आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वैज्ञानिक समाजवाद र जनमतसङ्ग्रह

प्रकाशित
321
SHARES

पूर्णबहादुर सिंह

१) तीतो सत्य

आज दलाल पुँजीवादी संसदीय व्यवस्था बदनाम एवम् पूर्णतः असफल भएको छ । संसदवादीहरू बदनामीलाई धोइपखाली र असफलतालाई ढाकछोप गर्ने धृष्टता गरिरहेका छन् । यो व्यवस्था र आफ्नो सङ्कटलाई देश र जनताको बनाउन खोजिरहेका छन् । व्यवस्थाको असफलता, संसदवादी पार्टीहरूको तेजोभङ्ग र व्यक्तिहरूको अक्षमता पुष्टि भइसकेको छ । आमजनताले पटकपटक व्यक्ति र पार्टीलाई निर्वाचित गरेकै हुन् । कुराजस्तो काम हुन सकेन । नारा र व्यवहारमा ठूलो खाडल देखियो ।

तसर्थ यो व्यवस्था, पार्टी र व्यक्तिलाई आज आमजनताले छिःछिः र दुरदुर गरिरहेका छन् । आजको जनचाहना, जनअपेक्षा र जनविकल्प अर्थात् जनमत भनेकै वैज्ञानिक समाजवाद हो । आफूलाई प्रजातन्त्र, लोकतन्त्र र जनवादको हिमायती ठान्ने व्यक्ति वा पार्टीहरू किन भयभीत हुने ? दलाल पुँजीवादी संसदीय व्यवस्था सङ्कटग्रस्त मात्र होइन, विघटन भइसकेको छ । वैज्ञानिक समाजवादमा मात्र हाम्रो मुलुक र आमजनताको उज्ज्वल भविष्य र सुन्दर जीवन छ । यो व्यवस्था, अमूक पार्टी र व्यक्ति जनमत र जनविकल्प होइन । वैज्ञानिक समाजवाद नै अद्वितीय विकल्प र सम्पूर्ण समाधान हो ।

२) चलेका चर्चा

पहिलो, गौरवशाली नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीचको वार्ता र तीनबुँदे सहमति हो । यसको सर्वत्र सकारात्मक र नकारात्मक चर्चा चलिरहेको छ । आमजनता, वामपन्थी, प्रगतिशील, देशभक्त, बुद्धिजीवीहरूले खुसीसाथ स्वागत गरिरहेका छन् । नकारात्मक रूपमा केहीले गोयबल्सलाई नै उछिन्ने गरी जनतालाई भ्रमित गर्ने धृष्टता गरिरहेका छन् । यस्ता भ्रम, वास्तविकता, न्यूनीकरण र अतिरञ्जनाहरूको आधिकारिक जबाफ पार्टीले दिइसकेको छ ।

दोस्रो, सहमति कार्यान्वयन हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संवद्र्धनको सच्चा हिमायती नेपाल कम्युनिस्ट पार्टी हो । लोकतन्त्रका हिमायती ठान्नेहरूले पार्टीका नीति, कार्यक्रम, जनसङ्घर्ष, गतिविधिलगायतको स्वागत एवम् धन्यवाद दिनुपर्नेमा फासिवादी दमनको रबैया अपनाएर प्रतिबन्ध लगाइयो । एकतर्फी रूपमा युद्धको घोषणा गरेर जनदमन गरियो । पार्टी झन् जनप्रिय बन्दै गयो । पार्टीले फासिवादी दमनको सापेक्षित जनप्रतिरोध गर्यो । नयाँ वातावरणमा वार्ता र सहमति भयो । त्यसको कार्यान्वयनमा उदासीनता देखिन्छ । झूट्टा मुद्दाहरू खारेजी, राजबन्दीहरूको रिहाइ र राजनीतिक संवाद प्रारम्भ गरिनुपर्ने हो तर त्यो भएको छैन । यसमा गम्भीर प्रश्न खडा भइरहेको छ । त्यसको अविलम्ब कार्यान्वयन गरिनु पर्दछ । हलो अड्काउने, गोरु पड्काउने प्रवृत्तिले समस्या समाधान होइन, झन् जटिल बनाउँछ ।

तेस्रो, वैज्ञानिक समाजवाद र जनमतसङ्ग्रह हो । वैज्ञानिक समाजवाद-साम्यवाद नेपाल कम्युनिस्ट पार्टीको मूल लक्ष्य हो । अहिले पार्टीले अघि सारेको जनमतसङ्ग्रह क्रान्तिकारी, आवश्यक र वस्तुवादी राजनीतिक कार्यनीति हो । यसको आमजनता, वामपन्थी, प्रगतिशील, देशभक्त, बुद्धिजीवीहरूले खुसीसाथ स्वागत गरिरहेका छन् । केही मानिसले गलत तरिकाले विरोध पनि गरिरहेका छन् । पार्टी आफ्नो सिद्धान्त, व्यवहार, रणनीति, कार्यनीति, उद्देश्य र कार्यविधिमा स्पष्ट एवम् दृढ छ । दलाल पुँजीवादी संसदीय व्यवस्था, प्रणाली र सरकारसँग यसको कुनै साइनो छैन । यो सरकारमा जाने र मन्त्री खाने हल्ला एवम् भ्रम त सिजोफेनिया हुन सक्छ । यो सरकार आफैँ विघटित छ ।

सवाल प्रगतिशील संयुक्त सरकारको गठन हो । केही स्वनामधन्य मार्क्सवादी पण्डितहरूले कहाँ जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवाद आउँछ ? एकीकृत जनक्रान्ति कहाँ हरायो ? यसप्रकारका भ्रम छर्न खोजिरहेका छन् । मार्क्स–एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा रुसमा जनविद्रोह र चीनमा जनयुद्ध भनेर कतै लेख्नुभएको थिएन । ती दुवै ठोस वस्तुको ठोस विश्लेषण र संश्लेषण थिए । ‘आजको विश्व र नेपाली परिस्थितिले कार्यदिशामा नयाँ संश्लेषणको माग गरेको छ । त्यस्तो कार्यदिशा जनविद्रोह र जनयुद्धको विकासका रूपमा एकीकृत जनक्रान्ति हुन पुगेको छ’ भनेर आदरणीय महासचिव कमरेड विप्लवले (विप्लव सङ्कलित रचना, पृष्ठ १७६) मा स्पष्ट उल्लेख गर्नुभएको छ ।

यो मार्क्सवादको नयाँ प्रयोग एवम् विकास हो । आत्मगत रूपले रक्षात्मक विश्व-कम्युनिस्ट आन्दोलन, सामाजिक साम्राज्यवादको पतन एवम् असफल समाजवादी सत्ता, महान् नेपाली जनयुद्धले खाएको धक्का र विश्व र नेपालका नयाँ अन्तरविरोधहरू र विशेषताहरूको गहन विश्लेषण र संश्लेषणको परिणाम हो–एकीकृत जनक्रान्ति । पार्टीले अघि सारेको जनमतसङ्ग्रहको राजनीतिक कार्यनीति पनि एकीकृत जनक्रान्ति नै हो । एकीकृत जनक्रान्ति वैज्ञानिक समाजवाद-साम्यवादका खातिर हो । हाम्रो कार्यक्रम लेखमा ‘सर्वहारा वर्गको वर्गसङ्घर्ष, आर्थिक सङ्घर्ष र राजनीतिक सङ्घर्षमा विभाजित हुन्छ जुन सङ्घर्षको अन्तिम लक्ष्य–सर्वहारा वर्गद्वारा राजनीतिक सत्तामाथि कब्जा र समाजवादी समाजको निर्माण हो ।’ (लेनिन, सन् १९२५ मा लेनिन ग्रन्थसङ्ग्रहको खण्ड ३ मा पहिलोपटक प्रकाशित । खण्ड ४, पृष्ठ १८२-१८६) लेनिनले भनेझैँ नेपाली जनताका सबै सङ्घर्षको महान् लक्ष्य राज्यसत्ता, व्यवस्था र प्रणालीमा आमूल परिवर्तन हो ।

३) जनमतसङ्ग्रह

सामान्यतया जनमत वा जनमतसङ्ग्रह Plebiscite वा Referendum दुवै अङ्ग्रेजी शब्द १९ औँ शताब्दीमा ल्याटिनबाट आएका हुन् । ल्याटिन शब्दमा जनमतसङ्ग्रह उल्लेख छ जसको अर्थ ‘फेरि लिनुहोस्’ हुन्छ । यो न्यायिक प्रक्रियामा थप परामर्शका साथ फेरि निर्णय लिनु हो । Plebiscite लोकप्रिय परामर्श लिन एवम् नागरिकको राय जान्न बोलाइन्छ । यसमा मताधिकारको सहारा छैन । जनताको एक अभिमतका रूपमा बुझिन्छ । यो पनि एक प्रकारको मतदान हो, वा कानुन प्रस्तावको एक प्रकार हो । यो कुनै देशको संविधान वा सरकार परिवर्तन गर्न मत दिने एक प्रकारको जनमतसङ्ग्रह हो । Referendum भनेको एक प्रत्यक्ष र सार्वभौमिक मत हो । जसमा सम्पूर्ण मतदातालाई विशेष प्रस्तावमा मतदान गर्न देशव्यापी वा स्थानीय रूपमा आमन्त्रित गरिन्छ । यो एक नयाँ नीति वा विशिष्ट कानुन अपनाउने परिणाम हुन सक्छ ।

जनमतसङ्ग्रह– यो वा त्यो कुन व्यवस्था मन पर्छ भनी देशको राजनीतिक व्यवस्था छान्नका लागि अथवा दुई वा दुईभन्दा बढी विकल्पमध्ये कुनै एकमा निर्णय दिनका लागि जनताले निर्वाचनमा झैँ मत दिने कार्य हो । यो एक प्रत्यक्ष मतदान हो जसमा कुनै क्षेत्रविशेषका सबै मतदातालाई मतदानको माध्यमद्वारा कुनै एक विशेष प्रस्तावलाई स्वीकार अथवा अस्वीकार गर्न आह्वान गरिन्छ । यसलाई सबै नागरिकको सहभागिता संयन्त्रजस्तै जनमत र जनमतसङ्ग्रह सहभागितावादी लोकतन्त्र वा उत्पन्न गर्न खोज्ने प्रत्यक्ष प्रजातन्त्रको प्रवद्र्धन गर्ने उद्देश्य र लोकप्रिय परामर्श पनि मानिन्छ ।

यो प्रत्यक्ष लोकतन्त्रको एक रूप हो । यसमा जनता आफ्नो इच्छाबाट नेता वा व्यवस्था, नयाँ नीति, विशेष कानुन आदिको चयन एवम् फैसला गर्न सक्छन् । प्रचलित रूपमा जनमतसङ्ग्रह अनिवार्य र ऐच्छिक दुई किसिमका छन् । अनिवार्य– संवैधानिक परिवर्तन, वित्तीय निर्णय, अन्तराष्ट्रिय सम्बन्ध र युद्ध जनमतलाई मानिन्छ । ऐच्छिक– कानुन सम्बन्धी, फिर्ता बोलाउने र स्वतन्त्र जनमतलाई ऐच्छिक भनिन्छ । बेलायत, इजिप्ट, टर्की, भेनेजुएला, सिक्किम, कास्मिर आदि देशहरूमा र हाम्रै मुलुकमा वि.सं. २०३७ को जनमतसङ्ग्रहका सकारात्मक र नकारात्मक शिक्षाहरू पनि छन् ।

नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको जनमतसङ्ग्रहको राजनीतिक कार्यनीति डा. शशाङ्क कोइरालाको हिन्दु राष्ट्र पुनस्थापित गर्न, डा.सीके राउतको मधेसलाई बेग्लै राष्ट्र बनाउन र राप्रपाको राजतन्त्र र हिन्दु राज्य स्थापनाका लागि जनमतसङ्ग्रहको विषय उठाएजस्तो होइन । हास्यास्पद एवम् प्रसहन इतिहासको पुनरावृत्ति असम्भव छ भनी हामी क्रान्तिकारीहरू दृढतापूर्वक यो उद्घोष गरिरहेका छौँ । पुरानै व्यवस्था र प्रणालीमा संसदवादीहरू सरकार विघटन, गठन र चुनावलाई केन्द्रमा राखेर लोकप्रिय नाराद्वारा भ्रम छर्दैछन् । यी सबै असफल बकबास मात्रै हुन् भन्ने आमजनतालाई राम्रोसँग हेक्का छ । अब सचेत आमजनताले यो तथ्यमा आधारित सत्य बुझिसकेका छन् ।

पुरानै व्यवस्था र प्रणालीमा एउटा पार्टीको स्थानमा अर्को पार्टी र एउटा व्यक्तिको पदमा अर्को व्यक्ति हेरफेर गर्ने होइन । दुनियाँमा पुँजीवादी संसदीय व्यवस्था बदनाम र असफल व्यवस्था र प्रणाली हो । यसमा कुनै पार्टी एवम् व्यक्ति सफल हुन असम्भव छ । दलाल पुँजीवादी संसदीय व्यवस्था र प्रणालीमा संसद्मा गएर सत्ताको बागडोर हातमा लिने, जनतालाई दमन, शोषण र उत्पीडन गर्नेभन्दा अरू केही गर्ने र हुन सक्दैन । इतिहासमा पटकपटकको चुनावमा आमजनताले मतदान गरेर पार्टी र व्यक्ति चुने तर भयो के ? दलाल पुँजीवादी संसदीय व्यवस्था चरम भ्रष्टाचार, कमिसन, महँगी, बेरोजगारी, कालोबजारी, चर्को कर, राष्ट्रघात, जनघात, जनविरोधी हर्कतमा बदनाम छ ।

त्यसले जनजीवन आक्रान्त पारेको छ । गधालाई जुनसुकै साबुनले नुहाए पनि त्यो गाईमा रूपान्तरण हुन सक्दैन भन्ने वास्तविकता पुष्टि भएको छ । ‘…तिमीले मेरो अठारौँ ब्रुमेरको अन्तिम अध्यायमा नजर लगायौ भने मैले त्यसमा लेखेको मिति देख्नेछौ– फ्रान्सेली क्रान्तिको अर्को कदमचाहिँ नोकरशाही सामरिक यन्त्र एक हातले अर्को हातमा सुम्पिदिने मात्र होइन, बरु त्यसलाई नष्ट गर्ने हुनुपर्छ’ भनी मार्क्सले १२ अप्रिल, सन् १८७१ मा कुगेलमानलाई लेखेको विषय (तेस्रो अध्याय, राज्य र क्रान्ति । सन् १८७१ मा पेरिस कम्युनको अनुभव । मार्क्सको विश्लेषण) मा लेनिनले उल्लेख गर्नुभएझैँ गिद्दले सिनो लुछ्ने र कुकुरले हड्डीमा झगडा गरेजस्तै कुर्सीमा व्यक्ति बदल्ने कार्यले समस्याको समाधान हुँदैन । यी व्यक्ति, पार्टी, व्यवस्था र प्रणाली असफल छन् । सदनमा चल्ने हाँडीगाउँको जात्रा, नौटङ्की र दलाल पुँजीवादी संसदवादबाट आमजनता आजित छन् ।

जनमतसङ्ग्रहको मर्म, महत्व, आवश्यकता, क्रान्तिकारिता र वास्तविकताका बारेमा महासचिव कमरेड विप्लवले ‘हामीले जनमतसङ्ग्रहलाई आजको अस्थिरता एवम् सङ्कटलाई निकास दिने राजनीतिक कार्यनीतिका रूपमा प्रस्तुत गरेका छौँ जो कुनै सतही, मनोगत एवम् दाउपेचका रूपमा नभएर सिद्धान्त र व्यवहार, रणनीति र कार्यनीति, उद्देश्य र कार्यविधि, जनअपेक्षा र सम्भावना, जनताका प्रवृत्तिहरू र प्रतिक्रियावादी तत्वहरूको अवस्था, क्रान्तिकारी, जनवादी एवम् देशभक्त शक्तिहरूको सोच र भूमण्डलीकृत पुँजीवादको हस्तक्षेपजस्ता वस्तुस्थितिको लेखाजोखा, विश्लेषण गरेर प्रस्तावित गरेका छौँ । तसर्थ हामी जनमतसङ्ग्रहको कार्यनीतिप्रति इमानदार र प्रतिबद्ध छौँ ।

परन्तु राज्यले हाम्रो प्रस्तावलाई कसरी लिन्छ र व्यवहार गर्छ भन्ने पक्षलाई घन्टा-घन्टामा हेर्दै अगाडि बढ्न सचेत छौँ’ र ‘जनतालाई जाँच्नुस्, परिवर्तनप्रति कति लालायित, समर्पित छन् ! जनआन्दोलन, जनयुद्ध, जनविद्रोह, एकीकृत जनक्रान्ति, मतदान, चुनाव, जताबाट पनि वैज्ञानिक समाजवाद चाहन्छन् भन्ने प्रष्ट छ ।’ (इकागज अनलाइन, २१ जेठ, २०७८ समाजशास्त्री मित्र (प्रा.मधुसूदन सुवेदी) लाई विप्लवको जबाफ) मा सारगर्वित ढङ्गले उल्लेख गर्नुभएको छ । वर्तमान सङ्कटको समाधान आमजनता, राजनीतिक पार्टीलगायत सबैले चाहेका छन् । सबैले समाजको अग्रगामी रूपान्तरण स्वीकार गरिरहेका छन् । समाज र जनताबिना राजनीति हुन सक्दैन । जनतालाई आकर्षित गर्न समाजवादको नारा सबैले दिएकै छन् । अनि किन आउँदैन जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवाद ! यो संसद् र संविधान मृत्युशैयामा छ । देशका राजनीतिक, आर्थिक, सामाजिक, राष्ट्रियतालगायत समस्याहरूमा केन्द्रित बहस, समीक्षा र समाधानका लागि नेपाल कम्युनिस्ट पार्टी तयार छ ।

सबै संसद्‌वादी पार्टीहरू पनि तयार हुनु पर्दछ । संसद्वादी पार्टीहरूले आजको सङ्कट र असफलताको समाधान सरकारको विघटन, गठन र चुनावद्वारा टालटुल गर्न खोजेर हुँदैन, नेपाली श्रमिक जनता, देशभक्त शक्ति एवम् प्रगतिशील लोकतान्त्रिक शक्तिहरूको हित र नेतृत्वको ‘प्रगतिशील संयुक्त सरकार’ हो । उनीहरूले राम्रो भनेको संविधानमा पनि समाजवाद र भाग ३२ विविधखण्डअन्तर्गत धारा २७५ मा पनि राष्ट्रिय महत्वको कुनै विषयमा जनमतसङ्ग्रहबाट निर्णय लिन सकिनेछ भनेर उल्लेख छ । कुनै पनि साम, दाम, दण्ड, भेदबिना सार्वभौम जनता र लोकतन्त्र (जनवाद) मा विश्वास गर्दै जनतालाई आफ्नो जनमत अभिव्यक्त गर्न दिने र ‘दलाल पुँजीवादी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद’ रोज्न दिनुपर्दछ । कुन रोज्ने भनेर आमजनताले स्वविवेक एवम् स्वतन्त्रापूर्वक फैसला गरून् । तसर्थ, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवाद आजको युगिन आवश्यकता एवम् धरातलीय वास्तविकता हो । यो नै आम जनमत, जनअपेक्षा र जनविल्प हो ।

४) वैज्ञानिक समाजवाद

वैज्ञानिक समाजवाद सर्वोत्कृष्ट व्यवस्था एवम् मानव सभ्यता हो । वैज्ञानिक समाजवाद हवाईकल्पना एवम् सपना होइन । त्यसलाई पेरिस कम्युन, अक्टोबर क्रान्ति, चिनियाँ क्रान्तिभन्दा पहिला पुँजीवादीहरू सुनको भर्याङ चढेर आकाश छुने कुरा हो भनेर बकबास गर्दथे । इतिहासको वैज्ञानिक समाजवाद होइन, महासचिव कमरेड विप्लवले भनेझैँ ‘नयाँ शिक्षा, संश्लेषण र विशेषतासहितको वैज्ञानिक समाजवाद आवश्यक छ ।’ वैज्ञानिक समाजवाद– साम्यवादले मात्र मानव जातिलाई न्याय, मुक्ति, समानता, शान्ति, स्वाधीनता र समृद्धि दिन सक्छ । यसले वर्ग, जाति, लिङ्ग र क्षेत्रको पर्खाल भत्काउँछ ।

वैज्ञानिक समाजवाद राजनीतिक रूपले सर्वहारा वर्गको नेतृत्व, किसान–मजदुरको मुख्य भूमिका, उत्पीडित जाति, राष्ट्र, लिङ्ग, समुदायको स्वामित्वमा सत्ता, दलाल पुँजीपति वर्गको निषेध, देशभक्त शक्तिहरूसँगको सहकार्यबाट अघि बढ्छ र वर्गविहीन, राज्यविहीन, सर्वोत्तम मानवसमाज, सभ्यता र व्यवस्थामा विकसित हुन्छ । आर्थिक रूपले सामन्ती भूस्वामित्वको अन्त्य, दलाल पुँजीको राष्ट्रियकरण, अति एकाधिकार पुँजीको प्रवेशमा रोक, दलाल एवम् सूदखोर पुँजीमाथि नियन्त्रण, आमजनतालाई गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचनासञ्चार, यातायात आदिको अधिकार सुनिश्चित हुने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकास, राष्ट्रिय एवम् औद्योगिक पुँजीको विकास, उत्पादनमूलक अर्थसम्बन्धको विकासबाट अघि बढ्नेछ । शोषणरहित, समान, सुख–समृद्धिमा विकसित हुनेछ । दलाल पुँजीवादभन्दा फरक दृष्टिकोण, चेतना, जीवनशैली, संस्कार, आचरण र व्यवहारमा अभिव्यक्त हुनेछ ।

वैज्ञानिक समाजवादमा– रोगको महामारी र भोकबाट नागरिकले ज्यान गुमाउनुपर्ने छैन । शिक्षाको नैसर्गिक अधिकारबाट कोही वञ्चित रहने छैनन् । महिलाहरू बालबच्चाको हेरचाह, भान्साको धन्दा आदिबाट मुक्त, बच्चा जन्माउँदा अकालमा ज्यान गुमाउन र विदेशका कालकोठरीहरूमा नारकीय जीवन जिउन विवश हुनु पर्ने छैन । सयौँ बालिका बलात्कारको सिकार हुने स्थितिको अन्त्य हुनेछ । निरास बेरोजगारका रूपमा हजारौँ–हजार युवकयुवतीले आत्महत्या गर्नु पर्ने छैन । बेश्यावृत्ति, चोरी डकैती, लागुऔषध दुर्वेसन गर्न बाध्य बनाउने पुँजीवादको अन्त्य हुनेछ । बेश्यावृत्ति, चोरी डकैती, लागुऔषध दुर्वेसन, मानव बेचविखन आदि वैज्ञानिक समाजवादमा कल्पना पनि गर्न सकिदैन । लाखौँ युवा विदेशमा श्रमदासका रूपमा कठिन जीवन जिउन विवश हुने, गोर्खा भर्तीकेन्द्रहरूजस्ता अर्काको देशमा भाडाका सिपाही बनेर लड्न जान छाती र तिघ्रा नपाउन यत्रतत्र लाम लाग्ने र दैनिक तीन बाकस लास स्वदेशमा आउने अवस्थाको अन्त्य हुनेछ ।

जब चुनाव नजिक आउँछ अनि लालपुर्जा वितरणको चर्चा मात्र चल्ने, सुकुमबासीहरूको छाप्रोमा डोजर एवम् आगो लाग्नेछैन र उनीहरूको गाँस, बास, कपास लगायतको ग्यारेन्टी हुनेछ । मजदुरहरू भोकै मर्नु पर्नेछैन । सुखी नेपालीको हल्लामा ६८ लाख मानिस गरिबीको रेखामुनि छन् । कोही धनी र गरिबको खाडल रहनेछैन । मानवसभ्यताको कलङ्क छुवाछूत एवम् विभेदको जाँतोमा दलित समुदायमाथि अमानवीय शोषण, उत्पीडन र दमनको व्यवहारतः अन्त्य हुनेछ । नवीन मानव समाजको निर्माण र वैज्ञानिक समाजवादी समाजको निर्माण हुनेछ । ज्येष्ठ नागरिक, अनाथ र फरक क्षमता (अपाङ्गता) भएका सबैको भरणपोषणलगायत सम्पूर्ण जिम्मा र व्यवस्थापन राज्यले मिलाउनेछ । सांस्कृतिक र धार्मिक रूपमा हुँदै आएको अन्धविश्वास र कुरीति जनचेतनाको माध्यमद्वारा अन्त्य हुनेछ ।

विज्ञानको प्रचारप्रसारका आधारमा जनतालाई प्रशिक्षित गर्दै वैज्ञानिक संस्कृतिको निर्माण हुनेछ । सामाजिक सेवाको क्षेत्र शिक्षा–स्वास्थ्यमा ठूलो व्यापार एवम् मुनाफा आर्जनको अन्त्य हुनेछ । दुई खालका स्कुल र अस्पताल हुने छैनन् । पुँजी र प्रतिभा विदेश पलायन हुनेछैन । राष्ट्रिय उद्योग–कलकारखाना खुल्नेछन् । बहुमूल्य जडीबुटीहरूको तस्करी बन्द हुनेछ । नदीनाला बेचिने छैनन्, बेचिएका सबै फिर्ता हुनेछन् । खानी–खनिजहरू विदेशी माडेहरूले दलालहरूको मिलोमतोमा दोहन गर्न पाउने छैनन् । विश्वमा सस्तो श्रम बेच्ने, सस्तो कच्चा पदार्थ निर्यात गर्ने, व्यापारघाटा आदिले देश कङ्गाल होइन, वास्तविक रूपमा समृद्ध देश र आमजनता सुखी हुनेछन् । अन्ततः वैज्ञानिक समाजवाद– साम्यवादमा विकसित हुनेछ । डेरिडाले ‘मार्क्सले कल्पना गरेको महान् दृष्टान्तको अन्त्य भयो’ भने पनि मालेमावादी विचारधारा अपराजेय छ ।

यसले आज पनि विश्व–मानव जातिलाई प्रज्वलित गरिरहेको छ । फुकुयामाले ‘विचारधारात्मक युगको अन्त्य भयो’, ‘अब प्रजातान्त्रिक संसदीय व्यवस्था नै अन्तिम व्यवस्था हो’ भन्ने ऐलान र प्रलाप गरे पनि आज त्यो वास्तविक अर्थमा प्रजातान्त्रिक संसदीय व्यवस्था नै अन्तिम व्यवस्था बन्न पुगेको छ । वैज्ञानिक समाजवाद नयाँ ढङ्गले दृष्टिक्षितिजमा आइपुगेको छ । वैज्ञानिक समाजवाद अद्वितीय विकल्पका रूपमा खडा भएको छ । हाम्रो मुलुकको जनशक्ति, प्राकृतिक स्रोत, साधन, भूगोल, पुँजी, विज्ञान, प्रविधि आदिको प्रयोगले पानीजहाज, चुच्चे रेल, हावामा बिजुली, ग्याँस पाइप आदि होइन, तीन करोड जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचना–सञ्चार, यातायात आदिको अधिकार सुनिश्चित हुने र चाँदीको पाइप भान्छामा जडान गरेर दूध खान सम्भव छ । दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य र वैज्ञानिक समाजवाद स्थापना गरौँ ।

 

प्रतिक्रिया