्तर्राष्ट्रिय, नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनका सन्दर्भमा नयाँ संश्लेषण गर्नका लागि आफ्नो पार्टी लागिपरेको बताए ।

साथै उनले नेपाली जनताका सबैखाले समस्याहरूको समाधान गर्ने तरिका जनमतसङ्ग्रह भएको भन्दै उक्त विषयमा सबै शक्तिहरूसँग सहकार्य र एकाकार भएर अघि बढ्नुपर्ने पनि बताए । १० बर्से नेपाली जनयुद्धले बाँकी छोडेका अधुरा कार्यभार पूरा गर्ने जिम्मा आफ्नो पार्टीको काँधमा आएको भन्दै विप्लवले पार्टी नेताहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशा जनतामा लिएर जान विशेष निर्देशन दिएका छन् ।

बैठकले पार्टी महासचिव विप्लवले पेस गरेको राजनीतिक दस्ताबेज व्यापक छलफल र आवश्यक परिमार्जनसहित पारित गरेको छ । बैठकमा सबै केन्द्रीय सदस्यले आआफ्नो कार्यक्षेत्रको रिपोर्टिङ र धारणा राखेका थिए ।

केन्द्रीय समितिको बैठकअगाडि २ दिनसम्म चलेको सचिवालयको बैठकमा महासचिव विप्लवले बैठकका लागि प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनउपर व्यापक बहस भएको थियो ।

प्रतिक्रिया